MENU

‘नेपाललाई सिक्किमीकरण गर्न खोजियो’

635x90

केशर रोका बुधवार, पुस २७, २०७३ 5399 पटक पढिएको

Share This

प्यूठानः नेकपा एमालेका पोलिटव्यूरो सदस्य बिजय सुब्वाले व्यवस्थापिका संसद्मा सरकारले झुक्काएर संविधान संशोधन प्रस्ताव टेवल गराएकोे बताएका छन् ।

प्रदेश नम्वर पाँच फेरवदलको विरोधमा बुधबार सदरमुकाम खलंगामा आयोजित संयुक्त सभालाई सम्बोधन गर्दै उनले जनतालाई संविधान संशोधन प्रस्ताव पास नहुनेमा विश्वस्त रहन आग्रह गरे ।

‘संशोधन प्रस्ताव संसद्मा गृहमन्त्रीले पेश गर्नुपर्ने हो’,उनले भने,‘कानुनमन्त्रीले झुक्काएर सभामुखको आदेशमा टेवल भयोे । जालजासीपूर्ण गरिएको कार्य असफल बनाएरै छाड्छौँ ।’ भारतको डिजाइनमा प्रधानमन्त्री बनेका प्रचण्डले मिलेको प्रदेश टुक्र्याएर नेपाललाई सिक्किमीकरण गर्न खोजेको उनले आरोप लगाए ।

सभालाई सम्वोधन गर्दै राष्ट्रिय जनमोर्चाका कार्यवाहक अध्यक्ष रेश्मीराज नेपालीले मुलुकमा संघीयता नै आवश्यक नरहेको औँल्याए । ‘भारतको डिजाइनमा चल्दा मुलुकमा संक्रमणकाल लम्बियो’,उनले भने,‘राष्ट्रघाती व्यक्ति सरकारमा हुँदासम्म मुलुकले दुःख पाइरहनेछ ।’ संविधान संशोधनका सवै बुदाहरु भारतकै डिजाइनमा ल्याइएको उनले आरोप लगाए ।

संविधान संशोधन प्रस्ताव व्यवस्थापिका संसद् सचिवालयमा दर्ता भएलगत्तै चरणबद्ध आन्दोलनमा उत्रिएका जिल्लाबासीले आन्दोलनलाई निरन्तर जारी राख्ने अठोट गरेका छन् । संशोधन प्रस्ताव फिर्ताको माग गर्दै जिल्लाका गाउँगाउँमा पुगेर हस्ताक्षर संकलन गरिएको संयुक्त संघर्ष समितिका संयोजक एवं राष्ट्रिय जनमोर्चा प्यूठानका अध्यक्ष कृष्ण बहादुर खड्काले जानकारी दिए ।

‘संशोधन फिर्ता नभएसम्म आन्दोलन गर्छौ’,उनले भने,‘संकलित हस्ताक्षर प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई पठाउने छौँ ।’ सभामा जिल्लाका गाउँगाउँबाट सर्वसाधरणको उपस्थिति रहेको थियो । सत्तापक्ष र प्रतिपक्षसँगै मिलेर संशोधन फिर्ताको माग राख्दै बसपार्क, महेन्द्र नमूना उमावि, जिल्ला प्रशासन कार्यालय हुँदै जिविससम्म सरकारविरुद्ध नाराजुलुस गरेका थिए ।

 

National College 220X220Pix Ad for Annapurna

प्रतिकृया दिनुहोस

Annapurna Post1140X100