MENU

 आफूलाई आफैं मन नपर्ने रोग

635x90

ओम बानियाँ बुधवार, माघ २६, २०७३ 6451 पटक पढिएको

Share This

 

 प्रायः हरेक मानिसले आफ्नो शारीरिक रूपरंगप्रति कुनै न कुनै कमजोरी भेट्नु सामान्य कुरा हो । यसले मानिसको दैनिक जीवनमा कुनै असर पार्दैन । तर कतिपय मानिसका लागि यो एक जटिल समस्या बन्दछ र यसले मनोरोगको रूप धारण गर्छ । यस्तो मनोरोगलाई आफ्नो रूपरंग मन नपर्ने विकृति (बडी डिसमोर्फिक डिसअर्डर) र छोटकरीमा बीडीडी भनिन्छ ।

मनोचिकित्साका अनुसार आफ्नो रूपरंग मन नपर्ने विकृति (बीडीडी) एक प्रकारको मानसिक रोग हो । यदि कुनै व्यक्ति आफ्नो रूपरंगका कारण चिन्तित भएर उसको दैनिक जीवन नै प्रभावित हुन्छ भने त्यसलाई आफ्नो शरीर मन नपर्ने मनोविकृति (बीडीडी) भनिन्छ । यस्तो मानसिक रोगबाट पीडित मानिसलाई विशेष गरेर आफ्नो अनुहार, नाक, ओठ, मुख, आँखा, त्वचा, दाँत, शरीरको ढाँचा, स्तन, छाती, लिंग आदि मन पर्दैन ।

यस मनोवैज्ञानिक रोगबाट पीडित व्यक्तिले आफ्नो शरीरमा खासगरी अनुहार (जस्तै नाक ठूलो, लामो, ओठ नमिलेको आदि) विकृत भएको आशंकाको कल्पनाचित्र बनाएको हुन्छ, तर यस्तो विकृति अन्य मानिसले खासै नोटिस गरेका हुँदैनन् । बीडीडीलाई पहिला डिस्मोर्फोफोबिया (कुरूपताको भय) भनिन्थ्यो । यस्ता रोगीहरूले आफ्नो समस्या समाधानार्थ पटकपटक छाला रोग विशेषज्ञ, प्लास्टिक सर्जन, दन्तरोग विशेषज्ञहरूलाई भेट्ने गर्छन् । कतिपयले त पटकपटक प्लास्टिक सर्जरी पनि गराउने गर्छन् । यस समस्याले उग्ररूप लियो भने रोगी सामाजिक फोबियाबाट पीडित हुन सक्छन् । अनि आफ्नो पेसा, नोकरी वा स्कुल नै छोडेर घरमा घुटुघुटु आँसु पिएर कैदजस्तो जीवन बाँच्न बाध्य हुन्छन् । बीडीडी तुलनात्मक रूपमा महिलामा बढी देखा पर्छ ।

 बीडीडी टेस्ट

बीडीडी मानसिक रोग हो । यस रोगको निदानका लागि मनोचिकित्सक तथा मनोवैज्ञानिकसँग सम्पर्क गर्न आवश्यक हुन्छ । तर निम्नलिखित प्रश्नहरूको आधारमा आफैं पनि बीडीडीको प्रारम्भिक जाँच गर्न सकिन्छ ।

. के तपाईंलाई आफ्नो शरीरको कुनै अंग वा अंगहरू (जस्तै नाक, कान, ओठ, अनुहार आदि) नराम्रो वा भद्दा लाग्छ ? लाग्छ÷लाग्दैन ।

. के तपाईं उक्त अंगप्रति अति चिन्तित हुनुहुन्छ ? छु/छैन ।

. के तपाईंले आफ्नो अंग अन्य मानिसको अंगस“ग तुलना गर्नुहुन्छ ? गर्छु/गर्दिनँ ।

. के तपाईंले सँधै यस अंगलाई ऐनामा हेर्नुहुन्छ ? हेर्छु/हेर्दिनँ ।

. के तपाईं यस अंगका कारण घरभित्र बस्न बाध्य हुनुभएको छ ? छ/छैन ।

. के तपाईं आफ्नो यस अंगलाई कसरी लुकाउने भन्ने प्रयत्न गर्नुहुन्छ ? गर्छु/गर्दिनँ ।

. के तपाईं यस अंगका कारण सार्वजनिक कार्यक्रम तथा सभासमारोहमा जान हिच्किचाउनुहुन्छ ? हिच्किचाउँछु/हिच्किचाउदिनँ ।

.के तपाईंलाई यो अंग राम्रो भए जीवन कति रमाइलो हुने थियो जस्तो लाग्छ ? लाग्छ/लाग्दैन ।

. के तपाईंलाई मानिसहरू हाँसे भने तपाईंको यही अंग देखेर हाँसेको जस्तो लाग्छ ? लाग्छ/लाग्दैन ।

. यस अंगले गर्दा तपाईंको दैनिक जीवन नै प्रभावित भएको छ ? छ/छैन ।

यदि माथिका प्रश्नको अधिकांश जवाफ सकारात्मक भएमा तपाईं पनि बीडीडीबाट पीडित भएको हुन सक्दछ । त्यसैले तुरुन्त मनोचिकित्सक वा मनोवैज्ञानिकसँग सम्पर्क गर्नु उचित हुन्छ । किनभने बीडीडीले थुप्रै दुष्परिणामहरू जन्माउँछ ।

