MENU

भक्तपुर तलेजुभित्र आगलागी

ईश्वरकाजी खाइजू बुधवार, पुस २७, २०७३ 12222 पटक पढिएको

Share This

भक्तपुर : भक्तपुर दरबार क्षेत्रस्थित तलेजुभित्र बुधबार आगलागी भएको छ । तलेजुको मूल चोकबाट दक्षिणमा रहेको सुवाल घरमा आगलागी भएको तलेजुका मूल नाइके नरेन्द्रप्रसाद जोशीले बताए ।

उनका अनुसार तलेजुको दैनिक नित्य पूजासँगै पर्व पूजाको लागि प्रसाद पकाइतुल्याई गर्ने कोठामा आगलागी भएको हो । उक्त सुवाल घर भक्तपुर दरबार क्षेत्रभित्रको ९९ चोकमध्ये ज¥हुँ चोक र जिस्वाँ चोकसँगै रहेको छ । उक्त सुवाल घरमा तलेजुका रकमी सुवालहरुबाहेक अरुले प्रवेशसमेत पाउँदैनन् ।

महानगरीय प्रहरी परिसर भक्तपुरले विद्युत सर्ट भई आगलागी भएको जनाएको छ । फोटो खिच्न मनाही गरिएको उक्त क्षेत्रमा भएको आगलागीले कोठामा रहेको ऐतिहासिक बुट्टेदार एउटा आँखीझ्याल एउटा, दुइटा ढोका, थाम, दलिनलगायत जलेर नष्ट भएको छ ।

आगलागी भएपछि तत्काल तलेजुभित्र रहेको नेपाली सेना, प्रहरी र स्थानीय बासिन्दाले दमकलको सहायतामा आगो नियन्त्रणमा लिएका थिए ।

दरबार हेरचाह तथा स्मारक संरक्षण कार्यालय भक्तपुरका प्राविधिकहरुले आगलागीबाट करिब १२ लाख रुपैयाँ बराबरको क्षति भएको जनाएका छन् । भक्तपुर नगरपालिकाले समग्र तलेजु मन्दिर र यसको चौघेरा सत्तल जीर्णोद्धार गर्ने क्रममा करिब १२ वर्षअघि उक्त सुवाल घरको पनि पुनर्निर्माण गरेको थियो ।

माः अप्पा, दाँची अप्पा, बुट्टेदार इँटा र माटो जोडाइको दुईतले घरमा काठका दलिन, झ्याल, ढोका, थाम, कोपुलगायत प्रयोग गरिएको छ ।
भक्तपुर तलेजुका मूल नाइके जोशीले भक्तपुर तलेजुमा लागेको बुधबारको आगलागी पहिलो हो । ‘मेरो जानकारीमा रहेसम्म करिब ४० वर्षदेखि तलेजुमा आगलागी जस्तो कुनै घटना भएको छैन’, उनले भने ।

संस्कृतिविद् ओमप्रसाद धौभडेलका अनुसार पनि भक्तपुरको तलेजुमा भएको आगलागी बुधबारको घटना नै पहिलो हो । उनले विश्व सम्पदा क्षेत्र तलेजुभित्र आगलागी हुनु गम्भीर घटना भएको भन्दै यस्ता घटना गराउने अवस्था हुन नदिन सबै सतर्क र जिम्मेवार हुनेपर्नेमा जोड दिए ।

प्रतिकृया दिनुहोस

थप सामग्री

dishhomeapp