MENU

 संघीयता यमपुरीको यात्रा

घनश्याम भट्ट मंगलवार, माघ २५, २०७३ 4492 पटक पढिएको

Share This

वैयक्तिक स्वतन्त्रता लोकतन्त्रको अंग हो । डरको राजनीतिले वैयक्तिक स्वतन्त्रताको हनन गर्ने भएकाले यसबाट लोकतन्त्रको विकास हुँदैन । डरको राजनीति भ्रष्टाचारसँग जोडिएको हुन्छ । डर र भ्रष्टाचारबीचको साइनोलाई चलचित्रहरूमा व्यापक रूपले देखाइन्छ, कहिलेकाहीं त्यो यथार्थसँग मेल खान जान्छ ।

रमेश सिप्पीकृत एक चलचित्रमा संवाद छ, ‘एक ही आदमी तुमको गब्बर सिंह से बचा सकत है, वो है खुद गब्बर ।' कथा, पटकथा, संवाद र निर्देशनबाहेक चलचित्र उत्कृष्ट हुनुको प्रमुख कारण यसको डरलाग्दो पात्र ‘गब्बर सिंह' अर्थात् ‘डर' । त्यसको ठीक ४० वर्षपछि अर्को एउटा सफल बलिउड चलचित्रले बद्नाम गब्बरलाई ‘नाम से भिलेन काम से हिरो' को संवादसहित सुपात्रका रूपमा चित्रण गर्‍यो । दुवै चलचित्रमा गब्बरलाई कथाको केन्द्रमा राखिए पनि पहिलोले डर र दोस्रोले भ्रष्टाचार निवारणसँग उसलाई जोडेको छ । अशिक्षित हुँदा गब्बर एक डाँकाको र शिक्षित हुँदा इमानदार नागरिकको भूमिकामा छ ।

भारतमा डरको राजनीतिको लामो इतिहास छ, इमानदार राजनीतिको छैन । डरको राजनीति गर्ने आपराधिक प्रवृत्तिका बाहुबलिहरू धेरै छन् । त्यही निराशाबाट अन्ना हजारेको जनलोकपाल आन्दोलन र कालान्तरमा अरविन्द केजरीवालको आम आदमी पार्टीको उदय भएको हो । जसको उदय डरको राजनीतिबाट भएको छ, उसको आन्दोलन सफल भए पनि कालान्तरमा ऊ कुपात्रका रूपमा चिनिन्छ ।

नेपालमा १०४ वर्षसम्मको राणाशासनको जननी कोतपर्वलाई कसैले सफल क्रान्ति भन्दैन । विमती राख्नेलाई शत्रु भनिएको छ, भ्रष्टाचारलाई छैन भारतको आम आदमी पार्टीको सफलताले नेपालमा पनि नयाँ शक्तिलाई बैकल्पिक दलको रूपमा हेरिन्छ । तर बाबुराम भट्टराई सशस्त्र आन्दोलनबाट आएका पुराना राजनीतिज्ञ हुन्, राजनीतिमा उनले बलको प्रयोग गरेका छन् । विमती राख्नेलाई सफायासम्म गर्ने कालो धब्बा छ, उनको पिठ्युँमा ।

विद्वान् भए पनि उनको चरित्र दोस्रो गब्बरसँग मेल खाँदैन । केजरीवालको राजनीतिक पृष्ठभूमि होइन, समाजमा उनी स्वच्छ छवि भएका नागरिक, पूर्व प्रशासक हुन् । कम्तीमा कसैको हत्या वा आर्थिक विसंगतिसँग उनी जोडिएका छैनन् । उनको तुलना दोस्रो गब्बरसँग गर्न मिल्छ ।

नेपाल विद्युत् प्राधिकरणका महाप्रबन्धक कुलमान घिसिङ एउटा कुशल र सक्षम व्यवस्थापक हुन् । उनले भनेका छन्- मैले सामान्य व्यवस्थापनबाहेक केही चमत्कार गरेको छैन । जलस्रोतको उपयोगमा कुनै चमत्कारपूर्ण परिवर्तन वा नयाँपन उनले ल्याएका होइनन् । उनको जयजयकार हुनुको कारण उनका पूर्ववर्ती प्रबन्धकहरूको निकम्मापन अर्थात् भ्रष्टाचार । नेताले स्वदेशमा स्वास्थ्योपचार गराए राष्ट्रिय समाचार बन्छ यहाँ । आफ्नो जिम्मेवारी बेइमानीपूर्वक गर्नुपर्ने, इमानदारीपूर्वक गरे समाचार बन्ने प्रणाली भ्रष्टाचारकै उपज हो ।

