MENU

कथा-जिपर

टंक चौलागाईं आइतवार, माघ २, २०७३ 2786 पटक पढिएको

Share This

ज्याकेटको जिपर बिग्रिएको धेरै दिन भइसक्यो ।
'घ्यार...घ्यार...घ्यार..' लगाउँदा कच्ची बाटोमा गुडेको मोटरझैं हुन्छ । लाग्दै लाग्दैन । उदयले सक्ने जति जतन गरेकै हो । तैपनि बिग्रिहाल्यो । जिपरबिना ज्याकेट लगाउन उनी बाध्य भए । विद्यालयमा खेल सप्ताह सुरु हुँदै थियो । उदय जिपर लगाउने खेलमा छानिए । जिपर नबिग्रिएको भए उनी खुसी हुन्थे ।

जाडो महिना भएकोले कि बनाउनै पर्‍यो, नभए नयाँ ल्याउनु पर्‍यो । अरू विकल्प थिएन । बुवाआमाले सल्लाह गर्नुभयो, 'कतै फाटेको छैन । जिपरमात्रै बिग्रिएको हो, बनाइदिउँ ।'

उनी बुवासँग लुगा सिलाउने ठाउँमा गए । उनले एउटा झोलामा आफैंले ज्याकेट बोकेका थिए । त्यहाँ धेरै जिपरहरू थिए । देखेर उनी खुसी भए । साना-साना, ठूलाठूला थरीथरीका जिपरहरू दाँत जस्तै लाग्यो उनलाई । उदयको खुट्टादेखि टाउकोसम्म पुग्ने जिपरहरू पनि रहेछन् त्यो पसलमा !

उनका दिमागमा रमाइला कुराहरू खेल्न थाले । मानिसले टाउकोदेखि खुट्टासम्म जिपर लगायो भने कस्तो हुन्छ होला !

गुरुआमाले कक्षामा 'सबैले आआफ्नो मुखमा जिपर लगाउनुस् त' भनेको उनले सम्झिए । उनले सानो जिपर देखे । ठ्याक्कै उदयको मुखमा ठीक हुने । मुखमा जिपर टाँसेर ऐनामा हेरे ।

'मुखमा पनि जिपर लगाउने हो बाबु ? आनन्द हुन्छ, खाने बेलामा खोल्यो ...अरू बेला बन्द गर्‍यो । मुखमा फोहोर, धुलो पस्दैन बिरामी पनि भइँदैन ' लुगा सिलाउँदै गरेकी दिदीले जिस्काइन् ।

'हुन्छ' मुखमा जिपर टाँसेको हुनाले उदयको आवाज सानो अनि अस्पष्ट सुनियो ।

उनलाई ज्याकेटको जिपर बनाउनु थियो । रातोमा नीलो रङ मिसिएको ज्याकेट बुवाको हातमा थियो । त्यसलाई मिल्ने जिपर खोजिरहेकी थिइन् लुगा सिलाउने दिदी । उदयको दिमागमा अझै रमाइला कुराहरू दौडिए ।

त्यतिबेलासम्म उनले आफ्नो दुवै आँखामा पालै पालो जिपर टाँसे । नाकमा जिपर टाँसे । कानमा टाँसे । शरीरका सबै अंगमा जिपर भएको कल्पना गरे उनले ।

जुत्तामा तुनाको सट्टा जिपर हाले कसो होला ? घरको ढोकामा ताल्चाको सट्टा जिपर लगाउन पाए ! किताब कापीका सबै पाना जिपर लगाएर बन्द गर्न पाए कस्तो मज्जा हुन्थ्यो । खाना पकाउने कुकरमा जिपर लगाएर बन्द गर्न मिल्छ कि मिल्दैन होला ! मलाई सबभन्दा मन पर्ने फलफूल सुन्तलामा पनि जिपर भइदिए ! जिपर खोल्यो सुन्तला खायो । उनले यस्तै कुराहरू कल्पना गर्न थाले । 'यो लामो जिपर बोडीलाई ठीक हुन्छ' उनले आफूलाई मनपर्ने तरकारी सम्झिए ।

'अँ, यो जिपर चाहिँ पप्पीको मुखमा लगाइदिनुपर्‍यो' उदयले आफ्नो घरमा पालेको पप्पीलाई पनि सम्झिए ।
तर अहँ, उदयको ज्याकेटलाई मिल्ने जिपर पाइएन ।

