MENU

प्रेम-बगैंचामा प्रणय संवाद

मनोज दाहाल शनिवार, माघ २९, २०७३ 17780 पटक पढिएको

Share This

काठमाडन्डु कथा

तुवाँलोले डम्म ढाकिएको छ काठमाडौं, मेरो मनजस्तै। पैदल हिँडिनसक्नु छ सडक, धुलाम्मे। नाक हुँदै फोक्सोसम्मै पुग्छ धुलो र यसको नमीठो गन्ध। सवारीसाधनको छिचोलिनसक्नु जामले बाटो काट्न मुस्किल छ। पुराना सवारीसाधनहरू धुवाँको मुस्लो फ्याँक्दै भागिरहेछन् कतै। धुवाँ, धुलो र कोलाहलले पिरो भएको छ-मन, हृदय र आत्मा।

यस्तोमा म प्रेम खोज्न भौंतारिएको छु। सहरको एउटा आमयुवकजसरी। आफ्नो दरिद्रता देखेर आफैंलाई टिठ लाग्छ। धुलो र धुवाँले मैलो भएको सहरमा म एक थान सुग्घर प्रेम खोज्न निस्किएको छु जसले मेरो तप्त हृदयलाई शीतल पारिदेओस्। मेरो पाकेको मनमा थोरै भए पनि लेप लगाइदेओस्।
के मेरो भाग्यमा लेखिएको होला त्यस्तो एउटा प्रेम ?
०००
सहरको भित्तामा यो आश्रमको गेट एउटी युवतीले उघारेकी थिइन्। गोला आँखा र छोटा कपाल भएकी ती युवतीको गोडामा चप्पल थिएनन्। थियो त, ओठमा प्रेमपूर्ण मुस्कान। उनले कसलाई भेट्न आउनुभएको हो भनेर नसोधेको देखेर लाग्यो-म कुनै आश्रममा होइन, आफ्नै घरमा छिरिरहेछु। यो भावले मनमा अझ बढी सहज महसुस भयो।

दूबो रोपेको चौर हुँदै एउटा भव्य घरभित्र छिरेँ। अगाडिबाट हेर्दाआश्रममा योबाहेक अरू कुनै घर देखिएनन्। भव्य घर र सानदार कम्पाउन्डले आश्रम भन्न अप्ठ्यारो लागे पनि जुलियाले दिएको यही ठेगाना थियो जहाँ ऊ भुइँचालोको बेला दुई महिना बसेकी थिई। मेरो घरबाट १५ किलोमिटर टाढाको यो आश्रममा गुरुसँग भेट्न जर्मनीबाट उसैले एप्वइन्टमेन्ट मिलाइदिएकी थिई।

बसपार्कबाट पैदलै हिँडेर यहाँसम्म आइपुग्दा मेरो निधारमा पसिना टल्किएको थियो। डेढ किलोमिटर उकालो उक्लन सजिलो हुँदैन। तर, गेटबाट भित्र छिर्नेबित्तिकै मेरो थकाइ केही कम भइसकेको थियो।ठूलो बैठककोठामा छिरेपछि युवती कतै हराइन्। पेन्टिङ, तस्बिर र कविताहरू टाँगिएको कोठामा म एक्लै भएँ।

ठूलो सोफाको एक कुनामा टुसुक्क बसेपछि मैले आफ्नै ढुकढुकी महसुस गरेँ। केही बेरमा ढुकढुकी अलि मत्थर भएपछि सोफामा आफूलाई अलि सजिलो बनाएँ र चारैतिर हेर्न थालेँ।
छेउमै एउटा कविता टाँगिएको थियो—

मैलो सडक
मैला मान्छेहरू
मैलो सडकपेटीमा केही मैला पातहरू
मैलो हृदय
कस्तो मैलो सहरमा बाँचिरहेछु म

एउटी मैली युवती मेरै छेउबाट गुज्रिनबोकेर एउटा मैलो मुस्कान
मैला ओठहरूमा
सडक छेउको पसलमा बेच्न राखिएका छनकेही मैला गुलाबहरू