नेपाललाई यहाँसम्म ल्याइपुर्‍याउने आन्दोलनका नकारात्मक पक्षको समीक्षा गर्नु जरुरी हुन्छ । माओवादीले डरलाई आन्दोलनको प्रमुख हतियारको रूपमा लिएको थियो । उसले लोकतान्त्रिक पद्धतिलाई संस्कारको रूपमा कहिल्यै लिएन । एक समय थियो- माओवादीलाई चन्दा दिन पाए मानिसहरू राहतको सास फेर्थे । माओवादीबाट बच्न उनीहरूकै आशीर्वाद चाहिन्थ्यो, पहिलो गब्बरजस्तै । त्यो डरको राजनीतिले नेपालमा वैयक्तिक स्वतन्त्रताको व्यापक हनन गर्‍यो । माओवादीले उपयोग गरेका दल र पात्रहरू डरको राजनीतिमा गब्बरभन्दा पनि जब्बर निस्के, केवल पटकथा, संवाद र निर्देशनको अभावमा ती माओवादीजति सफल भएनन् ।

हाम्रो असफलताको अर्को कारक हो दिल्लीको आशीर्वादको लोभ र भारतकै डन्डामुनि गरिएको बाह्रबुँदे समझदारी । जननिर्वाचित प्रतिनिधिले मधेस छिर्न नसक्ने कारणको उपचार नेपालमै खोजिनुपर्छ, भारतीय दूतवासको भर परेर समस्त मधेसी जनताको उपेक्षा र अपमान गर्नु हुँदैन । सर्लाही, महोत्तरी, धनुषा, सिरहामा गएर जनतामाझमा समस्यको छिनोफानो नगरी दुईजना गब्बरलाई काठमाडौंबाटै सन्तुष्ट पार्ने कोसिस गरियो भने भोलि अरू गब्बरहरू निस्किन्छन् । बाँकी रहेका मुद्दाहरूको छिनोफानो समयमै लोकसम्मत रूपले भएन भने कथा छँदै छ, पटकथा, संवाद लेखेर निर्देशन दिने प्रयास जसले पनि गर्न सक्छ ।

विदेशीले कुनै एक समुदायको पक्षमा वकालत गरे त्यो हस्तक्षेप हुन्छ । नेपालमा संघीयताको सवालमा कुनै निर्णय भारतीय दूतावासमा भएको छ भने त्यो आक्रमण हो । यसमा भारत सफल भयो भने डा. भट्टराई र दाहाललाई इतिहासले लेन्डुप दोर्जेको ठाउँमा राख्नेछ । बिनाकुनै अध्ययन-अनुसन्धान डरको राजनीतिमार्फत क्षणिक लाभको लागि ल्याइएकाले संघीयता कच्चा वैद्यको मात्रा यमपुरीको यात्रा साबित भएको छ नेपालमा ।

के गर्ने त अब ?

इमानदारी र बेइमानीबीचको अन्तर राजनीतिमा धेरै हुँदैन । त्यसैले राजनीतिलाई फोहोरी खेल पनि भनिन्छ । भ्रष्टाचारविरोधी कडा कानुनको पालना नभएको देशमा भ्रष्टहरूलाई राजनीतिमा आकर्षण हुन्छ, त्यसैले त्यो फोहोर हुन्छ ।

शेरबहादुर देउवालाई कार्यकर्ता बनाएर आफू हर्ताकर्ता हुने क्षमताका दाहाल समकालीनहरूमा आर्थिक क्रान्तिको लागि उपयुक्त पात्र हुन् भने उनले विज्ञहरूको खोजी गर्न र तिनका आवाज सुन्न ढिलाइ गर्नु हुँदैन । हिजो क्रान्तिमा हिँड्दा उहाँका कति सहकर्मीले बद्नाम कमाए होलान्, तर ती योद्धाहरूको सामथ्र्य प्रयोग गरेर दन्केको आगो निभाउने हो भने फोहोर पानीले पनि आगो निभ्छ । गब्बर नै प्रिय पात्र हो भने ‘नाम से भिलन काम से हेरो' को भूमिका उपयुक्त होला ।

