MENU

पृथ्वी नीति झनै सान्दर्भिक

सञ्जीव पौडेल बुधवार, पुस २७, २०७३ 723 पटक पढिएको

Share This

मानव चेतनाको विकाससँगै सोहीअनुकुल समाज र परिस्थितिप्रतिको बुझाइमा सापेक्षित बदलाब आउन सक्छ । तर इतिहास हेर्ने, विश्लेषण गर्ने र परिभाषित गर्ने हाम्रो दृष्टिकोण तात्कालिक समय र व्यवस्थाकै कसीमा हुनुपर्छ । झन्डै चार सय वर्षअघिको विश्व व्यवस्था, समाज संरचना, मानव विकास र चेतना स्तरलाई आजको समुन्नत, समावेशी लोकतान्त्रिक राज्य व्यवस्थाका मान्यतासँगको निरपेक्ष तुलनाबाट इतिहासको सही मूल्यांकन हुन सक्दैन, यस्ता प्रयत्नहरू जायज हुन सक्दैनन् ।

त्यस अवस्थामा राष्ट्र निर्माणका आधारहरू युद्ध नै थियो । आजका प्रायः सबै राष्ट्रको जन्म युद्धमार्फत भौतिक शक्ति र हतियारद्वारा मानव रगत बगाएरै भएका छन्, जसलाई आजको समयले, आजको समाज र चेतनाले मानवाधिकारविरोधी वा गलत आपराधिक हर्कतको रूपमा प्रस्तुत गर्न सक्ला ।

तर आधुनिक विश्व व्यवस्थाले बीसौं शताब्दीले अघि सारेका मानवाधिकार, लोकतन्त्र र देशहरूको सार्वभौमिकताका मान्यता र अवधारणाको जन्म र विकास नै नभएको त्यो समय र कालखण्डका ती घटना-परिघटनाको यथार्थपरक मूल्यांकन आजको एक्काइसौं शताब्दीका मान्यताहरूको चस्माबाट कदापि गर्न सकिँदैन ।

आजको युगमा समेत विश्व भूगोलका विभिन्न क्षेत्रमा नैसर्गिक मानवाधिकार र सार्वभौमिकतामाथिका हमलाहरू विभिन्न बहानामा झेल्दै र भोग्दै आउनुपरेको छ भने शताब्दीऔं अगाडि नेपाल निर्माणका प्रक्रियासँग जोडिएका घटनालाई आधार मानेर पृथ्वीनारायण र समग्र एकीकरण प्रक्रियामाथिको प्रहार कुनै पनि हालतमा स्वीकार्य हुन सक्दैन ।

पृथ्वीनारायणले अवलम्बन गरेका नीति, पद्धति तात्कालिक समयको नेपाली चेतनाभन्दा निकै माथिल्लो स्तरका र दूरदर्शितापूर्ण रहेको तथ्य उनका 'दिव्योपदेश' हरूले पुष्टि गरेका छन्, जसका अधिकांश सन्देश नेपालको सन्दर्भमा आजसम्म पनि उत्तिकै सान्दर्भिक रहे भने यिनै समृद्ध र स्वाधीन नेपालको भविष्यलाई निर्दिष्ट गर्ने असाधारण मार्गचित्र बन्न सक्छन् ।

उनले कल्पिएको सबै जाति संस्कृतिको साझा फूलबारी बनाउने संकल्प, सबै विविधताको सम्मान र सबैले प्रस्फुटन हुने समान अवसर सिर्जना गर्ने साझा राष्ट्रियता निर्माणका अभिप्राय, नेपालको भूअवस्थिति र छिमेकीबारे उनको सजगता, कुशल कूटनीतिक अभ्यास सञ्चालन, न्यायपूर्ण राज्य, सदाचार र सुशासनप्रतिको प्रतिबद्धता, औद्योगीककरण, कृषि र बस्ती विकासका सम्बन्धमा उनका प्रखर विवेकशील नीति आदीको अवलम्बन साँचो अर्थमा नेपाल र नेपालीको अस्तित्व र पहिचानको रक्षा तथा समुन्नतिको मुख्य आधार बन्न सक्थ्यो ।

