MENU

पृथ्वी जयन्ती पुनर्जागृत गराउने प्रयास

डा. हीराकाजी मानन्धर बुधवार, पुस २७, २०७३ 1844 पटक पढिएको

Share This

आज पृथ्वी जयन्ती । मुलुकका विभिन्न भागमा विभिन्न कार्यक्रमको आयोजना गरी यो जयन्ती मनाइँदै छ र आधुनिक नेपालका निर्माता बडामहाराजधिराज पृथ्वीनारायण शाहको योगदानको स्मरण गरिँदैछ । यसर्थ पनि आजको दिन राष्ट्रप्रेमी नेपाली जनता पृथ्वीनारायणलाई सम्झनेछन् । मुलुक गणतन्त्रमा प्रवेश गरेपछि राज्यस्तरमा पृथ्वी जयन्ती मनाउने क्रम रोकिएको छ ।विद्यार्थी कालमा हामीले पढ्ने गरेको पृथ्वीनारायण शाहप्रतिको सम्मान आज पनि उत्तिकै छ ।

स्कुले विद्यार्थी छँदा सुनेको थिएँ- गोरखनाथ बाबाले पृथ्वीनारायणको ११ पुस्तासम्मलाई राजा हुने आशीर्वाद दिएका थिए रे ! हुन पनि एघारौं पुस्तामै आएर शाहवंशीय राजतन्त्र सकियो । (१) पृथ्वीनारायण, (२) प्रतापसिंह, (३) रणबहादुर, (४) गीर्वाणयुद्ध, (५) राजेन्द्र, (६) सुरेन्द्र, (७) त्रैलोक्य (राजा नहुँदै बितेका), (८) पृथ्वी, (९) त्रिभुवन, (१०) महेन्द्र र (११) वीरेन्द्र ।

राजा वीरेन्द्र र ज्ञानेन्द्र एउटै पुस्ताका हुन् । कसैले भन्लान्, युवराज हुँदै बितेकाले त्रैलोक्यलाई गणना गर्न मिल्दैन । हिसाब पुस्ताको हो, राजाको संख्याको होइन । कसैले भन्लान्- दीपेन्द्र पनि त केही दिनलाई राजा घोषित भए । त्यसले १२ पुस्ता भयो नि ! त्यसैबेला मरिसकेको विश्वास गरिएका दीपेन्द्रलाई केही दिन राजा घोषित गरेको मात्र हो, राजा भएर उनी गद्दीमा बसेका होइनन् । त्यतिखेर दीपेन्द्रलाई राजा घोषणा गर्नुको पछाडि कारण होलान् ।

गोरखाका राजा पृथ्वीनारायणले त्यसबेलाका बाईसी-चौबीसीलगायत नेपाल खाल्डोका तीन राज्य काठमाडौं (कान्तिपुर), पाटन (ललितपुर) र भादगाउँ (भक्तपुर) मा आक्रमण गरी विजय हासिल गरेका थिए । सीधा अर्थमा गोरखा राज्यको विस्तार थियो त्यो । पृथ्वीनारायणले पटकपटकको आक्रमणपछि विजयी ती राज्य आधुनिक नेपालमा मिलाएका थिए ।

कीर्तिपुरको लडाइँका क्रममा जित हात पारेपछि उनले शत्रुको पराक्रमलाई सम्मान गर्नुको सट्टा बदला लिए । त्यो उनको वीरता थिएन । लडाइँमा शत्रुको सामना गर्नु कर्तव्य र वीरता हो । पृथ्वीनारायणले विभिन्न ससाना राज्यमाथि बल प्रयोग गरेरै कब्जामा लिएका थिए, कूटनीतिक चाल र जनमत बटुलेर राज्यहरू गाभेका थिएनन् । अझ बलमात्र होइन, छल पनि गरेका थिए । इन्द्रजात्रा मनाइरहेको बेला काठमाडौंमाथि चारैतिरबाट आक्रमण गरेर कब्जामा लिएका थिए ।

एउटा कालखण्डमा काठमाडौं, पाटन र भादगाउँ र वरिपरिको भाग मिलेर एउटा राज्य बनेको थियो । त्यसलाई नेपाल खाल्डो भनिन्थ्यो । लिच्छवीकालमा नेपालको स्वरूप त्योभन्दा बृहत् थियो । बाह्रौं शताब्दीदेखि नेपाल खाल्डोमा मल्लकाल सुरु भयो । पन्ध्रौं शताब्दीको अन्त्यतिर यक्षमल्लले नेपाल खाल्डोलाई आफ्ना तीनवटा छोराहरूका लागि कान्तिपुर, ललितपुर र भक्तपुरमा टुक्रयाए । अर्थात् छोराहरूलाई शासन गर्न राज्य टुक्र्याएरु बाँडिदिए । सोह्रौं शताब्दीमा आएर मल्लकाल समाप्त भएको थियो ।

