MENU

गाउँले भुलाउने मेलो

केशवशरण लामिछाने /अन्नपूर्ण टुडे बुधवार, पुस २७, २०७३ 1321 पटक पढिएको

Share This

अर्थ

स्याङ्जा सिरुबारीका ३९ घरमा होमस्टे सुविधा थियो । घटेर अहिले १७ घरमा सीमित छ । होमस्टेको विश्वविद्यालयजस्तो ठानिएको गाउँको यही तथ्यांक काफी छ, घरवास पर्यटनको हालत बुझाउन । घरमा कहिल्यै पाहुना टुट्दैनन्, त्यो पनि बसेको र खाएको पैसा तिर्ने । ०५७ सालदेखि ३२ परिवारले त्यस्ता पाहुना राखेर राम्रो आम्दानी गरिहेका छन् । पाहुना राखेर आम्दानी गर्ने यस्तो काइदा सिक्न अरू थुप्रै ठाउँका बासिन्दा पनि आउँछन् ।

घरगाउँ हेर्न मात्रै होइन, बैठक, तालिम र सेमिनार चलाउनु पर्‍याे भने पनि हिमालको काखमा रहेको गाउँमा उक्लिनेहरू छन् । ग्रामीण पर्यटन विकास समितिका अध्यक्ष प्रेम घले भन्छन्, ‘एउटा परिवारले २५/३० हजार आम्दानी गरिरहेको छ ।’यो सुन्दर कथा सुन्दर ठाउँ घले गाउँको हो । लमजुङको यस गाउँमा ०५७ मा होमस्टे सुरु भएको थियो । त्यही सालबाट यहाँका घरमा पाहुना लाग्न थालेका हुन् ।

यस्तै होमस्टे लमजुङ, कास्की, तनहुँ, स्याङ्जा, पर्वत, बागलुङ, म्याग्दी, गोरखालगायत जिल्लामा पनि सुरु भएका छन् । तर, अरूको कथा घले गाउँको जस्तो सुन्दर छैन । कास्की सार्दिखोलाको काभ्रे गाउँमा पर्यटक नपुगेको धेरै भइसक्यो । ‘पहिला त धेरै नै आएका थिए, अचेल कोही आउँदैन,’ उक्त गाउँकी कमला गुरुङ भन्छिन्, ‘पाहुनै नआउने भएपछि हामी पनि गाउँभन्दा धेरै पोखरा नै बस्छौं ।

कसैले फोन गरेर आउँछौं भने मात्रै गाउँ जान्छौं ।’ कास्कीका ३२ गाविसमध्ये धेरैमा होमस्टे सुविधा छ । कुनैबेला सार्दिखोलाको काभ्रेजस्तै नामार्जुङ ताङतिङ गाउँको होमस्टेको चर्चा थियो । अचेल चर्चा पनि छैन र फाट्टफुट्ट मात्र पर्यटक पुगिरहेका छन् । धिताल र हेम्जाकोटको होमस्टे पनि धुमधामसँग सुरु भएको थियो । अचेल धिताल गुमनामजस्तै भइसकेको छ । छिमेकी सार्दिखोला काभ्रेको देखेर पर्यटन व्यवसायीको पहलमा सुरु भएको माछापुच्छे्र गाविस मिर्सा गाउँको होमस्टेमा पनि अचेल कमै पर्यटक पुग्छन् ।

Kalabang pic by Sagar Raj Timilsina (4)

गाउँलेले होमस्टे सुरु गर्न पूर्वाधारमा गरेको लाखौं लगानी उठाउन सकेका छैनन् । भकुन्डे गाउँ बागलुङमा एक मात्र होमस्टे भएको ठाउँ हो । तैपनि, स्थानीय बासिन्दा सन्तुष्ट छैनन् । होमस्टेका अध्यक्ष खिम थापा भन्छन्, ‘गरेको लगानी पनि उठ्न गाह्रो भएको छ ।’ घरधन्दा गरेर बचेको समय होमस्टेलाई दिएको तर खास आम्दानी लिन नसकेको उनको भनाइ छ । भन्छन्, ‘एउटै घरले डेढ/दुई लाख रुपैयाँ लगाएका थिए, त्यो पनि उठ्न सकेको छैन ।’ उनी होमस्टेमा पर्यटक नआउनुको कारण प्रचार–प्रसारको अभाव ठान्छन् ।