मैला छन् आँखा
मैलो मन

उत्तरतिर तुवाँलोले ढाकिएको छ
केही मैला हिमालहरू।
जहाँ पग्लिँदैछ मैलो हिउँ।

फोहोरका मैला टाटाहरू
छेवैमा उभिइरहेको छ एउटा मैलो युवक
मैलो कपडा
मैलो कपाल
मैलो जुत्ता
मैलो चस्मा
लिएर

हातमा एउटा मैलो गुलाब
र,
हृदयभरि घृणा, द्वेष र जलनको घाउ बोकेर
गरिरहेछ प्रेमको याचना।'

बैठककोठाको भित्तामा टाँसिएको 'भ्यालेन्टाइन्स डे' शीर्षकको यो कविता मैले दोहोर्‍याएर पढेँ। ओहो, कतै मेरै लागि त लेखिएको होइन यो कविता ?
ठूलो बनाएर टाँगिएको कविताको छेउमै गुलाफको फूल बोेकेर प्रेमको याचना गरिरहेको एउटा युवकको चित्र कोरिएको थियो।

विश्वविद्यालयमा पढ्दा मैले गरेका प्रेमका याचना सम्झेर आफैंलाई लाज लाग्यो। हो, कुनै समय म सहरभरि प्रेमको याचना गरेर हिँडेको थिएँ, घृणाले जलेका अहिलेका 'प्रेमीहरू'सरी।

अहिले पनि म प्रेम खोजिरहेछु, कहिल्यै नरित्तिने प्रेमको गहिरो सागर। कहाँ छ प्रेमको त्यो अप्रतीम स्रोत जो कहिल्यै नसुकोस् ?
यो कविता पढेपछि मेरो हतार र छट्पटी केही कम भयो। ढुकढुकी झनै शान्त भयो। म सोफामै टुसुक्क बसेँ।

गुरुलाई भेट्न चाहन्थेँ तर कता जाने ? केही मेसो थिएन। बैठककोठाबाट अगाडि निस्कने दुइटा कलात्मक ढोका थिए जहाँ आकर्षक चित्र कुँदिएको थियो। नजिकै एउटा सिँढी थियो जो घुमेर माथिल्लो तलामा पुग्थ्यो। माथिल्लो तलामा बुद्धको एक आकर्षक तस्बिर देखेँ जो मुस्काएर मेरो स्वागत गरिरहेथे।


मैलो सहरबाट आएको एउटा मैलो हृदय भएको मैलो मानिस थिएँ म। उनको सौन्दर्य र शालीनताका अगाडि लजाइरेहेको थिएँ। मेरो मनमा प्रश्न उब्ज्यो— यो भित्तामा टाँगिएको 'भ्यालेन्टाइन्स डे-कविताको युवक कतै म नै त होइन ?

निकै बेरसम्म बैठककोठामा कोही आएन। बाहिर कतै कुनै आवाज पनि सुनिएन। उज्यालो र खुला बैठककोठामा मलाई आलस्य भने थिएन। करिब एक घन्टासम्म कोही नआएपछि फेरि म उठेँ र प्रेमबारे कुँदिएका कोटेसनहरू पढ्न थालेँ। सँगै थियो— एउटी युवतीले एउटा मगन्तेलाई गुलाब दिइरहेको तस्बिर। फूल लिँदै गर्दा मगन्तेको अनुहार प्रेमको चमकले उज्यालो भएको थियो।

मैले त्यो तस्बिर हेर्दै गर्दा ढोका घर्‍याक्क खुल्यो र ओठमा स्वर्गीय मुस्कान लिएर एउटी युवती भित्र पसिन्। तिनले शरीरमा वनपिस गाउन लगाएकी थिइन्, सेतो रङको। कपाल खुलै थियो। तिनको अनुहार विश्वविद्यालयमा पढ्दा मैले प्रेमको याचना गरेकी युवतीसँग ठ्याक्कै मिल्थ्यो। झन्डै १८ वर्षअघिको त्यो अनुहार अहिले पनि आँखामा दुरुस्त छ।

मैले ज्यान फ्याल्ने ती युवती जहिल्यै रिसाएको मुद्रामा हुन्थिन्। तिनको उपस्थितिमा म प्रेमले भरिन्थेँ र उनलाई त्यो प्रेम बाँड्न चाहन्थेँ। अहिले कोठामा प्रवेश गरेकी यी युवतीको मुस्कान भने दुनियाँ पगाल्ने खालको थियो। सिंगो प्रेमको खानीजस्तो लाग्थिन् यी।

