MENU

हाँस्ने कलम रुने कापी

जितेन्द्र रसिक आइतवार, माघ २३, २०७३ 814 पटक पढिएको

Share This

सौगातको बाबाले बजारबाट केही कापी र कलम किनेर ल्याउनुभयो। ती सामान छोरालाई दिँदै उहाँले भन्नुभयो, ‘हेर बाबु, कापीमा अनावश्यक लेखेर कागज खेर फाल्नु हुँदैन। गृहकार्य गर्ने, विभिन्न पाठको अभ्यास गर्न छुट्टाछुट्टै कापीको प्रयोग गर्नुपर्दछ।'

छोरालाई सम्झाउँदै उहाँले फेरि भन्नुभयो, ‘अक्षर लेख्दा जति राम्रो र बान्की पारेर लेख्न सक्यो त्यति कापी पनि सुन्दर र राम्रो देखिन्छ। कापी र किताबमा जथाभावी केरेर फोहोर गर्ने बानी राम्रो होइन। कापी किताबमा फोहोर गर्नु भनेको त तिमीले मैलो र च्यातेको पोसाक लगाएर विद्यालय जानुजस्तै हो।' सौगात हस् बाबा भन्दै कापी र कलम लिएर दगुर्दै कोठामा गए।

उनको किताब र कापी प्रायः केरिएर च्यातिइसकेका हुन्थे। विद्यालयमा पनि साथीहरूले उनलाई ‘केरकारे कान्छो' भनेर जिस्क्याउँथे। उनलाई यसरी साथीहरूले होच्याएर बोल्दा सारै रिस उठ्दथ्यो। तर पनि उनले आफ्नो बानीलाई सुधार्न भने सकेका थिएनन्। आज पनि नयाँ कापी र कलम पाएकाले उनी दंग थिए। त्यसैले विद्यालय जाँदा उनले पुरानो गृहकार्य भएको कापी झोलामा राख्न त्यति ध्यान दिएनन्।

कक्षामा गुरुबाले सबैको गृहकार्य एकपछि अर्को गर्दै परीक्षण गर्न थाल्नुभयो। सौगातले कापी घरमै छुटाएकाले उनलाई गुरुबाले ‘बेन्च' माथि उभ्याएर राखे। सबै साथीहरूले उनलाई हेरेर गुरुबाको आँखा छलेर इसारामै गिज्याउँदै थिए। कोही आँखाको भाकाले खुचिङ भन्थे त, कोही कुम हल्लाउँदै ठिक्क पर्‍यो भन्दै इसारा गर्दथे।

यो देखेर सौगातलाई रुन मन लाग्यो। उनको आँखाबाट आँसु नै झर्‍यो। गुरुबाले उनी रोएको देखेर भन्नुभयो, ‘हेर सौगात तिमी जहिले पनि यस्तै गर्छौ ल आजलाई माफी दिएँ। भोलि आजको र हिजोको सबै गृहकार्य गरेर ल्याउने है।'

पाठशाला सकेपछि उनी हतारहतार घर पुगे। उनको मलिन अनुहार देखेर सौगातको आमाले सोध्नुभयो, ‘मेरो छोरालाई सञ्चो भएन कि क्या हो ? ' सौगातले नढाँटी जवाफ दिए, ‘मामु मामु विद्यालयमा क्या बेइज्जत भयो मेरो।'
‘किन र के भयो ? ' आमाले सोध्नुभयो।

‘गृहकार्य नगरेको भनेर नि', उनले जवाफ दिए।
हिजो गरेको होइन त ? भनेर आमाले भनेपछि फेरि उनले भने, ‘ गरेको त हो नि मामु।'

आमाले हिजोको कापी खोइ त भनेर सौगातलाई सोधेपछि उनले त्यो कापी सकियो भनेर त्यसलाई च्यातेर डस्टबिनमा हालिदिएको बताए। त्यो कापीमा गृहकार्य भएको त उनले भुसुक्कै बिर्सिसकेका रहेछन्।