गाउँलेले होमस्टे सुरु गर्न पूर्वाधारमा गरेको लाखौं लगानी उठाउन सकेका छैनन्।

एउटा गैरसरकारी संस्थाको पहलमा कास्की पुम्भीभुम्दीको कालाबाङमा होमस्टे सुरु भयो । गाउँमा रोजगारी नभएर विदेश जानु नपरोस् भन्ने नारा दिएर एसियन फोरमले होमस्टेका लागि स्थानीयवासीलाई तयार पार्‍याे । शौचालय, बाथरुम बनाउन सहयोग पनि गर्‍यो । १७ घरमा दुई वर्षअघि सुरु भएको त्यस होमस्टेमा अहिलेसम्म पुगेका पर्यटकको संख्या दुई सयको हाराहारी मात्र छ ।

स्थानीय यमबहादुर गुरुङ भन्छन्, ‘वास नबसी खाना खान मात्र आएकाहरू गन्दासमेत चार सय पुग्छ ।’ विदेशै नगए पनि स्थानीय बासिन्दा रोजगारीका लागि दिनहुँ पोखरा धाउँछन् । गुरुङ भन्छन्, ‘भएको खर्च उठ्न गाह्रो छ ।’ उनको अनुभवले पनि भन्छ, होमस्टेको प्रचारै भएन । वेबसाइट वा फेसबुक पेज चलाउन नसक्दा कालाबाङबारे कसैले नसुनेको उनी बताउँछन् । भन्छन्, ‘गाउँमा इन्टरनेट छैन, प्रचार कसरी गर्ने ?’ त्यही गैरसरकारी संस्थाले होमस्टे सुरु गराएको तनहुँको रानागाउँमा पनि पर्यटक पुगेका छैनन् ।

पर्वतमा २० भन्दा बढी गाउँमा होमस्टे छ । अलि चलेको भनेको चित्रे गाउँको होमस्टे हो । तर, स्थानीय बासिन्दाले त्यसबाट गुजारा चलाउन सकेका छैनन् । चित्रे होमस्टे अध्यक्ष मधुसूदन अधिकारी भन्छन्, ‘ पर्यटन मुख्य व्यवसाय बन्न सकेको छैन ।’ पर्वतको बाँसखर्क, लेखफाँट, शालिजा, बनौ, क्याङ, त्रिवेणी र डाँडाकटेरी गाउँमा पनि होमस्टे छ । तर, पर्यटक खासै छैनन् ।

स्याङ्जामा २० भन्दा बढी गाउँमा होमस्टे छ । पर्यटक पुगेर गाउँ र गाउँलेको स्तर उकासिएको उदाहरण खोज्दासमेत कुनैको नाम लिन सकिन्न । जबकि, ग्रामीण पर्यटनको अवधारणा सुरु भएको यही जिल्लाबाट हो । सिरुबारी देशकै पहिलो त्यस्तो गाउँ हो, जहाँबाट होमस्टे पर्यटन सुरु भयो । २०५४ मा ब्रिटिस लाहुरे रुद्रमान गुरुङले सुरु गरेको सिरुबारीको होमस्टे पर्यटनको ख्याति देशैभरि फैलिएको पनि हो ।

सन् १९९८ मा सरकारले सिरुबारीलाई नमुना होमस्टे गाउँ घोषणा गर्‍याे । गाउँ पर्यटनका पायोनियर रुद्रमान गुरुङको फागुन ०७२ मा देहावसान हुनुअघि नै उनको गाउँको पर्यटन शिथिल भइसकेको थियो । स्विट्जरल्यान्डको विषयमा कुनै किताबमा पढेपछि उनले आफ्नो गाउँमा पर्यटनको सम्भावना देखेका थिए । उनकै पहलमा ०५४ मा सिरुबारीलाई देशकै पहिलो पर्यटकीय गाउँ घोषणा गरिएको थियो ।