यी युवतीलाई देख्नेबित्तिकै मेरो हृदय रसायो, प्रेमको अंकुर फुटेसरी। उनीसँग केही शब्द साट्न पाए हुन्थ्यो भन्ने लागेर म सोफामा चल्मलाएँ। मैलो सहरबाट आएको एउटा मैलो हृदय भएको मैलो मानिस थिएँ म। उनको सौन्दर्य र शालीनताका अगाडि लजाइरहेको थिएँ। जुत्ता पनि मैलो थियो। मेरो मनमा प्रश्न उब्ज्यो— यो भित्तामा टाँगिएको 'भ्यालेन्टाइन्स डे' कविताको युवक कतै म नै त होइन ?

खुट्टा पछाडि लगेर जुत्ताको मैलो पाइन्टमा पुछेँ र युवतीसामु गुमेको मेरो आत्मविश्वास फर्काउने प्रयास गरेँ। बैठककोठा हुँदै युवती बाहिर निस्कन लागेकी हुन् कि भन्ने लागेर मैले खुट्टा अलिकति खुम्च्याएँ, उनलाई बाटो छोडिदिएको शीष्टता प्रदर्शन गर्दै।

म छेउ आइपुगेपछि उनले बिस्तारै झुकेर मलाई 'जय गुरुदेव'को अभिवादन गरिन् र भनिन्, 'गुरुले हजुरलाई अझै केही बेर पर्खन भन्नुभएको छ। उहाँ प्रणय संवादमा हुनुहुन्छ, त्यो कति लामो हुन्छ, म भन्न सक्दिनँ। कहिलेकाहीँ त्यो घन्टौं लामो पनि हुन्छ।'

यति भनिसकेर उनी हाँसिन्। म चाँडै गुरुलाई भेट्न अधैर्य थिएँ तर हतार र छटपटी धेरै कम भएको थियो। सहर र संसारमा बेलुकाका केही अप्वइन्टमेन्ट छुटेर जिन्दगी छुटिनहाल्लान् भन्ने भावमा पर्खन तयार थिएँ।

मैले 'हुन्छ'को भावमा टाउको हल्लाएपछि युवतीले मुस्काउँदै भनिन्, 'हजुरका लागि गुलाफजल ल्याऊँ कि जामुनको रस ? '
'मलाई केही चाहिँदैन, मात्र एकैछिन तिम्रो साथ', म वास्तवमा सोफामा आफूनजिकैको ठाउँ देखाउँदै यसो भन्न चाहन्थेँ। उनको उपस्थितिमा मेरो हृदय पग्लिरहेको म महसुस गर्न सक्थेँ। तर, त्यति भन्ने आँट मेरो थिएन।

म केही नबोलेको देखेर उनले फेरि सोधिन्, 'के लिनुहुन्छ, गुलाफजल कि जामुनको रस ? '
दुवै पेय पदार्थको मलाई कुनै आइडिया थिएन। तैपनि 'ट्राई' गर्नुपर्ला भनेर मैले गुलाफजल नै मगाएँ।

केही बेरमै युवती गुलाफी रङको ट्रेमा गुलाफजल लिएर आइन्। मैले एक चुस्की लगाएँ। हृदय झनै शीतल भयो। के मिसिएको थियो यो गुलाबजलमा ? यी युवतीको प्रेम वा यो आश्रमको सौम्यता? के हामीले घरमा पिउँदा पनि यस्तै शीतल हुन्छ गुलाबजल?

म एक घन्टामै फर्कनुपर्ला भनेर आश्रम आइपुगेको थिएँ। तर, करिब दुई घन्टा बितिसक्दा पनि गुरुसँग कुन बेला भेट्न पाइने हो भन्ने टुंगो थिएन। तर, म भित्रैदेखि आनन्दित महसुस गरिरहेको थिएँ। पृष्ठभूमिमा मधुरो स्वरमा बजेको तिब्बती मन्त्रले कुनै पवित्र र प्रेमपूर्ण ठाउँको आभास अझ गहिरो पारिरहेको थियो।
गुरुसँग भेट्न नपाए पनि मलाई मैलो सहरमा फर्कन मन लागेकै थिएन।

