MENU

तामाङ जातिकाे ताम्बा

अर्जुन पाख्रिन / अन्नपूर्ण टुडे बुधवार, पुस २७, २०७३ 1080 पटक पढिएको

Share This

संस्कृति

बोन्बो/धार्मिक परम्पराअन्तर्गत तामाङ संस्कृतिका वेत्ता हुन् ताम्बा अर्थात् डम्फुरे । अर्को अर्थमा मानव उत्पत्ति र प्रकृतिका विषयमा बोल्न सक्ने वक्तालाई ताम्बा भनिन्छ । इतिहासका विषयलाई डम्फू बजाएर प्रस्तुत गर्ने भएकाले ताम्बालाई डम्फुरे पनि भनिन्छ । ताम्बा नभएमा तामाङ समुदायमा विवाह र मृत्युजस्ता कर्मसमेत नहुने संस्कृतिविद् रविन्द्र ग्याबा तामाङ बताउँछन् । ताम्बाले स्यालगार पोङ (माटोको घैंटोमा छ्याङ) सगुन लिएर केटी माग्ने चलन छ । ताम्बाले जल, जमिन, हावा, पानी, देवता र मान्छेको उत्पत्तिका विषयमा गीत प्रस्तुत गरेर शुभकार्य गर्ने गरेका छन् ।

6196_1077438772296181_956240123840354305_nताम्बाले बजाउने डम्फूमा रहेको छाला, राउन्डका काठ र ३२ वटा किलाको आफ्नै ऐतिहासिक पाटो छ । प्राचीन कालमा पेङदोर्जे नाम गरेका म्हेम्हेले वनमा शिकार खेल्ने क्रममा मृग मारेर छाला घाममा सुकाएको किंवदन्ती पाइन्छ । यसपछि कोइराला काठको घेरो बनाएका रहेछन् । यही क्रममा बाँस काटेर स–साना ३२ वटा किला बनाएर कोइरालाको काठमा छाला ठोकेर डम्फू बनाएको इतिहास पाइन्छ ।

पेङदोर्जेले बजाएर हेर्दा ‘ताक धुइ धुइ’को धुन आएपछि वनका सबै जनावर, देवीदेवता खुशी भएर नाचेको ताम्बा काइतेन ह्वाइरिमठिम पुस्तक (२०१६ सन्तविर पाख्रिन) मा उल्लेख भएको पाइन्छ । डम्फू बजाउँदा डाँफे चरी नाचेको दृश्यबाट प्रभावित भएर पेङदोर्जे म्हेम्हेदेखि नै घुमेर नाच्ने किंवदन्ती पाइन्छ । ताम्बाहरूका अनुसार ३२ वटा किलाको शाब्दिक अर्थ ३२ कोटी देवी देवताको स्वरूपका साथै ३२ लक्षणले युक्त भन्ने तथ्य छ ।

ताम्बा चन्द्रबहादुर मोक्तानका अनुसार तामाङ समुदायमा विवाह गर्दा सिन्दुर हालि“दैन । पछिल्लो समयमा संस्कृतिमा विचलन आएपछि यदाकदा सिन्दुर हाल्ने गरिएको पाइन्छ । तर, सिन्दुर सिउँदोमा हाल्दैमा तामाङ जातिभित्र विवाहले मान्यता पाउँदैन । विवाह गर्दा ‘आठ दाम’, ‘बाह्र दाम’, ‘चार दाम’ भन्ने प्रचलन छ ।

विशेषगरी चार दामभित्र दुधेउली (आमा भाग), बुढेउली (बुवाको भाग), माइती, मावली, बुढी मावलीलाई भेटी चढाइन्छ । यसका लागि जति वटा भेटी छन्, सोही अनुसार पोङ (सगुन) साथै खोलाको माछा, कुखुराको भाले, नाङ्लोमा चामलको भातको डल्लासँगै खुकुरी राख्ने चलन छ । दुवै पक्षका ताम्बा, गान्बा (अगुवा), बोन्बो (झाँक्री) लामा राखेर चार दामको विषय उठान हुन्छ ।

ताम्बाले फलाक्छ, ‘१२ तामाङ १८ जातका सात गाउँका ताम्बा, घान्बा, लामा भद्र–भलाद्मी साक्षी राखेर फलानाको छोरो फलानाकी छोरीसँग आजको दिनबाट यसरी विवाह भएको छ । यो कुरा उत्तर हिमालका डाँफे चरीले पनि सुन्यो । दक्षिण समुद्रमा रहेको माछाले पनि सुन्यो है ।’ त्यसो भनेपछि अघि राखेको सगुन माइती, मावलीले उठाएर छ्योद छ्योद भन्ने चलन छ ।

अन्तमा, सबैले सुन्नु भयो नि भन्दै ‘गान्बा, गान्सुम, मावली, माइती, हाम्रो फलानो कुलकी चेलीलाई आजको दिनबाट फलानो कुलमा सर्ने गरी दिएका छौं । सबैको साक्षीमा रगत, मासु सबै सो कुलमा मिल्यो । तर, यसरी चेली दिए पनि चेलीको हाड भने दिएका छैनौं है । अघि नाङ्लोमा राखेको चामल, भातको डल्लो बेहुलीका दाजुभाइले काट्ने चलन छ । यसरी चार दाम भएपछि आमा, माइती, मावली, ताम्बा, गान्बा, लामा, बोन्बोलाई भेटी र सगुन दिने चलन छ ।

केटा पक्षका ताम्बाले केटी पक्षका ताम्बालाई चार दाम दिइसकेपछि बेहुली लान अनुमति माग्छ । अनुमति दिनुभन्दा अगाडि विभिन्न अड्को थाप्ने चलन छ । यस्तै, माटोको भाँडामा सगुन पोङमा (कोको–म्हेन्दो), टोटालाको फूल, धुपौरोमा धुप राखेर ताम्बाले कुल देवतालाई साङ सेर्गेम गर्दै ताम्बाहरूलाई हार्दिकतापूर्वक विदा माग्दै साइनोले पुनः जुरेमा डम्फू लिएर आस्याङ सम्धीको आँगनमा आउने वचन दिन्छन् ।

ताम्बाहरूले भन्ने क्रममा ‘छोरीलाई केटा पक्षलाई सुम्पिए पनि छोरी बितेपछि माइतीको उपस्थितिबिना लास चलाउन नपाउने सर्त प्राचीन कालमा राखेकाले अहिले पनि सोही संस्कृति रहेको छ ।’ त्यसो भएपछि आफ्नी चेलीको मृत्युको कारण माइतीले पाउँछन् । अहिले पनि तामाङ संस्कृतिमा छोरी, चेलीको मृत्यु संस्कारमा माइतीको उपस्थिति अनिवार्य छ । माइती टाढा भएको खण्डमा नजिकका दाजुभाइलाई माइती बनाए लास चलाउने संस्कृति तामाङभित्र छ ।

प्रतिकृया दिनुहोस

Annapurna Post1140X100