‘अनि तिम्रो बेइज्जत नभै अरूको हुन्छ त !' उनको आमाले पनि उनलाई गाली गर्दै सम्झाउनुभयो, ‘ हेर छोरा गृहकार्य गरेको सबै पुराना कापीहरू सफासँग चिटिक्क मिलाएर सोकेसमा राखिछोड्नु पर्दछ। आफूलाई अप्ठेरो परेको बेला पल्टाएर हेर्न मिल्छ। तिमीले पढेका र लेखेका सबै ज्ञानहरू त्यही कापीमा हुन्छन्।

कापी सकियो भनेर कहिल्यै हेलाँ गरेर च्यातेर फाल्ने र मिल्काउने गर्नु हुँदैन। त्यसरी मिल्काउँदा तिमीले हासिल गरेको ज्ञान नै मिल्काएको जस्तो हुन्छ। त्यसैले आफूले कहिले के पढेँ, कति गृहकार्य गरेँ, कति राम्रो गरेँ, कति नराम्रो गरेँ, कहाँनेर गल्ती गरेछु र कहाँनेर मेहनत गर्न आवश्यक छ भन्ने कुराको जानकारी त्यही कापीबाट पाइन्छ।

एउटा उखान छ नि पुराना वस्तु सुनको ढिक्का हो। त्यसैले आवश्यक परेको बेला काम लिन सक्ने गरी आजैदेखि गृहकार्य गरेका कापीहरूलाई सुरक्षित राख्ने गर।' सौगात हस् भन्दै कोठातिर गए।

कोठा भित्र छिर्नु अघि ढोका नजिकैको डस्टबिनको छेउमा पुग्दा उनले कल्याङकुलुङ आवाज सुने। उनी त्यहीँ उभिएर हेरिरहे। को रोएको होला भनेर मनमनै सोचिरहे। यस्तो अनौठो आवाज उनले जीवनमा कहिले पनि सुनेका थिएनन्।

आवाज झन् तड्कारो सुनिन थाल्यो। फेरि जोडजोडले कोही हाँसेको अनौठो आवाजले उनलाई झस्काइदियो। उनले डस्टबिनतिर आँखा लगाए। आफैंले च्यातेर फालेको कापी पो बचाऊ.. बचाऊ भन्दै रोइरहेको उनले देखे।

कापीलाई डस्टबिनबाट बाहिर निकाले। कापी रोएको देख्दा उनलाई पनि रोउँरोउँ लाग्यो। तै पनि मन थामेर उनले आधा च्यातिएको कापीमा पानीटेप लगाए र सोकेसमा सजाए। भित्र कोठामा कलम अझै हाँस्दै थियो।

उनले कलमलाई हाँस्नुको कारण सोधे। बिहान विद्यालय जानुअघि नयाँ कापी पाएपछि पुरानो कापीलाई केरेकोले कलमलाई लागेको काउकुती अझै नमेटिएकोले हाँसेको कलमले बताए। कलमको बिर्को भुइँमै फालेर गएकाले झ्यालबाट सुस्तरी आउने हावाले काउकुती लगाएरै उनको जिउको मसी सुकाइरहेकोले हाँसो लागेको पनि उनले खुलाए।

सौगातले कलमसँग पनि माफी मागे र अबदेखि कहिल्यै पनि कापी र कलमको मन दुख्ने काम नगर्ने प्रतिबद्धता जनाए। कलमको बिर्को बन्द गरेर सोकेसमा सजाएर राखे। समयमै गृहकार्य गर्ने किताब र कापी फोहोर नगर्ने बानी उनले बसाले।

यो देखेर गुरुबा र साथीसंगीहरू पनि उनको प्यारो हुन थाले। घरमा पनि बाबाआमाले उनलाई माया गर्न थाल्नुभयो। पाठशालामा पनि सौगात सधैं पहिलो हुन थाले।

उनको बानीमा आएको सुधार देखेर विद्यालयका सबै विद्यार्थी र गुरुहरू चकित भए। उनलाई अब सबैले ‘केरकारे कान्छो' भन्न छाडेर मायाले सौगात भन्न थाले। सौगात पनि साथीहरूको व्यवहारमा आएको परिवर्तन देखेर खुसी भए।

 

 

प्रतिकृया दिनुहोस