तर उनीपछिका तेस्रो पुस्ता पुग्दानपुग्दै उत्तराधिकारी वा शासकहरूमा यिनलाई आत्मसात गर्न सक्ने त्यो तहको खुबी देख्न सकिएन । दरबार केवल भारदार र आन्तरिक स्वार्थसमूहहरूको टकराव तथा घातप्रतिघातको क्रीडास्थल मात्रै बन्न पुग्यो, इतिहासको लामो कालखण्डसम्म । यसरी पछिल्ला शासकीय कमजोरीकै उपज नेपालमा अझै थुप्रै आसमानता यद्यपि कायम रहे, भ्रष्टाचार, गरिबी, पराधीनता र विकासहीनताको चक्रव्युहमा रुमल्लिनुपर्‍यो ।

तर राजतन्त्रसँग या शाहवंशसँग मात्रै पृथ्वीनारायणलाई निरपेक्ष ढंगले जोडेर ती सबै उनीपछिका असफलताको दोषको उनलाई बोकाउँदै समग्र नेपाल राष्ट्र निर्माण अभियानलाई नै गलत ढंगले परिभाषित गर्नेजस्तो निन्दनीय प्रवृत्ति किमार्थ न्यायसंगत मान्न सकिँदैन ।

एकीकरण अभियानको सफलता नेपालभूमिको स्वाभिमानको विजयसँग गासिँदा यसले मूलतः अंग्रेज साम्राज्यवादको अहंमाथि लज्जास्पद प्रहार गर्‍यो । धर्म विस्तारमार्फत संसारलाई इसाईकरण गर्ने र यो पूर्वीय दर्शन र संस्कृति (बौद्ध, वैदिक र किराँत) को सम्पन्न आदिभूमिको पहिचान नामेट पार्ने उद्देश्यमा लागेको तगारोको प्रतिवादका रूपमा पश्चिमा इसाई पादरीहरूले इतिहास लेखनमा बहुत प्रोपोगन्डाहरू खडा गरेको पाइन्छ ।

त्यत्रो ठूलो युद्ध अभियानमा स्वाभाविक रूपमा ठूलो धनजनको नोक्सान भएको छ, तर एकाध घटनालाई अतिशयोक्तिपूर्ण ढंगले चित्रण गरिएका छन् । स्मरणीय छ, पृथ्वीनारायणका एकीकरण अभियानमा राज्यहरू निःसर्त एकीकरणलाई स्विकार्दै रक्तपातबिना नै नेपालमा समाहित भएका अवस्था पनि थुप्रै थिए । यस्ता घटनालाई उपेक्षा गरेर केवल नकारात्मक पाटोको मात्रै चर्चा सबै प्रतिशोध र बदलाको उपज सिर्जित अफवाह थिए भन्ने तथ्य सत्यको नजिक रहेको बुझ्न कठिन छैन ।

गोरखा राज्यविस्तारकै रूपमा सुरु भएको देखिए पनि कुनै एक जात, धर्म वा सम्प्रदायको मात्रै संलग्नता र सहभागिताले जटिल भूगोल र चरम विभक्तताको तात्कालिक परिवेशमा यो विशाल राष्ट्र निर्माण वा एकताको अभियानले मूर्तरूप पाउन सम्भव थिएन । वंशु गुरुङ, कालु पाण्डे, जयन्त रानामगर, बिसे नगर्ची, सर्वजित राना, जसवीर कामीजस्ता प्रतिनिधि पात्रहरूको चर्चाले उक्त अभियानमा धेरै समुदायको संलग्नताको पुष्टि गर्छ ।