'दाइ ज्याकेट छोडेर जानुस् । तीन चार दिनमा बजार जाँदा खोजेर ल्याइदिउँला । यी सबै झोला र पाइन्टको लागि ल्याएका जिपर हुन्' उनले भनिन् । उदयलाई रिस उठेर मुखमै जिपर लगाइदिउँ जस्तो लाग्यो ।

भोलिपल्ट उनी विद्यालय गएर सरलाई सोधे, 'सर मेरो ज्याकेटको जिपर बिग्रिएको छ । आउट ड्रेसको ज्याकेट लगाउँछु नि ।' जिपर बिग्रिएको ज्याकेटले खेल हार्ने पक्का थियो ।

'सबैले स्पोटर्स ड्रेसको ज्याकेट लगाउनुपर्‍यो नि त कान्छु ! हजुरले मात्रै आउट ड्रेसको ज्याकेट लगाउनु मिल्दैन । बाबाममीलाई बनाइदिनु भन्नुस् न ।' खेल शिक्षकले सम्झाउनुभयो । खानाको लागि क्यान्टिनमा जाँदा धाराबाट तप् तप् पानी चुहिरहेको थियो । धाराको पनि जिपर बिग्रिएछ ! उनले सोचे ।

बगैंचाको धुपीको रूखले जिपर लगाएको देख्यो । गुलाबको फूल पनि जिपरभित्र पो रहेछ ! तर उदयको ज्याकेटको जिपर बिग्रिएको थियो । त्यो नबनाई खेल कसरी जित्नु ?

'कि नयाँ ज्याकेट ल्याइदिनु, कि यसको जिपर बनाइदिनु ' उदयको जिद्दीपछि घरमा छलफल सुरु भयो ।
'चार थरी ड्रेस छन् । बिगारेको बिगार्‍यै गर्छ । नयाँ त कसरी किन्न सकिन्छ ? ', हजुरआमा रिसाउनुभयो ।
जिपर बिग्रिएको उदयको ज्याकेट परिवारमा सबैको टाउको दुखाइ बन्यो ।

'जतन गर्दैन । हामीलाई दुःख दिन्छ । सानो छैनस् केटा ११ वर्ष भइसकिस् । ...हेर, के गरेको होला, दाँत जति सबै निस्किएको छ' हजुरआमाले ज्याकेट हेर्दै भन्नुभयो ।

'अस्ति जिपर नै पाइएन । मैले भ्याइनँ, तपार्इंले बनाइदिनु न आमा', उदयको बुवाले भन्नुभयो ।
'किन त्यस्तो खेल खेलाउनु परेको होला । कमाइ जति यसैको लुगामा स्वाहा !' आमाले पीर मान्नुभयो । साँझतिर हजुरआमा ज्याकेट हातमै झुन्ड्याएर हिँड्नुभयो ।

उदयले साथीलाई फोन गरे । 'मेरो ज्याकेटको जिपर बनेन भने तिम्रो ज्याकेट देऊ है' खेलमा सहभागी नभएका साथीसँग उनले सहयोग मागे ।

घरमा आएर राति खाना खाएपछि उदय सुते । जिपरले सिरकलाई चारैतिरबाट बन्द गरे । आँखामा पनि जिपर लगाएको कल्पना गर्दै उनी निदाए ।

'यो सारा संसार घुमेपछि बल्ल बन्यो । यति हालेको दुई सय ! अब जतन गर् ' हजुरआमाले भोलिपल्ट जिपर बनाएर ल्याइदिनुभयो । उदयको मनको जिपर खुल्यो । निरासा भुरुरु उड्यो । खुसी भित्र पस्यो ।

उदयलाई लिन स्कुल गाडी आयो । गाडीको सबैतिर जिपर थियो । जिपर खुल्यो, उनी भित्र पसे । जिपर बन्द भएपछि गाडी गुड्यो ।

खेल मैदानको जिपर खुल्यो । सबैजना मैदानभित्र पसे । सबैका अभिभावक आए । उदयले मनभित्र खुसी नै खुसी भरेर जिपर बन्द गरेका थिए ।

जिपर लगाउने खेलमा उनी नै प्रथम भए । उनले आफ्नो मनभित्र धेरै खुसी जम्मा पारे र सधैंको लागि जिपर बन्द गरे । हजुरआमालाई म्वाई खाएर टल्किने मेडल देखाउँदै भने, 'धन्यवाद हजुरआमा, तपाईंले जिपर बनाइदिनु भएकाले मैले गोल्डमेडल पाएँ ।'

 

प्रतिकृया दिनुहोस

Annapurna Post1140X100