MENU

जंगली हात्तीले पर्यटकको ज्यान लियो

सूर्यप्रकाश कँडेल बुधवार, पुस २७, २०७३ 8269 पटक पढिएको

Share This

चितवन: चितवन राष्ट्रिय निकुञ्जको खोरसोरस्थित हात्ती प्रजनन केन्द्र अवलोकन गर्न परिवारसहित चितवन आएकी एक भारतीय पर्यटकको मंगलबार जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको छ ।

चितवन प्रहरी कार्यालयका अनुसार भारतको गुजरातकी २२ वर्षीया स्नेहा कानपरा परिवारसहित हात्ती प्रजनन केन्द्रमा छावा हेर्न गइरहेका बेला जंगली हात्तीको आक्रमणमा परेकी हुन् ।

चितवन राष्ट्रिय निकुञ्ज घुम्न आमा, बुबा र भाइसहित सोमबार सौराहा आएकी स्नेहा होटेल पार्कल्यान्डमा बसेकी थिइन् । मंगलबार बिहान नौ बजेतिर होटेलका गाइड लिएर आमा, बाबु र भाइसँग हात्ती प्रजनन केन्द्रमा जाने क्रममा बूढी राप्ती नदीको फड्के (बाँसको पुल) तरेपछि खुला चौरमा उनी साढे नौ बजेतिर एक्कासि जंगली हात्तीको आक्रमणमा परिन् ।

'खुला चौरनजिकैको जंगलमा रहेको जंगली हात्तीले पहिले एकजना गाइडलाई लखेटेछ', होटेल पार्कल्यान्डका सञ्चालक एवं क्षेत्रीय होटेल संघ चितवनका तृतीय उपाध्यक्ष अञ्जनकुमार श्रेष्ठले भने, 'चौरमा हिँडिरहेकै बेला अकस्मात् जंगली हात्तीले हाम्रो गेस्ट (स्नेहा) लाई सुँढले समातेर पर मिल्काएछ । हाम्रो गाइडले रोक्न खोज्दा उनलाई पनि हात्तीले लखेटेछ । गाइड घटनाबाट डराएर अहिलेसम्म बेहोसजस्तै छन् । सौराहामा पहिलोपटक यस्तो दुःखद् घटना भयो ।'

चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत एवं सूचना अधिकारी नुरेन्द्र अर्यालले हात्ती प्रजनन केन्द्रमा रहेका ढोईलाई बर्सेनि सताउँदै आएको रोनाल्डो नामको जंगली हात्तीको आक्रमणबाट भारतीय पर्यटकको मृत्यु भएको जानकारी दिए । 'जंगली हात्ती रोनाल्डोले सुँढले समातेर फ्याँकेको रहेछ', घटनास्थलमा पुगेका अर्यालले भने, 'मृतक युवतीको शरीरमा ठूलो चोट छैन । टाउकोमा चोट लागेको देखिन्छ । हात्तीको आक्रमणपछि झस्केर वा टाउकाको चोटका कारण उनको मृत्यु भएको हुनसक्छ ।'

घटनास्थल हात्ती प्रजनन केन्द्रबाट एक सय ५० मिटर पश्चिमतर्फ रहेको जानकारी उनले दिए । 'हात्तीसारका कर्मचारीले त्यतातिर नजानू, जंगली हात्ती लुकेको छ भनेर सचेत गराएका रहेछन्', अर्यालले भने, 'जंगली हात्ती हेर्ने लोभमा जंगली हात्ती भएतिरै जाँदा अकस्मात् जम्काभेट भएपछि हात्तीले आक्रमण गर्दा दुःखद् घटना भयो ।'

जंगली हात्तीको आक्रमणबाट गम्भीर घाइते भएकी स्नेहालाई उपचारका लागि भरतपुरतर्फ ल्याउँदै गर्दा बाटोमै मृत्यु हुन पुगेको चितवन प्रहरीले जनाएको छ । स्नेहाको शव शल्यपरीक्षणपछि आफन्तलाई जिम्मा लगाइएको छ ।

Yamaha

प्रतिकृया दिनुहोस

dishhomeapp