MENU

वसन्त बहार

अन्नपूर्ण आइतवार, माघ १६, २०७३ 432 पटक पढिएको

Share This

भाइबहिनीहरू आजभन्दा तीन दिनपछाडि वसन्त पञ्चमी । यस दिन विद्याकी देवी सरस्वतीको पूजा अर्चना गर्ने गरिन्छ ।
ब्रम्हाको मुखबाट उदय भएकी सरस्वती सम्पूर्ण प्राणीहरूकी वाग्देवी अर्थात् वाणीकी देवी हुन् । राजहंसवाहन भएकी यी देवीका चार हातमध्ये एउटामा वीणा, एउटामा स्फटिकको माला, अर्कोमा पुस्तक र अभय मुद्रा रहेका छन् । सेतो वस्त्रमा सजिएकी यी देवी सधैं मुस्कुराई रहन्छिन् र सम्पूर्ण मावन जातिलाई पनि मुस्कुराउन प्रेरित गर्छिन् ।

वसन्त पञ्चमीपछि सूर्य उत्तरतिर लागि दिन लामो हुने र वसन्त ऋतु प्रारम्भ हुने विश्वास गरिन्छ । वसन्त सबैलाई मनपर्ने ऋतु हो । यसको आगमनसँगै फूलहरूमा बहार आउन थाल्छ भने जौ र गहुँका बालीहरू लहलहाउन थाल्छन् । त्यसैगरी फलफूलका रूखहरूमा नयाँ पालुवा पलाउन थाल्छन् । फूलबाट फैलन सुगन्धले गर्दा चारैतिर रंगबिरंगी पुतलीहरू उड्न थाल्छन् । काठमाडौं उपत्यकाका जयबागेश्वरी, स्वयम्भू मञ्जु श्री, गैरीधारास्थित नीलसरस्वती, ललितपुरको लेलेलगायत अन्य जिल्लामा रहेका सरस्वती मन्दिरमा बिहानैदेखि छात्रछात्राको घुइँचो लाग्ने गर्छ ।

सरस्वतीलाई चढाइएको सात गेडा अक्षता निलेमा विद्या बढ्छ भन्ने धार्मिक विश्वास पनि छ । बाल्यकालमा सरस्वती पूजाका दिन अक्षता खाने गरेको सम्झन्छन् बालसाहित्यकार शान्तदास मानन्धर । शरीरमा भएका इन्द्रियहरूले सिक्ने काम गर्ने हुनाले यसरी अक्षता खाएर इन्द्रियहरूको सदुपयोग गरेको उनको तर्क छ । सरस्वती पूजा भनेको सिकाइ भएकाले यो वर्षमा एक दिन नभई प्रत्येक दिन गर्नुपर्ने उनको विचार छ । आफू सानो छँदा बिहानै नुहाइधुवाइ गरेर खरीको ढुंगाले सरस्वती स्थानमा अक्षर कोरेको उनले बिर्सेका छैनन् ।

त्यस्तै, संस्कृतिविद् गोविन्द टण्डनका पालामा सरस्वती पूजाको दिन पुरोहितबाट अक्षर आरम्भ गराउने गरिन्थ्यो । 'पहिले त भुइँमा लेखिन्थ्यो तर हामीले खरीले लेख्न पायौ', उनले सम्झिए । नटुक्रिएको चामल निले विद्यावान् भइन्छ भन्ने चलन भएकाले उनले पनि त्यसै गरेका थिए । उनका अनुसार १८ पुराणमा पनि सरस्वतीप्रतिको श्रद्धा भावना जगाउँदै आफूभन्दा ठूलालाई सम्मान गर्न, आमाबाबुलाई देवतासमान पुज्न, अतिथि सत्कार गर्न, सत्य बोल्नलगायतका असल आचरण सिकाइएको छ ।

हिजोआज सरस्वती पूजाका दिन पूजा आराधना मात्रै नभई केक काट्ने र प्रेमगीतमा बालबालिकालाई नचाउनेजस्ता प्रवृत्तिले विकृति बढाएको डा.टण्डनको धारणा छ । सरस्वती विद्या र सिर्जनाकी देवी भएकाले यस दिन विशेषगरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थीले आआफ्ना कलासाधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्रलाई सरस्वतीका रूपमा पूजा आराधना गर्छन् । यस दिन विद्यालयहरूमा पनि विशेष कार्यक्रमको आयोजना गर्ने गरिन्छ । विद्यालयमा नयाँ भर्ना हुन आउने विद्यार्थीलाई अक्षर आरम्भ गराइन्छ भने अन्यले पनि केही न केही लेखपढ र सांस्कृतिक कार्यक्रम गर्छन् । यस दिन कुनै पनि शुभकार्य गर्नका लागि साइत हेराइनु पर्दैन भन्ने जनविश्वास छ ।

हिजोआज केही विद्यालयले भने यस पर्वलाई अलि पृथक् ढंगमा मनाउन थालेका छन् । काठमाडौंको भंगालमा रहेको भ्याली पब्लिक स्कुलले यस वर्ष स्वामी विवेकानन्दलाई बोलाएर प्रवचन दिन लगाउने भएको छ । यसले विद्यार्थी एवं अभिभावकलाई सरस्वतीको महत्त्व दर्शाउँदै नैतिक शिक्षाको बारेमा ज्ञान दिन सहयोग पुर्‍याउने विद्यालयका प्रशासन प्रमुख महेश अधिकारीले बताए ।

Yamaha

प्रतिकृया दिनुहोस

dishhomeapp