त्यो बैठककोठामा कम्फर्टेबल महसुस गर्न थालेको थिएँ। कोठामा उठेर एकैछिन चहलपहल गरेपछि अर्को कुनामा अर्को कविता देखेँ ः

'प्रेमको बगैंचा, प्रेमकै मालीहरू
फुलिरहेका छन् प्रेमफूलहरू
प्रेमको मन्द हावा बहिरहेछ सुस्तरी
भोकतिर्खा मेटिएको छ

केही हृदय व्यस्त छन् प्रणय संवादमा
पोखिरहेछन् हृदयको गहिरो प्रेम अस्तित्वलाई

पाइतालामुनिको प्रेमघाँसले
शरीर रोमाञ्चित भइरहेको छ
मानौं, प्रेमऊर्जा बगिरहेको होस्

कपासजस्तो हलुका भएको छ मन
नौनीजस्तो नरम भएको छ हृदय
गुलाबजस्तो फक्रिएको छ आत्मा

म कस्तो संसारमा प्रेम याचना गरिरहेथेँ ?
जलन र अभावको साम्राज्य
म कस्तो संसारमा बाँचिरहेथेँ ?
जहाँ प्रेमको कुनै अवशेषसम्म थिएन

म कसरी सास फेरिरहेथेँ प्रेमबिनै ?
कसरी चलिरहेको थियो ढुकढुकी ?

प्रेमको यो बगैंचामा टुंगिएको छ
मेरो सदियौंदेखिको प्रेमखोज।'

'प्रेम-बगैंचामा प्रणय संवाद' शीर्षकको यो कविता पढेपछि म सोफामै फर्किएँ, अझ आनन्द महसुस गर्दै।
०००
'मेरो सम्पूर्ण अभ्यास तिमीलाई प्रेममा परिणत गर्ने हो। प्रेम लिनेदिने होइन, प्रेम बन्ने हो। तिमीलाई ढाकेका आवरण तिमीबाट निकाल्नेबित्तिकै तिमी प्रेम बन्नेछौ, मात्र प्रेम।'
बल्ल म प्रणय संवादमा आइपुगेको छु, गुरुसँग। बैठककोठाबाट बाहिरिएपछि ठूलो बगैंचामा अनेकौं थरी गुलाब फुलिरहेका थिए— प्रेम-बगैंचा रहेछ यसको नाम। भुइँमा नरम झार बिछ्याइएको थियो। 'प्रेम-बगैंचा'मा गरिने सत्संगलाई गुरुले 'प्रणय संवाद' नाम दिनुभएको रहेछ। सधैं विदेश यात्रा गरिरहने गुरु कहिलेकाहीँ विशेष अवसरमा मात्र यस्तो प्रणय संवाद गर्नुहुँदो रहेछ।

म आश्रममा आइपुगेको करिब चार घन्टापछि उहाँलाई भेट्दा लगभग साँझ परिसकेको थियो। उहाँले सुरुमै भन्नुभयो, 'पर्सि म फ्रान्स जाँदैछु, करिब तीन महिनाका लागि। यस वर्ष प्रेम-बगैंचामा अन्तिम प्रणय संवाद तिमीसँग गर्दैछु। सबै गइसकेपछि अन्तिम संवादका लागि तिमीलाई पर्खाएको हुँ।'

दिगम्बरी वस्त्र लगाउनुभएका गुरु आडैको कुर्सीमा बस्नुभएको छ, नजिकै अर्को कुर्सीमा बसेर म उहाँलाई सुनिरहेछु।
'अस्तित्वको एउटै सूत्र प्रेम हो। तिमीलाई, ताराहरूलाई, रूखहरूलाई, फूलहरूलाई, सारा अस्तित्वलाई प्रेमले जोडेको छ। तिमी नै प्रेम हो। विवाह, युवती, आकर्षण प्रेम होइन; त्यो संसार हो।'

गुरुका वचनमा जादु छ। मधुरो स्वरमा बोलिरहनुभएको छ, म मुग्ध भइरहेको छु।
'अब संसारमा एउटै धर्म छ, प्रेमधर्म। एउटै जाति छ, प्रेमले बाँधेको जाति। प्रेम नै सबै प्रश्नको जवाफ हो। अस्तित्वको मुहान नै यही हो।'
यसपछि केही बेर हामी दुवै मौन भयौं।