महाकाली सन्धिमा राष्ट्रघातको आरोप लागेका केपी ओली, भारतले नेपालमा संविधान जारी नगर्न गरेको कोसिस असफल हुँदा, एउटा राष्ट्रवबादी नेताको रूपमा लोकप्रिय भएका छन् । शत्रु चाहिने राजनीति गर्नेहरूलाई ट्रान्सपरेन्सी इन्टरनेसनलले एउटा दरिलो शत्रु दिएको छ, नेपालमा भ्रष्टाचारको अंक । भ्रष्टाचार केवल सरकारी कार्यालयमा सेवाग्राहीले दिनुपर्ने घूससँग सम्बन्धित छैन, यो राजनीतिमा बढी छ ।

 शेरबहादुर देउवालाई कार्यकर्ता बनाएर आफू हर्ताकर्ता हुने क्षमताका दाहाल समकालीनहरूमा आर्थिक क्रान्तिको लागि उपयुक्त पात्र हुन् भने उनले विज्ञहरूको खोजी गर्न र तिनका आवाज सुन्न ढिलाइ गर्नु हुँदैन ।

आर्थिक उन्नतिको लागि भ्रष्टाचार निवारणका उपायमा सुधार र कानुनको कडा पालना जरुरी हुन्छ । यसको अभावमा आर्थिक क्रान्ति सम्भव हुँदैन । लडाकु शिविरमा हिनामना भएको लुकाउन लोकमानलाई अख्तियार प्रमुख बनाइएको छापाहरूले लेखेका छन् । कुरा मिलिसक्यो भनेर दाहालले शंका गर्ने ठाउँ दिनु हुँदैन । यो सत्यतथ्य जति चाँडो बाहिर आयो त्यति नै उहाँको कद बढ्छ । १७ हजार मानिसको ज्यान जाने युद्धको नेतृत्व गरेका उनले पृथ्वीनारायणको अपमान गर्नु ठीक होइन ।

अन्त्यमा, पूर्वराजामाथि अनावश्यक आक्रमण गरेर अब कसैको कद बढ्दैन । उनीमाथि अनेक आरोप लगाइए तर आरोपको छिनोफानो कहिल्यै भएन । निर्वासनमा नगएर उनले आफूमाथि लागेका सबैखाले आरोपको प्रतिवाद गरेका छन् । आफूलाई राजनीति गर्नको लागि ‘दरबार हत्याकाण्ड' सधैंको लागि जिउँदो राख्नु ठीक होइन ।

राजाको छोरा वा भाइ भएको नाताले पूर्वराजामा आइपरेको जिम्मेवारीको दोष उनलाई दिन मिल्दैन । दरबार हत्याकाण्डको छानबिन भरपर्दो थिएन भने भरपर्दो आयोग बनाएर उनलाई न्याय दिन कन्जुस्याइँ गर्नु हुँदैन । किशोर नेपालजस्ता वरिष्ठ पत्रकारले हालै पूर्वराजालाई राजा भनेर लेखेका छन् । उनको तस्बिर मात्रै पनि हालै वाइरल भएको छ । त्यसैले उनलाई ससम्मान न्याय दिनेको कद त्यसै बढ्नेछ । 

संघीयता न विकासको वाहक हो, न वाधक हो । देश विकसित हुनु वा नहुनुमा र अधिकारसँग पनि संघीयताको कुनै साइनो छैन भन्ने तर्क डा. भीमार्जुन आचार्यको छ । हाम्रो अस्थिरताले हो भारतले हामीलाई नचाएको । यही कारणले भारतले नेपालमाथिको नाकाबन्दीको जिम्मा पनि महन्त ठाकुर, उपेन्द्र यादव र हृदयेश त्रिपाठीलाई लिन लगाएर उनीहरूलाई एउटा समुदायमा सीमित गरिदिएको छ । 

 डरको राजनीतिबाट आएका दाहाल, लोकमान प्रकरणमा मौन सहमति गर्ने देउवा, मधेसमा विवादित बनेका केपी ओली, नाकाबन्दीले विवादित भएका ठाकुर, यादव र त्रिपाठीहरू कुनै पनि समुदायबाट राजनीतिक भिलेनको रूपमा देखिनु देशको लागि राम्रो होइन । त्यसैमा नेपालको सिमांकनमा भारतीय चासो भएकाले संघीयता अब भारतीय मुद्दा भइसक्यो । यो पूर्णरूपले आफ्नो मुठीमा नआउन्जेल यसको त्याग गर्नुमा सबैको हित हुनेछ ।

भट्ट टेनिसी स्टेट युनिभर्सिटीका एसोसिएट प्रोफेसर हुन् ।

 

प्रतिकृया दिनुहोस

Annapurna Post1140X100