MENU

छोरीको प्रश्न : आमाको शव बोक्न तथा किरिया बस्न हामीले किन नपाउने ?

शिव उप्रेती बुधवार, पुस २७, २०७३ 52546 पटक पढिएको

Share This

गोरखाः गोरखा सदरमुकामबाट १० किलोमिटर पूर्वतर्फ बुङ्कोट गाविसको केन्द्र खाब्दी भञ्ज्याङ आउँछ । त्यहाँको बजारबाट सहिदस्मृति उच्च मावि जाने चाँपे गाउँमा १६ वर्षीया मेलिना र १४ वर्षीया इन्दिरा श्रेष्ठको घर पर्छ । विगत सात दिनदेखि यी दुई बहिनी आमाको काजकिरियामा गर्दै छन् ।

आमा फूलमायाको गत बुधबार मस्तिष्क घातका कारण निधन भयो । बुबा ढकबहादुरका दुवै खुट्टा छैनन् । सन्तान भनेकै दुईछोरी मात्र हुन् । दिवंगत फूलमायाको शव दाहसंस्कारका लागि घाटमा लैजान पहिले कसले काँध हाल्ने भन्नेमा खैलाबैला नै भयो । ‘छोरा नभएपछि काँध हाल्न, दाहसंस्कार गर्न र किरियाका लागि नजिकका आफन्तको खोजी भयो', आफन्त लोकबहादुरले भने, ‘दाहसंस्कार गरिसकेपछि लगाउने लुगा पनि त्यहीअनुसार किन्नुपथ्र्यो।

त्यही भएर कसले किरिया गर्ने हो भनेर छलफल हुँदा मेलिनाले दाहसंस्कार बहिनीले गर्छे, किरिया हामी दुवैजना बस्छौं भनेपछि कोही बोल्नै सकेनन् ।' १४ वर्षकी इन्दिराले आमाको शव उठाइन् ।

त्यतिबेला मेलिना महिनावारी भएको चार दिन मात्र भएको थियो । त्यसैले परम्परागत मान्यताअनुसार उनी आमाको शवभन्दा अघि बढिनन् । ‘अगाडि इन्दिराले काँध हालिन् । पछाडि अर्को एकजनाले बोकेर बूढीगण्डकीको बुङ्कोटघाट पुर्‍याए', अर्का स्थानीय कृष्णप्रसाद भट्टराईले भने, ‘त्यहाँबाट फर्केपछि सुरुको तीन दिन इन्दिरा मात्रै किरिया बसिन् । तीन दिनपछि मेलिनाको पनि सात दिन पुग्यो ।

अनि दुवैजनाले किरिया गर्न थाले ।' छोरीले शव बोक्न, जलाउन, किरिया गर्न हुने नहुने बारेमा गाउँका जान्नेसुन्नेसँग सोधपुछ पनि भएको थियो । ‘मलाई सोधेका थिए, मैले हुन्छ भनिदिएँ', गाउँका स्थानीय वृद्धले भने, ‘बिहे गरेर गोत्र फेरिएका छोरीले चाहिँ गर्नु हुँदैन । बिहे नभएका छोरीले दिएको पिण्डपानी पितृले पाउँछन् ।' छोरा नभए दाजुभाइका छोराले गर्ने, उनीहरूले पनि नभए देबर अथवा जेठाजुले किरिया गर्ने गाउँको चलन रहेको उनले बताए ।

शारीरिक रूपमा अपांग आफ्ना बुबालाई छोरीले पनि आइपर्ने सबै काम गर्न सक्छन् भनेर ढाडस दिन काजकिरिया गरेको मेलिनाले बताइन् । ‘छोरा छैनन् भनेर हाम्रो बाबाको मन खिन्न नहोओस् भनेर हामी दिदी बहिनीले सल्लाह गरेर यस्तो आँट गरेका हौं', उनले भनिन्, ‘बुबा यसै पनि त्यस्तो हुनुहुन्छ झन् छोरा नभएर चिन्ता गर्नुहोला भनेर हामीले छोरा नभएर के भो त ? मर्दा पर्दा आइपर्ने सबै काम गर्ने हामी छँदैछौं नि । छोराले गर्न सक्ने सबै काम छोरीले पनि गर्न सक्छन् भनेर ढाडस दिन यो आँट गरेका हौं ।' बहिनीले झैं आमाको शव काँध हाल्न नपाएकोमा भने उनले दुःख व्यक्त गरिन् ।

असल छोरीले जे आइपर्छ त्यही गर्न अघि बढ्नुपर्ने सुझब इन्दिराको छ । ‘असल छोरी आइपरेको जुनसुकै काम गर्न पनि पछि हट्नु हुन्न । आफ्ना बुबाआमा जिउँदो हुँदा र मर्दा जुन रूपले पनि सेवा गर्न तत्पर हुनुपर्छ', इन्दिरा भन्छिन्, ‘आमाको दूधको भारा तिर्न पाइयो । खुसी लागेको छ ।' अरू छोरीले पनि पिण्डपानी दिने छोरा छैनन् भनेर चिन्ता गर्ने बुबाआमाको छाप मेटाउनुपर्ने उनको सुझाब छ ।

उनीहरू दुवैजना कक्षा दसमा अध्ययनरत छन् । पढाइ सकेर क्याम्पस पनि पढ्ने बुबाको काम पनि सघाउने उनीहरूको उद्देश्य छ । ‘क्याम्पस पनि पढ्ने र बुबाले गर्दै आएको इलोक्ट्रोनिक्सको काम पनि गरेर बुबालाई सेवा गर्ने उद्देश्य छ', मेलिनाले भनिन् । विद्यालयका शिक्षक तथा साथीहरू आएर स्याबासी दिने गरेको उनीहरू बताउँछन् । ‘किरिया बस्दा दोस्रो त्रैमासिक परीक्षा बिथोलिएको छ । पढाइ छुटेको छ तर सर र साथीहरू दिनदिनै आएर चिन्ता नगर्न सुझाब दिएर जानुहुन्छ', इन्दिराले भनिन् ।

काजकिरिया गर्दा पुरुषलाई जत्तिकै सजिलो भने नहुने उनीहरूको अनुभव छ । ‘म महिनावारी भएर आमा मरेकै दिनदेखि किरिया बस्न पाइनँ', मेलिना भन्छिन्, ‘अरू पनि समस्या हुन्छ । नुहाउन, लुगा फेर्न पुरुषलाई जस्तो सजिलो हुँदैन ।' समस्या हुन्छ भनेर आफ्ना बुबाआमाको किरिया गर्न अरूलाई दुःख दिन नहुने मेलिना र इन्दिराको सुझाब छ ।

Yamaha

प्रतिकृया दिनुहोस

dishhomeapp