उहाँले विस्तारै भन्नुभयो, 'म तिमीलाई प्रेममा परिणत गर्छु, यस क्षणै। अब तिमी घरपरिवार, प्रेमिका, साथीभाइका लागि मात्र होइन; सारा अस्तित्वका लागि प्रेमले भरिनेछौ।'

म रोमाञ्चित भएँ, सानैदेखिको स्वभावजसरी नै। गुरुले भन्नुभयो, 'अब रोमाञ्चित हुने होइन, प्रेमको सागरमा जिन्दगीभर आनन्दित भइरहनुपर्छ र त्यो आनन्द अस्तित्वलाई बाँड्नुपर्छ।'

गुरुको आदेशमा गुलाफजल ल्याएकी अघिकै युवतीले एक जोर सफा सेतो कुर्तासुरुवाल ल्याएर मलाई दिइन्। उनी गुरुकी प्रमुख शिष्या रहिछन्। गुरुले मलाई लुगा फेर्न भन्नुभयो। मैले बाथरुममा गएर सहरका मैला अवशेषहरू फुकालेर सफा लुगा लगाएँ।

त्यसपछि गुरुले मलाई आँखा चिम्लन आदेश दिँदै भन्नुभयो, 'अबको एक घन्टा तिमीले आँखा खोल्न पाउनेछैनौ।'

मैले आँखा चिम्लिएँ। धड्कन फेरि तीव्र हुन थालेको थियो। पृष्ठभूमिमा मधुर संगीत गुञ्जिएको सुनिरहेकै थिएँ। नाकमा सुगन्धी अत्तरको सुवास फैलियो। मलाई लाग्यो— सुस्त पदचापमा केही मेरो नजिक आइरहेका छन्।

प्रेम भनेको तिमी आफैंमा फर्कनु हो। तिमी अहिलेसम्म संसारमा बस्यौ। अब यो शरीरमा बस। शरीरलाई प्रेम गर। शरीरलाई यसरी सुम्सुम्याऊ, मानौं यो तिम्रो प्रेमिका हो।

केही बेरमै मलाई लाग्यो, 'मेरो शरीरमा कसैले गुलाफले हम्किरहेको छ।' केही बेरमै त्यो हम्काइ स्पर्शमा परिणत भयो। फूलको नरम स्पर्शले म लट्ठ पर्दै गएँ। टाउको, अनुहार हुँदै सारा शरीरमा म फूलको मादक स्पर्श महसुस गर्दै थिएँ। अद्भुत आनन्दमा चेतना गुमाउँदै गएँ। लाग्यो— म आनन्दको गहिरो सागरमा गोता लगाइरहेछु।

चेतना र आनन्दको त्यो दोसाँधमा एक घन्टा बितेपछि गुरुले मलाई आँखा खोल्न लगाउनुभयो। मैले आँखा खोलेँ। आफूलाई पातजस्तो हलुका महसुस गरिरहेको थिएँ। सँगैको टेबलमा राखिएको फलको प्लेटतर्फ देखाउँदै गुरुले भन्नुभयो, 'यो प्रसाद लेऊ।'

प्रसादसँगै प्रणय संवाद जारी थियो। गुरु भन्दै हुनुहुन्थ्यो, 'तिमी आफैंभित्र बगिरहेको प्रेमको अद्भुत खजानाभित्र पस्ने बाटो खोज। संसारमा प्रेम छैन। संसारमा माया छ, आकर्षण छ, लोभ छ, यौन छ। प्रेम छैन। प्रेम अस्तित्वको एउटै सूत्र हो। यसलाई महसुस गर्न तिमी संसारबाट बाहिर निस्कन नसक्नुपर्छ।'
मसँग बोल्न शब्द थिएनन्।

गुरुले भन्नुभयो, 'आज एक दिन तिमी संसारबाट हराएर मसँग आइपुगेका छौ। म तिमीलाई अस्तित्वको झिल्का दिन्छु।' म केही बोलिनँ।