मनौवैज्ञानिक रोगबाट पीडित व्यक्तिले आफ्नो शरीरमा खासगरी अनुहार(जस्तै नाक ठूलो, लामो, ओठ नमिलेको आदि) । विकृत भएको आशंकाको कल्पनाचित्र बनाएको हुन्छ । तर यस्तो विकृति अन्य मानिसले खासै नोटिन गरेका हुँदैनन् ।

यसले मानिसको प्रतिभालाई खुम्चाएर राख्नुको साथै जीवन नै जेल जस्तो बनाउन सक्छ । प्रसिद्ध मोडल सोयला हेर्सेले बीडीडीका कारण नै आत्महत्याको प्रयत्न गरेकी थिइन् । भनिन्छ, प्रसिद्ध पपगायक माइकल ज्याक्सन पनि बीडीडीबाट पीडित थिए । त्यसैले उनले पटकपटक प्लास्टिक सर्जरी गराएका थिए भन्ने कतिपय विशेषज्ञहरूको भनाइ छ । तर यस कुराको अपौचारिक रूपमा पुष्टि हुन सकेको छैन ।

 बीडीडीका दुष्परिणाम

दीर्घ बीडीडीले मानसिक तथा शारीरिक रूपमा थुप्रै दुष्परिणामहरू निम्ताउँछ । बीडीडीका कारण पैदा हुने प्रमुख दुष्परिणाममा निम्नलिखित हुन सक्दछ । १.दुश्चिन्ता तथा डिप्रेसन, २.सामाजिक फोबिया, ३, धूमपान तथा मादक पदार्थको सेवन, ४. इटिङ डिसअर्डर, ५. अब्सेसिव कम्पलसिव डिसअर्डर ओसीडी), ६. आफ्नो पेसा तथा स्कुल जान कठिनाइ, ७.पारिवारिक सम्बन्धमा कमी, ८. अनावश्यक कस्मेटिकको बढ्दो प्रयोग, ९. पटकपटक प्लास्टिक सर्जरी, १०.आत्मविश्वासमा कमी, ११. एकलकाँटे जीवन, १२. पटकपटक अस्पतालमा भर्ना, १३. आत्महत्याको विचार वा प्रयत्न, १४. अन्य मानसिक रोगहरू ।             

 बीडीडीका कारण

बीडीडीका बारेमा थुप्रै अध्ययन–अनुसन्धानहरू भए पनि यसको कारणबारे अझै पर्याप्त अध्ययन–अनुसन्धान गर्न बाँकी नै छ । साधारणतया जैवरासायनिक कारण तथा आनुवांशिक कारणले गर्दा बीडीडी देखा पर्ने भए पनि प्रमुख कारण मनोसामाजिक नै हो । किनभने सामाजिक वातावरण, जीवनको कटु अनुभव तथा संस्कृतिका कारणले गर्दा नै अधिकांश बीडीडी पैदा हुन्छन् ।

कग्निटिभ मोडलका अनुसार आफ्नो नकारात्मक आत्मछवि तथा बाल्यकालमा अरूले गरेको खिसिटिउरीको कटु अनुभव आदि बीडीडीका प्रमुख कारणहरू हुन् । बीडीडी खासगरी बाल्यकाल तथा किशोरावस्थामा पैदा हुन्छ ।

मनोसामाजिक कारण स्वयं बीडीडीको एक मात्र कारण नभएर यसले अनुवांशिक तथा जैविक कारणहरूलाई जमिन प्रदान गर्ने तथा मलजल हाल्ने गर्छ । जस्तो कि सुक्खा जमिनमा जतिसुकै पोटिलो बिउ पनि उम्रिँदैन । तर पानी परेर जमिन चिसो भयो भने बिउ टुसाउँछ । कहिलेकाहीँ बीडीडी प्रमुख डिप्रेसन, डिल्युजन डिसअर्डर, सामाजिक फोबिया तथा अन्य मानसिक रोगहरूसँग पनि देखा पर्न सक्दछ ।

बीडीडीको उपचार

बीडीडी एक मनोवैज्ञानिक रोग भएकाले मनको पुनसर्रंचना बिना बीडीडीको उपचार प्रायः सम्भव हुँदैन । त्यसैले बीडीडीको सर्वोत्तम उपचार भनेको मनोवैज्ञानिक चिकित्सा (साइकोथेरापी) नै हो । कग्निटिभ थेरापी, बिहाभिहरथेरापी तथा कग्निटिभ बिहाभियरथेरापी (सीबीटी) बीडीडीको निकै प्रभावशाली उपचार विधि हुन् । कग्निटिभथेरापीद्वारा रोगीको नकारात्मक सोच र विश्वास सकारात्मक बनाउने कार्य गरिन्छ भने बिहाभियरथेरापीद्वरा रोगीको व्यवहार ठीक पार्ने कार्य गरिन्छ ।

 

National College 220X220Pix Ad for Annapurna

प्रतिकृया दिनुहोस

Annapurna Post1140X100