MENU

बुढाथोकीमाथि खुकुरी प्रहार प्रकरण: भारतीय 'किलर'देखि कैदीसम्मको योजना

गजेन्द्र बोहरा बुधवार, पुस २७, २०७३ 18782 पटक पढिएको

Share This

कोहलपुर(बाँके): गत पुस १४ गते युवा संघका केन्द्रीय सदस्य सन्तोष बुढाथोकी (गोरे) माथि खुकुरी प्रहार भएको घटनामाथि प्रहरीले गहिरो अध्ययन थालेको छ । त्यही घटनामा संलग्न भएको आरोपमा प्रहरीले नेपाल तरुण दलका क्षेत्रीय अध्यक्ष दिग्विजय राणालाई पक्राउ गरेपछि घटनामा राजनीतिकरण पनि सुरु भएको छ । यद्यपि प्रहरीले यो घटनालाई विशुद्ध आपराधिक घटना भएको भन्दै 'राजनीतिक इस्यु' नबनाउन आग्रह गरेको छ ।

'यो एउटा ठूलै आपराधिक घटना हो, त्यसैले हामी पनि यसमा रिसियस भएर अनुसन्धानमा लागेका छौं', मंगलबार कोहलपुरमा आयोजित पत्रकार सम्मेलनमा घटनाबारे अनुसन्धान गरिरहेका डीएसपी सुरेशप्रसाद काफ्लेले भने, 'यसमा राजनीतिक रंग मिसिन दिँदैनौँ ।' यो घटना ज्यान मार्ने उद्देश्यले भएको भन्दै प्रहरीले त्यसमा ठूलै सञ्जाल सक्रिय रहेको पनि बताएको छ । यसबारे अझै अन्तिम अनुसन्धान गर्न बाँकी रहेको पनि उनले बताए ।

खुकुरी प्रहारबाट घाइते भएका बुढाथोकी अहिले पनि भारतको अस्पतालमा उपचारत छन् । उनकै किटानीका आधारमा प्रहरीले खुकुरी प्रहारका मुख्य अभियुक्त भनिएका लक्ष्मण मल्ललाई काठमाडौंबाट पक्राउ गरेको छ । घटनापछि उनी बा १४ च ४७९ नम्बरको कार चढेर काठमाडौं पुगी लुकेर बसेका थिए । पुस २३ गते उनलाई कारसहित काठमाडौंबाटै पक्राउ गरेर अहिले इलाका प्रहरी कार्यालय कोहलपुरमा राखिएको छ ।

त्यस्तै बुढाथोकीमाथि प्रहार भएको खुकुरी भने प्रहरीले बाँके शमशेरगन्जको ढकेरीको जंगलमा फेला पारेको थियो । त्यही घटनामा प्रयोग भएको एउटा अनटेस्ट मोटरसाइलक पनि प्रहरीले बरामद गरिसकेको छ ।

घटना दुई समूहका 'डन' हरूबीचकै हो । प्रहरीको प्रारम्भिक अनुसन्धानले पनि पुरानो रिसिइबी फेर्न उक्त आक्रमण भएको देखाएको छ । प्रहरी अनुसन्धान स्रोतका अनुसार यो घटनामा जेलभित्रै रहेका नाम चलेकै 'डन' हरूको योजनाअनुसार भएको देखिन्छ । लामो योजनाअनुसार सन्तोषमाथि आक्रमण भएको प्रहरीको ठम्याइ छ ।

सुरुमा भारतीय कन्ट्रयाक्ट किलरलाई नै सन्तोषको 'सुपारी' दिने योजना बनेको थियो । तर ती कन्ट्रयाक्टरले राजनीतिक समूहका मान्छे भएका कारण 'रिस्क' नलिने भन्दै अस्वीकार गरेका थिए । त्यो १५ लाखको 'सुपारी' थियो । यो प्रयास असफल भएपछि लक्ष्मण मल्ललाई प्रयोग गरेर आक्रमण गरिएको प्रहरी स्रोतले जनाएको छ । काठमाडौंबाट पक्राउ परेका मल्ललाई मंगलबार इलाका प्रहरी कार्यालय कोहलपुरले सार्वजनिक पनि गरेको छ । नेपालगन्ज र महानगरीय प्रहरी बृत्त बालाजुको टोलीले मल्ललाई बालाजुस्थित होटेलबाट शुक्रबार राति पक्राउ गरेको थियो ।

प्रहरीले यो योजनाका बारेमा अझैं प्रस्ट भन्न चाहेको छैन । पत्रकार सम्मेलनमै डीएसपी काफ्लेले भने, 'हामीले कसको लिंक कहाँकहाँ छ भनेर हेरिरहेका छौँ, टाइमलाइनलाई जोडेर अनुसन्धान गरिरहेका छौँ, जेलमै बसिरहेका कसैले योजना बनाएको पनि हुनसक्छ, हामी चाँडै सबै कुरा सार्वजनिक गर्नेछौँ ।'

सन्तोषलाई पुस १४ गते कोहलपुरमा खुकुरी प्रहार गर्ने मल्ल धेरै पटक कारागार पुगेर रिगल ढकाललगायतका व्यक्तिलाई भेटेको पाइएको छ । तरुण दल क्षेत्र नम्बर ३ का तात्कालीन सभापति रिगल ढकाल चेतन मानन्धरको हत्या अभियोगमा कारागारमा छन् । जिल्लामा नाम चलेकै 'डन' मध्येका रिगल एक हुन् । राजधानीमा प्रहरीले 'डन' सफाया अभियान चलाएपछि रिगलले आफैं आत्मसमर्पण गरेका थिए ।

यो खुकुरी प्रहार प्रकरणमा प्रहरीले अहिलेसम्म ११ जनालाई पक्राउ गरेको छ । तर अनुसन्धान भइरहेका कारण प्रहरीले सबैलाई सार्वजनिक गरेको छैन । 'हामी चाँडै नै निश्कर्षमा पुग्नेछौँ र सबै तथ्य सार्वजनिक गर्नेछौँ', डीएसपी काफ्लेले भने, 'अहिले यसलाई राजनीतिक आवरणबाट नहेरौँ, यो ठूलै घटना हो हामी विशुद्ध अपराधको अनुसन्धान गरिरहेका छौँ ।'

प्रतिकृया दिनुहोस

थप सामग्री

Annapurna Post1140X100