यसर्थ उक्त अभियानले त्यो ऐतिहासिक आवश्यकताको महसुससँगै सबै जातजाति र समुदायको साथ र सहभागिताले नै नेपाल राष्ट्रको जन्मलाई सम्भव तुल्याएको थियो । र एकीकरणपछि पनि अधिकांश समुदायगत परम्परा, रीतिरिवाज र संस्कृतिको निरन्तरता दिइएकै पाइन्छ उपत्यकाका जात्रा संस्कृति, कुमारीप्रथालगायतलाई पृथ्वीनारायणले सहज स्वीकार गरेको प्रसंग उल्लेखनीय छ ।

राष्ट्रनिर्माणको जग नै खल्बल्याउने हर्कत बढिरँहदा पृथ्वीनारायण र उनको नीति र एकीकरण अभियानको सान्दर्भिकता झनै पुष्टि भएको छ ।

आज नेपाल अनेकौं बहुराष्ट्रिय स्वार्थहरूको निर्वाध र खुला प्रयोगशाला बनिरहँदा इतिहासबाट नश्लीय र क्षेत्रीय संकीर्णताका संकुचित दायरा खोतल्ने प्रयत्न गरिँदैछ । अग्रगमनका एजेन्डाका नाममा नेपालमा बहुराष्ट्रियताका अवधारणा लाद्ने प्रायोजित प्रयास हुँदैछन् । गौरवपूर्ण इतिहासको निशेध गरेर तात्कालिक परिस्थितिजन्य आवश्यकताले सिर्जित एकीकरणको तथ्य बंग्याउने भ्रामक प्रयत्नमा नेपाली भविष्यलाई इतिहासको उल्टो बाटोमा धकेल्न, जोडतोडले खोजिँदैछ ।

नेपाली परिवेशको मौलिकता र आवश्यकतालाई गम्भीर ढंगले अवमूल्यन गरिँदैछ । यसले अन्ततोगत्वा जसरि पनि नेपाली पहिचान र इतिहासको विरासत ढाल्न उद्यत् कथित क्रान्तिकारी अग्रगमन स्वाभिमानी नेपालीको निम्ति असह्य बन्दैछ ।

विडम्बना हामीकहाँ इतिहासका धरोहर, संरचनालाई नष्ट गर्न अभियान छेडिए । सालिकहरू तोड्नेजस्ता असहिष्णु र घृणित प्रवृत्ति पनि देखिए । राष्ट्रिय एकताको गौरवबोधको प्रतीक पुस २७ लाई पूरै दुत्कारिएको छ । नेपालीहरू स्वयं राष्ट्र निर्माणको इतिहासको अपव्याख्या र अवमूल्यन गर्दै कृतघ्न बन्नुजस्तो दुर्भाग्यपूर्ण परिस्थिति देखियो, जसको मूल्यांकन निकट भविष्यमा हुने निश्चित छ । अग्रगमनको खोक्रो उन्मादी मत्थर हुने नै छ ।

जाति, भाषा, धर्म, संस्कृतिजस्ता हरेक सामाजिक आयामहरूको विविधता र तिनको सद्भाव र सहिष्णुतापूर्ण अन्तर्संघुलन नै आधुनिक नेपाल राष्ट्र, नेपाली राष्ट्रियता र यसको साझा पहिचानको आधार हो । आजभन्दा तीन शताब्दीअघि नै पृथ्वीनारायणद्वारा महसुस गरी आत्मसात गर्ने प्रयत्न गरिएको यसै अवधारणाको अवलम्बन नै स्वाधीन, समृद्ध र आत्मनिर्भर नेपाल राष्ट्रको हाम्रा सपना पूरा गर्ने एकमात्र विकल्प देखिन्छ ।

तर वर्तमानमा यही आधारमाथि निर्मम प्रहार गरी राष्ट्रनिर्माणको जग नै खल्बल्याउने हर्कत बढिरँहदा राष्ट्रनिर्माता पृथ्वीनारायण र उनको नीति र एकीकरण अभियानको सार्थकता, औचित्य र सान्दर्भिकता झनै पुष्टि भएको छ ।

 

प्रतिकृया दिनुहोस