MENU

भ्यालेन्टाइन डे मनाउनु आवश्यकता कि विकृति

अन्नपूर्ण शुक्रवार, माघ २८, २०७३ 5623 पटक पढिएको

Share This


प्रेमको बहानामा भ्यालेन्टाइन डेलाई मात्रै बुझ्नु वा मनाइनु तर्कसंगत छैन । एक हिसाबले अहिलेको पुस्तालाई त ठीकै लाग्ला । यद्यपि जायज चाहिँ होइन । हामी नेपाली हौं । आफ्नै मौलिक संस्कार र संस्कृति छन् । मान्नुपर्ने कैयौं चाडवाड छन् । धान्नुपर्ने रीतिरिवाज छन् । हामीले टेकेको माटो नेपाली हो । हाम्रो समाज र जीवन पूर्णतया पश्चिमा भइसकेको छैन । तसर्थ आफ्ना मौलिकताहरू जोगाउनुको सट्टा विदेशी उत्सव मनाउनु आवश्यकताभन्दा बढी विकृति हो । मीनराज वसन्त, साहित्यकार

यसलाई विकृति भनिहाल्न मिल्दैन । प्रणय दिवस विभिन्न रूपमा परम्परादेखि नै मनाइँदै आए तापनि समय र परिस्थितिअनुसार यो परिमार्जित हुँदै आएको देखिन्छ । यो युवायुवतीका लागि मात्रै हुनुपर्छ भन्ने होइन, जुनसुकै उमेरसमूहका व्यक्तिले पनि नेपाली संस्कृतिअनुसार व्यवस्थित तरिकाले मनाए यसको सार्थकता झल्कन्छ ।
विमलकुमार थापा, सञ्चारकर्मी

माया गर्नेहरूका लागि हरेक दिन भ्यालेन्टाइन डे हुनुपर्छ । यसलाई मनाउनु त ठीकै छ । तर विकृति नै हुने गरी नभई आफ्नो संस्कृति पनि बचाउनेतर्फ ध्यान दिनुपर्छ ।
मोनिका लोहनी, विद्यार्थी

आफ्नो प्रेमी वा प्रेमिकाप्रति हार्दिकतापूर्वक प्रेमभाव दर्शाउन कुनै दिवस प्रतीक्षा गरिरहन जरुरी छैन । जोडीबीचको सच्चा प्रेम हरपल हरक्षण स्वतस्फूर्त रूपमा अभिव्यक्त भइरहन्छ । दिवसमा मात्र बाँडिने प्रेम त सच्चा प्रेम नभएर नाटकमात्र हो । केवल नाटक मञ्चनका लागि प्रणय दिवस मनाउनुको कुनै औचित्य छैन । यो प्रेमका नाममा विकृतिलाई प्र श्रय दिने दिवस हो ।
कमल कोइराला, शिक्षक

माया भनेको मन भित्रबाट हुनुपर्छ । भ्यालेन्टाइन डे मनाएरमात्रै हुँदैन । त्यसैले भ्यालेन्टाइन डे मनाउने चलन मलाई त्यति ठीक लाग्दैन ।
फुन्जो लामा, पर्वतारोही

भ्यालेन्टाइन डे मनाए पनि नमनाए पनि जहाँ प्रेम हुन्छ त्यहाँ प्रेम प्रकट हुन्छ । यो प्राकृतिक कुरा हो । तर अहिले भ्यालेन्टाइन डेको नाममा कुरा नबुझेकाको बीचमा प्रेमको जुन बजारीकरण हुन थालेको छ त्यसले प्रेमको अर्थ साँघुरो बनाइउने सम्भावना छ ।
राजेन मानन्धर, अनुसन्धानकर्ता

दुवै हो, यसलाई सकारात्मक हिसाबले लियो भने राम्रो हो र यसैलाई नकारात्मक हिसाबले लियो भने विकृति पनि हो । सकारात्मक यस अर्थमा कि मानिसको सम्बन्ध सधैं एकनासको हुँदैन । उतारचढावको सम्बन्धलाई जोड्ने काम यसले गर्छ र यो केवल प्रेमी र प्रेमिकाकोबीच मात्र हुँदैन । तर आजको पुस्ताले यसलाई केबल केटी र केटाबीचको मायाको दिवसको रूपमा लिन्छन् । यो दिनमा कुनै न कुनै केटीलाई प्रस्ताव राख्नुपर्छ वा घुम्न जानुपर्छ भन्ने धारणा गलत हो ।
रोमा न्यौपाने, नृत्यांगना

हामीले पश्चिमी मुलुकबाट सकारात्मकभन्दा नकारात्मक बढी कुराको सिको गर्दै आएका छौं । भ्यालेन्टाइन डे पनि आज विकृतिको रूपमा फैलिँदै छ । अनावश्यक देखासिकी गरेर फूल र उपहारमा पैसा खर्च गरेर मात्रै माया हुँदैन । मायामा दुई मन मिल्नु जरुरी छ ।
रुमु न्यौपाने, कवि

माया र मित्रता मनाउने दिन भ्यालेन्टाइन डेले सम्बन्धलाई गहिरो बनाएको पाइन्छ । प्रेमी, प्रेमिका, परिवार र मित्ररूलाई फूल, कार्ड र प्रेमका सन्देशहरू दिएर माया जनाउने एउटा माध्यम बनेको हुनाले यो आजको आवश्यकता भन्न सकिन्छ । एक, दुईवटा अवगुण भए पनि विकृति नै मन लाग्दैन ।
निभा श्रेष्ठ, विद्यार्थी

मायाको मूल्य खोज्ने समयमा भ्यालेन्टाइन डेको के महत्व हैन र ? हरेक सम्बन्धलाई स्वार्थसँग तौलिनेहरूलाई प्रणय दिवस के मतलव । केबल आँखाको रमितामात्र हो ।
दिनेश खनाल, समाजसेवी

आवश्यकता विकृति दुवै होइन । यो आयातीत संस्कार हो । मानिस आधुनिक देखिन रहरभन्दा देखासिखी र करले भ्यालेन्टाइन डे मनाउँछन् ।
शिव दाहाल, सञ्चारकर्मी

आवश्यकता नै हो । तर कसैले कसैको मन दुखाउनु हुँदैन है र माया नै गर्नु छ भने प्रेमदिवस नै कुर्न पर्दैन ।
इनोज भट्ट

नेपाली संस्कृति र संस्कारमा यो पर्व मनाउने चलन छैन । तर केही निश्चित वर्गमा यसले हलचल ल्याए तापनि अधिकांश क्षेत्रमा यसको केही महत्व देखिन्न ।
सुधीर ढुंगेल, कर्मचारी, प्रज्ञा भवन

भ्यालेन्टाइन डेकै कारण फूल, कार्डलगायतको व्यापार बढ्छ । यी सामग्री उपलब्ध गर्नका लागि युवापुस्ताले जसरी भए पनि पैसा जुटाउने उपाय खोज्छन् । त्यसैले यो प्रचलन त्यति राम्रो लाग्दैन ।
इन्दिरा रानामगर, बालअधिकारकर्मी

प्रतिकृया दिनुहोस

Dish latest