MENU

हाम्रो सभ्य प्रेम रहिरहने छ(भिडियाेसहित)

रामकला खड्का शुक्रवार, माघ २८, २०७३ 4489 पटक पढिएको

Share This

नेपाली चलचित्र क्षेत्रमा लोकप्रिय नायिकामा पर्छिन् सरिता लामिछाने । नेपाल चलचित्र कलाकार संघको २९ बर्षे इतिहासमा पहिलो पटक महिला महासचिव भएर उनले बनाएको किर्तिमानमात्रै होइन त्यसपछि भएका कामको पनि यस क्षेत्रमा सरिताको प्रायःले प्रशंसा गर्ने गरेका छन् ।

संघमा आवद्ध भएको करिव एक वर्षको अवधिभित्र कलाकारको हक हितमा आधारित थुप्रै गोष्ठीहरुमात्रै नभई महासंघको अवधारमा पनि उनकै कार्यकालमा अगाडि सर्‍यो । फान अवार्ड गरिसकेको संघको बार्षिक साधारण सभाको तयारीसँगै सरिताको ब्यस्थता पनि बढेको छ । त्यसो त सरिता र उनका पति ऋषि लामिछाने आफ्नै होम प्रडक्सनको तयारी पनि जुटेका छन् ।

सिनेमालाई जीवन बनाउँछु भनेर सरिताले कहिले सपना देखेकी थिइनन् । तर आजभन्दा करिव १९ वर्ष अगाडि टेलिचलचित्र ‘मुक्ति' उनको जीवनमा एक मीठो संयोग बनेर आइदियो । तुलसी घिमिरेको निर्देशनमा बनेको उक्त सिरियलमा ऋषी लामिछानेकै प्रेरणाले उनले प्रवेश गरिन् । मुक्तिकी सरिता दर्शकमाझ यसरी जमिन की यसले उनलाई आफू एक असाध्यै भाग्यमानी कलाकार रहेछु भन्नेसम्म महशुस गरायो । त्यसपछिका दिनमा उनलाई दिनहुँ जसो चलचित्रको अफर आउन थाल्यो । तर उनी कहिले संख्याको पछि लागिनन् ।

चलचित्र गर्नु अगाडि सबैभन्दा पहिले त्यसमा रहने आफ्नो भूमिका, निर्देशक, पारि श्रमीक, समूह, ब्यानरलगायतका सबै मिलाउँदा आफ्नो क्राइटेरियाभित्र परेन भने उनले त्यसमा काम गरिनन् । यसैक्रममा १८ वटा चलचित्रलाई पन्छाइसकेपछि १९औंमा आएको किशोर राणाको निर्देशनमा बनेको ‘सन्तानको माया'मा काम गर्न उनी सहमत भइन् । ‘सपना ठूलो हिरोइन हुने देखेको थिइन, मलाई असल कलाकारको पहिचानले नै पुगेको थियो' सरिताले भनिन् ,‘मेरो मनले खाएको रोल सन्तानको मायाँमा पाएँ, त्यसैले काम गरें ।' त्यसपछि श्रीमान श्रीमतीहुँदै थुप्रै चलचित्रमा काम गरिसक्दा पनि प्रायः मुख्य भूमिकामा नै जमिरहिन् ।

तर कहिलेकाहीँ आत्मसन्तुष्टिको लागि र सम्बन्ध निभाउनु पर्ने बेलामा अतिथी भूमिकामा पनि काम गरेकी छिन् । जसमध्ये ‘हवलदार सुन्तली' र भर्खरै दुई दिन अगाडि सकाएको चलचित्र ‘मंगलम्'मा पनि छोटो भूमिका भएपनि सन्तुष्टि मिलेको छ उनलाई । मुक्तिदेखि मंगलम्सम्मको यात्रा तय गर्दा उनले थुप्रै टेलिसिरियल र विज्ञापनहरुमा पनि काम गरिन् । अचानक, गहना, जानकी, दुई दिनको जिन्दगानी, सीता, भूमिका, परिचय, चाहना मनको , मनको आवाज, हराएको साइनो उनका केही शिरियल हुन् ।

उनकै होम प्रडक्सनमा निर्माण भएको मेघा सिरियल परिचयले पाँच वर्षसम्म लगातार प्रशारण भएर नेपाल टेलिभिजनको इतिहासमा मात्रै नभई अन्तराष्ट्रिय रुपमा पनि किर्तिमान कायम राखेको छ । जापानको एनएचके टेलिभिजनले त्यतिबेला दक्षिण एसियामा प्रशारण भइरहेका टेलिभिजन कार्यक्रमहरुका बारेमा एक सर्वेक्षण गर्दा त्यतिबेला परिचय दक्षिण एसियाकै उत्कृष्ट टेलिचलचित्रको रुपमा छानिएको थियो । यसैको एक वर्षपछि एनएचकेले विश्वकै उत्कृष्ट कार्यक्रम घोषणा गरी उक्त सिरियलका केही भाग सबटाइटलसहित प्रशारण समेत गरेको थियो ।