उहाँले नै भन्नुभयो, 'प्रेमको सुरुआत गर्न तिमी पहिला तिम्रो शरीरमा फर्कनुपर्छ। अहिले तिमी घरमा भएको बेला अफिसमा हुन्छौ, अफिसमा भएको बेला घरमा हुन्छौ, बाहिर गएको बेला भित्र हुन्छौ, भित्र गएको बेला बाहिर हुन्छौ, भोक नलागेको बेला खाइरहेको हुन्छौ, आँत टाक्सिइरहेको बेला भोकै हुन्छौ। तर, यो शरीर जहाँ छ, तिमी त्यहाँ नै हुनुपर्छ। के तिमीलाई ईश्वरले तिम्रो शरीर यातना दिन दिएका हुन् ? संसार हेर्ने तिम्रो आँखा अस्तित्वले तिमीलाई यातना दिन दिएका हुन् ?

त्यो हृदय ? त्यो चेतना ? त्यो स्पर्श ?त्यो भाव ? यिनै अंगहरूले तिमी अस्तित्वलाई आफूमा समाहित गर्न सक्छौ तर तिमी भने यी भाव र अंगहरूको दुरुपयोग गरिरहेछौ।'

त्यो रात मलाई गुरुले उहाँको कोठा आडैको कोठामा राख्नुभयो। बेलुका मलाई गुरुको आदेशअनुसार प्रमुख शिष्याले एक गिलास अनारको रसमात्र दिइन्। खासै भोक थिएन।

काठमाडौंको १५ किलोमिटरमै यस्तो आनन्दको ठाउँमा आउन मलाई जर्मनीबाट जुलियाले एप्वइन्टमेन्ट मिलाइदिएकी हो भन्ने भाव मनमा आउनेबित्तिकै मैले उसलाई यहीँबाट धन्यवाद व्यक्त गरे।

त्यो रात सेतो तन्नाको ओछ्यान मलाई गुलाबको शय्याजस्तो लागेको थियो। पातलो ब्लांकेट न्यानो थियो। ओछ्यानमा पसेको केही मिनेटमै म कैयौं दिनदेखि थाकेको युवकसरी निदाएछु।

बौद्ध मन्त्रहरूको आवाजले म ब्यूँझेँ। चराहरू चिरबिर गरिरहेका थिए। शरीर अझ हलुँगो महसुस गरेको थिएँ।लाग्यो— जीवनको आधा थकाइ भागिसकेको छ। 'जब म थकाइमा बाँचिरहेको रहेछु भने कसरी प्रेमको वास्तविक अनुभूति गर्न सक्थेँ', मैले आफैंलाई भनेँ।

सावरमा करिब १५ मिनेट तातोेपानीले शरीर पखालेपछि ढोकामा मधुरो ट्याकट्याक आवाज आयो। ढोका खोल्दा मलाई प्रमुख शिष्याले मधुर मुस्कानसहित झुकेर 'जय गुरुदेव'को अभिवादन गरिन्। त्यसपछि उनले मलाई गुरुको कोठा पछाडिको अर्को कोठामा लगिन् जहाँ गुरु प्राणायाम गर्दै हुनुहुन्थ्यो। गुरुले प्राणायाम गरिरहेको ठाउँ अघिल्तिरको भित्तामा पतञ्जलीको ठूलो तस्बिर टाँगिएको थियो।

त्यहाँ गुरुसँगै करिब एक घन्टा प्राणायाम र योग गरेपछि हामी फेरि प्रेमको बगैंचामा फक्र्यौं। बगैंचाको अर्को कुनामा रूखको जराको माथिल्लो भाग ताछेर बनाइएका दुई मुढामध्ये एकमा गुरु बस्नुभयो र अर्कोमा म। टाउको र हृदय दुवै छ्यांग महसुस भइरहेको थियो।

रूखकै जरा ताछेर बनाएको टेबलमा दुई ग्लास गाँजरको रस राखिएको थियो। गाँजरको रस चुस्की लगाउँदै गुरुले भन्नुभयो, 'जीवनमा यात्रा महत्वपूर्ण छ तर हतारमा होइन, बिस्तारै। हतार गरेर तिमीलाई कहाँ पुग्नु छ ? '
मेरो शरीरमा कुनै प्रकारको जलन थिएन। आडैको गुलाबका फूलतिर हेरेर म मुस्काएँ।