Vulture restaurant

कमाइ भइरहेको पेसा वा व्यवसाय छाडिन्छ किन ? कुनै धर्मसंकट नै आइलागेमा । होइन भने छाडिन्न । राम्रै आम्दानी भइरहेको भए सिरुबारीमा होमस्टे चलाउने घरसंख्या घट्नुको सट्टा बढ्नुपथ्र्याे । सिरुबारी होमस्टे अध्यक्ष जुमकाजी गुरुङ भन्छन्, ‘ब्रिटिस आर्मीजतिलाई बेलायतले आवासीय भिसा दियो, धेरैजना उतै गए ।’ पहिला दिनको डेढ सय पाहुनालाई खाने, बस्ने सुविधा दिन सक्ने सिरुबारीको क्षमता अहिले ६० मा झरेको छ ।

काठमाडौंका ट्राभल एजेन्सीहरूले अझै पनि सिरुबारी भुलेका छैनन् । उनीहरूले नै बेला–बेलामा पर्यटक पठाइरहेका छन् । सरकारले ०६७ मा होमस्टे पर्यटनलाई अभियानको रूप दियो । सोही वर्ष होमस्टे कार्यविधि पनि आयो । कार्यविधिमा परिभाषा छ, ‘होमस्टे भन्नाले पर्यटकलाई आवास, खाना र अन्य सेवा प्रदान गर्ने उद्देश्यले आफ्नै घर र समुदायमा निजी वा सामूहिक रूपमा सञ्चालन गरिएको सेवा सम्झनुपर्छ ।’ सरकारी अभियानकै कारण गण्डकी, धौलागिरिसहित देशका विभिन्न गाउँमा होमस्टे खुले ।


सरकारले कार्यविधि बनाएर दर्ता थाले पनि दर्ता नै नगरी घोषणा गरेका होमस्टेको संख्या देशभर नौ सय हुनसक्ने अनुमान छ । गण्डकी र धौलागिरिका आठ जिल्लामा मात्र सयभन्दा बढी गाउँमा होमस्टे सुविधा छ । पर्यटक कार्यालय पोखराका शुक्रराज कोइरालाका अनुसार दर्ता भएका होमस्टे भने ६२ मात्रै छन् । त्यसमा पनि सबैभन्दा बढी कास्कीमा २५ होमस्टे दर्ता भएको उनी बताउँछन् । गण्डकी, धौलागिरिका सबै जिल्लाबाट होमस्टे दर्ता गर्न समेत पोखरा आउनुपर्ने अप्ठ्यारो पनि दर्ता नहुनुको कारण हुनसक्छ ।

ग्रामीण पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ) पोखराका अध्यक्ष तारानाथ पहारी सरकारबाहेक एनजीओ/आईएनजीओले पनि होमस्टे सुरु गराएको बताउँछन् । भन्छन्, ‘हामीचाहिँ कहीँ कतैबाट पनि सहयोग नलिई होमस्टेको प्रचार प्रसारमा लागिराखेका छौँ । सुरु भइसकेका होमस्टेको प्रवद्र्धनमा छौँ ।’ ठूला होटेल खोल्न सम्भव नभएका तर पर्यटकीय दृष्टिले उत्तम ठाउँका लागि भनेर होमस्टे अवधारणा आएको पहारी बताउँछन् । भन्छन्, ‘पर्यटनको आम्दानी सबैतिर पुगोस्, गाउँलेले पनि पाऊन् भन्ने हो ।’

