MENU

कथा-परेवाको भाकल

चन्द्रमा पौडेल आइतवार, माघ ९, २०७३ 2604 पटक पढिएको

Share This

आज कथा भन्ने पालो गुरुआमाको हो । कक्षामा सबै विद्यार्थी कथा सुन्न आतुर थिए ।
गुरुआमाले भन्नुभयो, 'आज तिमीहरूलाई म सानो हुँदाको आफ्नै अनुभव बताउँछु । यो तिमीलाई कथा जस्तो लाग्न सक्छ किनभने समय धेरै बितिसकेको छ । पहिले र अहिलेमा धेरै परिवर्तन आइसकेको छ ।'
सबै विद्यार्थी झन् उत्सुक देखिए । धेरै वर्षअगाडिको कुरा सुन्न पाइने भो भनेर खुसी भए ।

गुरुआमाले यसरी कथा भन्न थाल्नुभयो । धेरै वर्षअघि म पनि तिमीहरू जस्तै सानी थिएँ । मेरो एउटा सानो भाइ थियो । स्कुल जाने बेलासम्म भाइ र म घरमा खेल्थ्यौं । बुवा-आमा खेतबारीमा काम गर्नु हुन्थ्यो ।
तिमीहरूले स्कुलमा टिफिन खाएजस्तो हामी खाँदैनथ्यौं । स्कुलबाट घर फर्किएपछि घरमा भएको खानेकुरा खान्थ्यौं । स्कुलमा दिनभर भोकै हुन्थ्यौं । हामी लखतरान भएर घर फर्कन्थ्यौं ।

हामी घरमा सधैं एउटै खाजा खान्थ्यौं । त्यो के भने बिहान पकाएर राखेको भात र मही । हामीलाई यस्तै खाजा खाने बानी परेको थियो ।

भोक लागेको बेला म भात र मही मीठो मानेर खान्थेँ, तर भाइ खाँदैनथ्यो । म उसलाई माया गरेर फकाउँदै खाजा खाउ भन्थेँ । ऊ धेरै दुब्लो र कमजोर पनि थियो । पढाइमा पनि कमजोर थियो । सरसफाइमा पनि ध्यान दिँदैनथ्यो ।

दुब्लो भाइलाई देखेर बुवा-आमा धेरै चिन्तित भएका थिए । वरपरका मानिस तिम्रो भाइलाई जुका परेको होला भन्थे । बुवाआमाले भाइलाई घरेलु औषधि खुवाउनुभयो, तर उसलाई ठीक भएन ।

पहिला गाउँघरमा स्वास्थ्यचौकी थिएन । सबै बिरामीलाई घरेलु औषधि खुवाउँथे । अस्पताल धेरै टाढा हुन्थ्यो । यातायातको सुविधा पनि थिएन ।

कोहीकोही धेरै बिरामी भए भने डोकामा बोकेर अस्पताल लैजान्थे । कतिपय बिरामी अस्पताल पुर्‍याउन नपाई परलोक जान्थे ।

मेरो भाइलाई पनि बुवाआमाले धेरै घरेलु औषधि गर्नुभयो । जुका परेको भनेर खाली पेटमा खरानी पानी खुवाउनुभयो । सिरु घाँसका जरा कुटेर खुवाउनुभयो । नास परेको हो कि भनेर नासको तीतो औषधि खुवाउनुभयो । जति उपाय गर्दा पनि ठीक नभएपछि बुबा ज्योतिषीकहाँ गएर चिना हेराउनुभयो ।

ज्योतिषीले बुवालाई घरमा पूजा लगाउन सल्लाह दिनुभएछ । एक दिन बुवाले पूजा लगाउनुभयो । भाइलाई पनि सँगै राख्नुभयो । मैले बुवालाई म भाइसँगै बसेर पूजा गर्छु भनेँ, तर पाइनँ । भाइको ग्रहदशा बिग्रेकाले भाइले मात्र पूजा गर्छ, तिमी नगर भन्नुभयो । पूजा गर्न नपाएकाले मलाई नरमाइलो लाग्यो ।

आमाले भनेअनुसार भाइ र मैले पूजा सकिएपछि साँझमा धेरै प्रकारका फलफूल, सेलरोटी, चामल आदि हालेको ठूलो टपरी दोबाटोमा सेलाएर आयौं, तर पनि भाइलाई सञ्चो भएन ।

बुवाले अर्को दिन घरमा धामी बोलाएर झारफुक गर्न लगाउनुभयो । धामीले भने जसरी कालो बोको र रातो भालेको बलिपूजा गरिदिए, तर पनि भाइलाई सञ्चो भएन ।

बुवाले मार्ई नदीमा परेवाको बच्चा बलि दिन भाकल गर्नुभयो । बुवाले परेवाका बच्चा खोजेर ल्याउनुभयो । भाइ र मैले परेवाको बच्चा हेर्‍र्यौं । परेवाका बच्चा आँखामात्र पिलपिल गरिरहेका थिए । जाडोले कामिरहेका थिए । त्यो देखेर हामीलाई असाध्यै माया लाग्यो । यस्तो बच्चालाई बलि दिने भनेपछि हामी झन् दुःखी भयौं ।

भाइ र मैले परेवाका बच्चाहरूलाई बचाउनुपर्छ भनेर सल्लाह गर्‍यौं । तिनीहरू पेरुंगोभित्र भट्याक-भट्याक गरिरहेका थिए ।

भोलिपल्ट बिहानै बुवाआमासँगै भाइ र म पनि माईखोलामा नुहाउन गयौं । म पछिपछि हिँडिरहेकी थिएँ ।
नुहाइसकेपछि बुवाआमा पूजा गर्न थाल्नुभयो । हामी तिनै बचेराको छेउमा थियौं । बुवाआमाले पूजा गर्न माईतिर फर्केका बेलामा हामीले पेरुंगोको मुख उघारेर बच्चा उडाइदियौं । हामी खुसीले चिच्यायौं । बुवाआमा 'ल ! अब बर्बाद भयो' भनेर दुःखमनाउ गरिरहनुभएको थियो । हामीले आजै अस्पताल गएर उपचार गर्ने भनेर जिद्दी गरिरह्यौं ।

बुवाआमाले माई भगवतीसँग माफ माग्नुभयो । माईबाट फर्कंदा बाटैमा पर्ने अस्पतालमा भाइलाई जँचायौं । डाक्टर अंकलले भाइलाई पौष्टिक तत्त्वको कमी भएको भन्नुभयो । औषधि पनि दिनुभयो ।

बुवाआमाले भाइलाई डाक्टरले दिएको औषधि नियमित खुवाउनुभयो । केही दिनमै भाइलाई पनि सञ्चो भयो । रोग निको भएपछि भाइ खुसी भयो । बुवाआमा पनि खुसी हुनुभयो । म पनि खुसी भएँ ।

मेरो भाइ ठूलो भइसक्यो । धेरै मेहनत गरेर पढेकाले डाक्टर भयो । ऊ गाउँको स्वास्थ्यचौकीमा डाक्टर भएको छ । गाउँगाउँमा पुगेर बिरामीलाई अस्पताल लगेर उपचार गरौं, धामीझाँक्रीको विश्वास नगरौं ।

'तिमीहरूलाई मेरो कथा कस्तो लाग्यो ? ', गुरुआमाले सोध्नुभयो ।
सबैजना खुसीले फुरुंग भए । सबैले कथा मन पराए ।

प्रतिकृया दिनुहोस