उनको अभिनय रहेको पछिल्लो टेलिचलचित्र ‘भूमिका' हो । बालबालिकामाथिको दुब्र्यवहारमा आधारित उक्त १५ भागको सिरियलले उनलाई बालमनोविज्ञान बुझ्ने अवसर दिएको थियो । आफ्नै होम प्रडक्सनमा बनेका टेलिसिरियलहरुमा मुख्य भूमिकामा प्रायः सरिता नै देखिने भए पनि हरेक पात्रको भूमिका त्यतिकै महत्वपूर्ण होस् भन्नेमा पनि आफूले ध्यान दिने गरेको उनले बताइन् । ‘हामीले कलाकारको मर्म बुझेका छौं त्यसैले सानोभन्दा सानो भूमिकालाई पनि न्याय गर्नुपर्छ भन्ने लाग्छ', उनले भनिन् ।

पति निर्देशक भएकाले सरितालाई कहिलेकाहीं सजिलो पनि हुने गरेको छ । कतिपय सम्बन्धलाई बचाइराख्नुपर्छ भन्ने निहुँमा आफूलाई चित्त नबुझेको चलचित्रमा उनी काम गर्दिनन् । आफ्ना पति पनि चलचित्र र कलाकारको मर्म बुझेका ब्यक्ति भएकाले आफूलाई दबाब नदिने र चलचित्र छान्नु अगाडि ‘तिमी आफै सुन, सन्तुष्ट छौ भने मात्रै त्यसै अनुसारको निर्णय गर' भन्ने गरेका सरिताले बताइन् । कहिलेकाहीं ऋषिले मेरै साथीहरुको चलचित्र हो भनेर भन्दा पनि भूमिका मन नपरेका कारण सरिताले काम गर्न अस्विकार गरेका उदाहरण थुप्रै छन् उनीसँग ।

यही ब्यवसायिक हिसाबले लागेका कारण आज पेशा र परिवार दुवै सन्तुलित र खुसी रहेको उनको बुझाई छ । फेब्रुअरी १४ तारिख नजिकिँदै गर्दा ऋषिसँग १९ वर्ष अगाडि विवाह बन्धनमा बाँधिएकी सरिता आफ्ना लागि आजसम्म विताएका हरेक पल भ्यालेन्टाइन डे रहेको सम्झिन्छिन् । न विवाह अगाडि न पछाडि कहिले कुनै उपहार साटासाट नभए पनि आफूहरुबीचको सभ्य प्रेम हिजो, आज र भोलि रहिरहनेमा उनी विश्वस्त छिन् ।

भिडियाेहेर्नुहाेस्

समय अनुसारको फेसनमा सरिता सचेत छिन् । तर आफूलाई सहज लाग्ने लुगा लगाउनुपर्छ र तपाईंलाइ अरुले देख्दा अरु कतिको सहज छन् भन्नेमा पनि सोच्नुपर्छ भन्ने लाग्छ सरितालाई । धेरैले उनलाई सारीमा राम्री सरिता भन्ने गर्छन् । कतिले त सारी सरिता कै लागि बनेको हो की पनि भन्ने गरेका छन् ।

फ्यान र आफन्तले दिएका उपहार हेर्दा उनीसँग ६ सयदेखि ९० हजारसम्म पर्ने सारीहरु छन् । संख्यात्मकभन्दा गुणात्मक हिसावले अगाडि बढ्नुपर्छ भन्ने उनको मान्यताकै कारण टाढाबाट नियाल्ने धेरैले सरितालाई एक घमण्डी नायिका पनि भन्ने गर्छन् । तर नजिकबाट चिन्नेले नरम, सरल, सभ्य र सोभर सरिता जस्तो कलाकार पनि हुँदा रहेछन् भनेको सुन्दा उनलाई अति खुसी लाग्छ । आफ्ना यिनै प्रशंसकहरुको मायाले गर्दा पनि आफूले गर्ने हरेक काममा सचेत हुनुपर्छ भन्ने लाग्छ सरितालाई ।

हिजोआज कलाकारको पार्टि प्रवेश गर्ने होडबाजी चलेको छ । केही मिडियाले सरिता पनि यो पार्टि र त्यो पार्टिमा लागिन् भनेर गरेको प्रचारलाई उनले झुठो ठहर्याइन् । ‘म एउटा सचेत नेपाली नागरिक हुँ । मलाई पनि राजनीति मनपर्छ । र अहिले परिप्रेक्षमा सरिता लामिछाने कुनै पार्टिमा गइन भने अचम्मको कुरा हुँदैन' उनले भनिन्,‘तर सबैभन्दा पहिले मलाई मेरै देशको झण्ठा प्यारो हुन्छ ।' पार्टि प्रवेश गर्ने कलाकारले पनि सक्छन भने कला क्षेत्रको एक मुष्ठ आवाज उठाए समग्र कलाक्षेत्रको उत्थान हुने उनको बुझाई छ ।

‘सादिगी, विचार पुर्‍याएर बोल्ने, स्वच्छ छबी भएकी कलाकार' १९ बर्षिय कलाकारिता जीवनमा कमाएको यही सम्पत्तिबाट सन्तुष्ट छिन उनी । नेपाली चलचित्रको अधिकांश अवार्डसहित नेसनल अवार्डमा पनि जुरीको भूमिका निभाइसकेकी सरिताको हिजोआज सपना विपना सबै चलचित्रनै बनेको छ । एउटा ब्यानरलाई स्थापित गराएर त्यसबाट राम्रो कलाकार निकाल्ने अनि आफूपनि एक कुशल कलाकार, निर्देशक र निर्माता बनेर जीवनभर यही क्षेत्रमा समर्पित हुने उनको लक्ष्य छ ।

प्रतिकृया दिनुहोस

Dish latest