कार्यविधिका अनुसार होमस्टेको उद्देश्य ग्रामीण क्षेत्रका बासिन्दामा स्वरोजगारका अवसर सिर्जना हुने तथा आम्दानी वृद्धिको माध्यमबाट जीवनस्तरमा सुधार ल्याउने हो । प्राकृतिक ग्रामीण पर्यटन पूर्वाधारको दिगो विकास गर्ने, त्यसबाट विपन्न, महिला, मधेशी, आदिवासी जनजाति र हालसम्म समेट्न नसकिएका समूहको समेत संलग्नता रहने गरी पर्यटन व्यवसायबाट प्राप्त हुने लाभलाई समुदायको पहुँचभित्र ल्याउने संरचनाको निर्माण र विकास गर्नु पनि अर्काे उद्देश्य हो । यस्तो नीति सरकारले ०६५ मा बनाएको थियो ।

तर, होमस्टे अचेल रहर र फेसन बनेको पहारीको ठहर छ । ग्रामीण पर्यटनको स्वाद चखाउने होमस्टेको लक्ष्य र उद्देश्यअनुरूपका प्रयास र गतिविधि हुन नसकेको पनि बताउँछन् । ‘अझै पनि हामीले होमस्टेका ‘टार्गेट वर्ग’ चिन्न सकेका छैनौं,’ उनी भन्छन्, ‘दूध केबाट आउँछ भन्दा ट्रकबाट भन्ने सहरका विद्यार्थीलाई गाउँलेका घरमा राखेर खेतीपाती, रहनसहन र पशुपालनसम्मका कुरा बुझाउनुपर्ने हो ।’

पोखराको नजिकै लाहाचोक गाउँमा सन् ०१३ मा होमस्टे सुरु भएको थियो । १४ घरमा बेडविस्तराका लागि पन्छी संरक्षण संघले ६० हजार रुपैयाँ लगानी गर्‍याे । पकाउने, खेती गर्ने र पथप्रदर्शनजस्ता कामका लागि तालिम दिन लाखौं खर्चियो । नजिकै गिद्ध रेस्टुराँ पनि थियो, जहाँ सिनो खान गिद्ध पुग्थे । तर, न गिद्ध रेस्टुराँ चलेको छ, न लाहाचोकको होमस्टे ।

होटल होइन, होमस्टे

Prem Sharma 1
प्रेम शर्मा ,ग्रामीण पर्यटनविद्

होमस्टे भनेको होटेल होइन । होमस्टेले पनि होटेलले जस्तै कमाइ गर्नुपर्छ भन्ने बुझाइ गलत हो । एक सय २५ जनजाति, उत्तिकै भाषा संस्कृति, तीनथरी भूगोल, अनेक धार्मिकस्थल भएको हाम्रो देशमा ग्रामीण पर्यटन फस्टाउनुपर्छ । धेरै होमस्टे खुल्नु राम्रो हो । होमस्टेबाटै धेरै आम्दानी गर्ने भन्ने होइन । यसबाट अतिरिक्त आम्दानी मात्रै हुन्छ । मानिसहरू गाउँघर घुम्न, डुल्न आउँछन् ।

तिनलाई आफ्नो घरको जस्तो अवस्था छ, त्यस्तै अवस्थामा खान, बस्न दिने र थोरै पैसा लिने मान्यता होमस्टेको हो । होटेलजस्तो दिनदिनै चल्नुपर्छ भन्ने छैन । भारत र चीनजस्ता दुई ठूला छिमेकी मुलुकका पर्यटकलाई हाम्रा गाउँ–गाउँसम्म पुर्‍याउन सक्नुपर्छ, अनि होमस्टे चल्छन् पनि ।

निजी क्षेत्रले २०/२५ वर्षअघि नै गाउँमा पर्यटनको सम्भावना देखेको थियो । सरकारले अझै नदेखेजस्तो गरिराखेको छ । सरकारले पूर्वाधार पुर्‍याइदियाे भने गाउँले आफैंले होमस्टे फुलाउँछन्, फक्राउँछन् ।

दर्ता भएका हाेमस्टे

homestay_1

 

hamrotoolsdotcom

प्रतिकृया दिनुहोस