गुरुले भन्नुभयो, 'अस्तित्वले तिम्रा लागि फुलाएका यी गुलाबहरू हेर, गुलाबको यो बगैंचा हेर। सारा अस्तित्व तिमीप्रति प्रेमपूर्ण छ। एक थुंगा गुलाबको फूलको आशामा जीवन नगुजार। सारा अस्तित्वरूपी गुलाब तिम्रो प्रेममा लट्ठ छ, आँखा उघारेर त्यो प्रेमलाई हेर मात्र।' ब्रेकफास्टमा फ्रुट सलाद र अलिकति मुसेली खाएपछि गुरु र म दुवैले जडीबुटीको चिया खायौं।

त्यसपछि गुरु केही बेर फ्रान्सयात्राको तयारी गर्नु छ भन्दै हराउनुभयो। म बिहानभरि बगैंचामा सुतिरहेँ। गुलाबको बगैंचा मलाई स्वर्गजस्तो महसुस भएको थियो। मेरो हृदयबाट संसारको ठूलो अंश बाहिरिँदै गएको थियो र त्यहाँ मैले प्रेम महसुस गरिरहेको थिएँ।

दिउँसो म र गुरुले गुलाबको बगैंचामै बसेर लन्च गर्‍यौं। साग र चिज हालेर बनाएको दुइटा 'स्पिनाक पाई', बिटरुटको रस र काउलीको सलाद प्रेमको बगैंचाको टेबलमै आइपुगेको थियो। ब्राउन राइस, दाल र केही टुक्रा पनिर पनि थियो।

लन्च गर्दै गुरुले भन्नुभयो, 'प्रेम भनेको तिमी आफैंमा फर्कनु हो। तिमी अहिलेसम्म संसारमा बस्यौ। अब यो शरीरमा बस। शरीरलाई प्रेम गर। शरीरलाई यसरी सुम्सुम्याऊ, मानौं यो तिम्रो प्रेमिका हो।'

म लन्चको आनन्दमा थिएँ। स्पिनाक पाई स्वादिलो थियो। अरू खाना पनि।गुरु भन्दै हुनुहुन्थ्यो, 'जब शरीर वास्तविक स्वरूपमा फर्किन्छ, तिमी अस्तित्वको प्रेम प्रसारण गर्ने एन्टेनामात्र हुनेछौ। तिमी प्रेममा रूपान्तरण हुनेछौ पूर्णतया। प्रेम बन्नेछौ, मात्र प्रेम। आजसम्म तिम्रा मनमा आउने हरेक विचारलाई तिमीले सत्य ठान्यौ, अस्तित्वको आँखाले सत्यलाई हेर्न सकेनौ। विचारले नै तिमीलाई रोगी बनायो। विचारले नै तिमीलाई संकुचित बनायो। यी सारा विचारलाई एकपटक आफूबाट हटाएर अस्तित्वको एउटा पुत्रका रूपमा आफूलाई अनुभूत गर, तिमी मात्र प्रेम हुनेछौ।'

गुरुले थप्नुभयो, 'अस्तित्वमै तिमीले चाहेका हरेक प्रश्नको जवाफ छ, तिम्रो गुरु अस्तित्व नै हो। प्रेमको यो बगैंचा मैले सम्पूर्ण अस्तित्वको प्रतीकस्वरूप बनाएको हुँ। सहर र संसारको मैलो, धुलो र कोलाहलबाट केही क्षण बाहिर निस्केर हेर्‍यौ भने सारा अस्तित्व नै तिमीलाई प्रेम-बगैंचा प्रतीत हुन्छ। त्यो बगैंचाबाट जति चाहन्छौ, त्यही प्रेम लिन सक्छौ तिमी। हरक्षण लिइरहेकै हुन्छौ।'

लन्च खाइसकेपछि गुरुले हामी दुवैका लागि जस्मिन टी मगाउनुभयो। चुस्की लगाउँदै भन्नुभयो, 'अब तिमी सहर फर्क। अब तिमी संसारमा फर्क। तर, सहर र संसारलाई हृदयमा नभर। प्रेमले भरिएको हृदयले संसारका कर्महरू पूरा गर। तिमी प्रेम बन, मात्र प्रेम। फर्क, अब फर्क, प्रेममा फर्क।'
साँझ त म अफिस नै आइपुगेको थिएँ। .

प्रतिकृया दिनुहोस

Dish latest