विश्व इतिहास हेर्दा र पढ्दा त्यसबेला एकले अर्कोमाथि आक्रमण गरेर आफ्नोमा गाभ्ने एउटा अभियानै थियो । राजाको कर्तव्य र धर्म पनि त्यही थियो । जसले त्यसो गर्न सक्थ्यो, ऊ पराक्रमी र चक्रवर्ती मानिन्थ्यो । यो भारत वर्षलगायतका क्षेत्रमा मात्र होइन, विश्वका अन्यत्र पनि त्यही थियो । गुणगान र पराक्रमसहितको इतिहास जित्नेको लेखिन्छ । हार्नेको जहिले पनि अवगुणसहित बद्नाम मात्रै गरिन्छ ।

जर्मनीका हिटलर त्यसबेला विजयी भएको भए आज उनको दुर्गुण मात्र सुनिन्थ्यो होला । इतिहासले यो पनि देखाउँछ, लडाइँमा हारेर अरूको अधीनमा गइसकेका राज्य फेरि जितेर फर्काएका उदाहरण पनि छन् । तर त्यसबेला पृथ्वीनारायणले हराएका मल्ल राजाहरूलगायतले फेरि फर्काएर लिने चेष्टा गरेको खासै पाइन्न ।

अहिले विभिन्न कोणबाट पृथ्वी जयन्तीलाई पुनः र्जागृत गराउने प्रयास भइरहेको छ । केही दिनअघि मन्त्रिपरिषद्को बैठकमा एकजना वरिष्ठ मन्त्रीले उक्त दिन बिदा दिनुपर्ने प्रस्ताव लगेका थिए । यसलाई सुखद सन्देशका रूपमा लिनुपर्छ ।

पृथ्वीनारायणले जेजस्तो महत्त्वाकांक्षा राखेर नेपाल जितेपछि भनेका थिए, 'मेरो सानो दुःखले आज्र्याको मुलुक होइन, सबै जातको साझा फूलबारी हो, सबैलाई चेतना भया ।' हो, उनले दुःख गरेकै हुन् । उनी आफ्नो ज्यानको बाजी थापेर एउटा सानो गोरखाको राजाबाट ठूलो नेपालको राजा बनेका थिए । त्यतिखेरको सानो नेपाल खाल्डोलाई ठूलो नेपाल उनैले बनाएका थिए । यसर्थ उनको देनलाई स्विकार्नैपर्छ ।

पृथ्वीनारायणपछिका राजाहरूको समय राज्य विस्तारमा बितेको थियो, तर बीचका राजाहरूको समय राणाहरूको कठपुतली भएर बित्यो । पछिल्ला राजाहरूको समय सक्रिय राजतन्त्र र प्रजातन्त्र (अहिले लोकतन्त्र) को खिचातानीमै बित्यो । अन्ततः नाटकीय ढंगले राजतन्त्र समाप्त भयो । त्यसका पछाडि बाह्य र आन्तरिक जेजस्तो खेल र षडयन्त्र भए पनि त्यतिखेर त्यसलाई धेरैले सहज रूपमा लिए ।

परिस्थितिलाई बुझेरै ज्ञानेन्द्र शाहले दरबार छोडे । त्यसलाई सबैले एउटा युगान्तकारी परिवर्तनको रूपमा लिए । राष्ट्रिय संस्थाहरूको नाम फेर्नेदेखि लिएर राजतन्त्रसँग जोडिएका राष्ट्रिय दिवसहरू हटाइए । तीमध्ये पुस २७ गते राष्ट्रिय एकता दिवसको रूपमा मनाउने गरेको पृथ्वी जयन्ती पनि हो ।

अहिले विभिन्न कोणबाट पृथ्वी जयन्तीलाई पुनर्जागृत गराउने प्रयास भइरहेको छ । केही दिनअघि मन्त्रिपरिषद्को बैठकमा एकजना वरिष्ठ मन्त्रीले उक्त दिन बिदा दिनुपर्ने प्रस्ताव लगेका थिए । यसलाई सुखद सन्देशका रूपमा लिनुपर्छ । अहिले हामी पृथ्वी जयन्तीलाई लिएर विभाजित छौँ । तर हामीले के बिर्सनु हुँदैन भने हाम्रो मुलुक नेपाल हो, हामी नेपाली हौँ । आजको नेपाल निर्माणमा पृथ्वीनारायणको प्रमुख देन छ, त्यसको सूत्रधार उनै हुन् । यस आधारमा उनलाई सम्झनु सबै नेपालीको कर्तव्य हो ।

 

hamrotoolsdotcom

प्रतिकृया दिनुहोस