MENU

विमानस्थल तस्करको अड्डा

अन्नपूर्ण बुधवार, पुस २७, २०७३ 7424 पटक पढिएको

Share This

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट झन्डै १५ करोड रुपैयाँबराबर अर्थात् ३४ किलो सुन बरामद भएपछि विमानस्थलमा खटिएका भन्सार र प्रहरीबीच आरोप-प्रत्यारोपको सिलसिला जारी छ, जुन अस्वाभाविक हैन । तर त्यो घटनाको सिलसिलामा गिरफ्तार एकजनाले दिएको बयानले तस्करीको आयतन हरेक दिन विकराल हुँदै गएको देखिन्छ ।

उनका अनुसार विगत एक वर्षमा मुलुकको एक मात्र विमानस्थलबाट तीन सय किलोभन्दा बढी सुन उनले तस्करीमार्फत बाहिर ल्याएको बयान दिएका छन्, घटनाको अनुसन्धान गरिरहेका सीआईबीलाई । पक्कै पनि यो बयान दिने नेपालगन्जका विनोद शाही एक्ला व्यक्ति हैनन्, त्रिभुवन विमानस्थलबाट सुन तस्करी गर्ने । त्यसबाट तस्करी विराट् आयतनबारे सामान्य अनुमान लगाउन सकिन्छ ।

विमानस्थलभित्र भन्सार र सुरक्षाको जिम्मा लिएका प्रहरीबीच यो तस्करीको जिम्माबाट पन्छिने प्रतिस्पर्धा चलेको छ । एक हदसम्म त्यसलाई उनीहरूको अधिकारका रूपमा लिन सकिन्छ, निर्दोषिता सावित गर्न । तर तथ्यका आधारमा जारी छानबिनले निष्कर्ष निकाल्ने नै छ । घटनामा दोषी, तस्करी गर्ने-गराउने अनि त्यसबाट 'अन्तिम' फाइदा लिनेहरूको पहिचानसँगै उनीहरूलाई जवाफदेहीको घेरामा ल्याइएन भने यो छानबिन अर्को एउटा अर्थहीन अभ्यास सावित हुनेछ ।

सरकारका दुई निकायहरूले आफू निर्दोष रहेको, प्रहरीले विमानस्थलको भन्सारले आफूलाई सन्दिग्ध सामानमा पहुँच दिने नगरेको आदि अभिव्यक्तिबाट चोखिन खोजे पनि पहिलो प्रश्न सम्बन्धित निकायहरूका राजनीतिक हाकिमतिर तेर्सिन्छ । त्यहाँ उपल्लो तहका खास कर्मचारीहरू खटाउन ती राजनीतिक नाइकेहरूले चासो लिएका छन् कि छैनन् ? छानबिन प्रहरीको सीआईबीले गरिरहँदा राजनीतिक नाइकेहरूले 'नैतिक जिम्मेवारी' लिँदै राजीनामा गर्ने कल्पना गर्न सकिन्न नेपालमा, तर उनीहरूले राजनीतिक हस्तक्षेपसम्म गरेनन् भने त्यो ठूलो कुरो हुनेछ ।

त्यस्तै सीआईबीले सुन कहाँबाट त्रिभुवन विमानस्थलसम्म अनि त्यहाँबाट पिंगलस्थानसम्म कसरी पुर्‍यायो, त्योसँगै तस्करी सञ्जालको पूर्ण विवरणसँगै त्यो कसको आदेशमा भयो अनि त्यसको अन्तिम फाइदा या लाभ कोसम्म पुग्दै थियो, त्यसबारे विवरण बाहिर ल्याउन सकेन भने त्यो एउटा अर्को कर्मकाण्डी छानबिन सावित हुनेछ । अहिले यो तस्करी घटनामा गिरफ्तारी हुनु र सुनको एउटा अंश नियन्त्रणमा लिनुले प्रहरीले चाहेमा यो सञ्जालका समग्र पक्ष बाहिर आउने मार्गप्रशस्त गरेको आशा गर्न सकिन्छ ।

सुन खरिद या तस्करीको पहिलो बिन्दु नेपाल बाहिर रहेको तथ्य सार्वजनिक भएको छ । तर त्यसको अन्तिम गन्तव्य नेपाल नै थियो या बाहिर, त्यो स्पष्ट आएको छैन । नेपालबाहिरका मुलुक र व्यक्तिहरू संलग्न छन् त्यसमा भने इन्टरपोल या सम्बन्धित मुलुकका तस्करी छानबिन र नियन्त्रण निकाय एजेन्सीहरूको सहयोगसमेत वाञ्छनीय हुनेछ । त्यस्ता सहयोग र संदिग्धहरूबारे सूचना आदान-प्रदानबाट यसबारे समग्र तथ्य बाहिर आउने आशा गर्न सकिन्छ ।

प्रतिकृया दिनुहोस

Dish latest