MENU

दीक्षान्त कि मेला ?

रामेश्वरी पन्त / अन्नपूर्ण टुडे मंगलवार, पुस २६, २०७३ 664 पटक पढिएको

Share This

टिप्पणी

त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले १४ पुसमा ४२ औं दीक्षान्त समारोह आयोजना गर्‍याे । यस वर्ष १८ जेठ ०७२ देखि १ असार ०७३ सम्म स्नातक, स्नातकोत्तर, एमफिल र विद्यावारिधि उत्तीर्ण गरेका करिब ८४ हजारमध्ये करिब १० हजार दीक्षित भएको त्रिविको भनाइ छ । उत्तीर्णको तुलनामा अत्यन्तै न्यून संख्याले मात्र दीक्षान्तमा उपस्थिति जनाए पनि दीक्षित हुनेको संख्या गुणात्मक रूपले उल्लेख्य भएको उपकूलपति कार्यालयको दाबी छ । हुन त, कुनै पनि विद्यार्थीको योग्यताको मापदण्ड दीक्षान्त समारोहको उपस्थितिले तय गर्ने होइन ।

तर पनि विश्वविद्यालयले औपचारिक रूपले समारोहको आयोजना गरी दीक्षित भएको घोषणा गर्नुलाई विश्वभरी नै गौरवपूर्ण अवसरका रूपमा लिने गरिन्छ । त्रिविको दीक्षान्तको सन्दर्भमा उक्त विश्वविद्यालयको पाठ्यक्रम र त्यहाँबाट बर्सेनि दीक्षित हुने जनशक्तिको गुणस्तरबारे बहस गर्नु पनि सान्दर्भिक हुन्छ । सैद्धान्तिक रूपमा सबल तथा व्यावहारिक र जीवनोपयोगी शिक्षा नै आजको आवश्यकता हो तर हाम्रो शिक्षा प्रणाली परम्परागत तरिकाले चलेको देखिन्छ ।

Rameshwori-Pantत्रिविले उत्पादन गरेको जनशक्ति कत्तिको गुणस्तरीय छ भनेर मापन गर्ने कुनै सरकारी संयन्त्र पनि छैन । २०७२/०७३ मा दीक्षित हुन योग्य विद्यार्थीको संख्या हेर्दा त्रिभुवन विश्वविद्यालयले मात्र वर्षमा करिब लाखको हाराहारीमा स्नातकदेखि विद्यावारिधिसम्मको योग्यताका शिक्षित जनशक्ति उत्पादन गर्ने रहेछ । त्रिविबाहेक नेपालका अन्य र विदेशी विश्वविद्यालयहरूबाट उत्पादन हुने शिक्षित जनशक्तिको हिसाब जोड्ने हो भने नेपालमा बर्सेनि एक लाखभन्दा बढीको संख्यामा शिक्षित जनशक्ति तयार हुने अनुमान लगाउन सकिन्छ । उत्पादित जनशक्तिको तुलनामा सरकार र निजीलगायत अन्य गैरसरकारी क्षेत्रले दिनसक्ने रोजगारीको अवसर नगण्य छ ।

पहिलो कुरा त नेपालको शिक्षा प्रणाली नै अव्यावहारिक र अवैज्ञानिक छ । व्यावहारिक र प्रयोगात्मकभन्दा पनि घोकेर लेखी उत्तिर्ण हुने परिपाटीले गर्दा नेपालमा शिक्षित बेरोजगारको संख्या बर्सेनि थपिने क्रम बढ्दो छ । गुणस्तरको कुरा गर्ने हो भने केन्द्रीय क्याम्पसबाहेक अन्य अधिकांश क्याम्पसमा आंशिक र करार शिक्षकले झारो टार्ने शैलीमा पढाउने अनि विद्यार्थीले पनि ‘गेसपेपर’ घोकेर वा सारेर परीक्षा दिने परिपाटी व्यापक छ ।

‘थेसिस’ तयार गर्ने र बुझाउने र मूल्यांकन गर्ने कुरामा पनि गम्भीरता देखिँदैन । अन्य संकायको यसै भन्न नसके पनि मानविकीका अधिकांश थेसिस नक्कली वा अरूबाटै तयार भई पेश हुने गर्छन् । यस्तो परिपाटीमा गुणस्तरीय शिक्षाको अपेक्षा कसरी गर्ने ? उत्पादित जनशक्तिलाई स्वदेशमा रोजगारका अवसर सिर्जना गर्नेेतिर पनि सरकारको ध्यान जान सकेको छैन । तर, रोजगारका अन्य अवसरको उपलब्धता नहुँदा लोकसेवा आयोगले माग गर्ने विज्ञापनहरूमा आवश्यकताभन्दा सयौं गुणा बढी उम्मेदवारले दरखास्त दिन्छन् ।

हरेक वर्ष दोहोरिने यस प्रक्रियामा लाखौं शिक्षित बेरोजगारले बर्सेनि लोकसेवाको फारम भर्ने र परीक्षा दिने गरेर समय बिताइरहेका हुन्छन् । उदाहरणका लागि ०७२/७३ मा लोकसेवा आयोगले प्राविधिक र अप्राविधिक सबैगरी जम्मा नौ हजार चार सय ८७ संख्यामा पदपूर्ति हुनेगरी दरखास्त आह्वान गरेकोमा कुल पाँच लाख ९५ हजार ३० जनाको दरखास्त परेको छ । सरकारी आवश्यकता र बेरोजगार जनशक्तिबीचको आवश्यकताको यो भयावह खाडलको अन्तिम परिणाम आखिरमा देशभित्रको योग्य र ऊर्जाशील जनशक्तिको पलायन नै हो ।

आज असंख्य स्नातक र स्नातकोत्तरहरू समेत आफ्नो र परिवारको पेट पाल्न विश्वविद्यालयका प्रमाणपत्रहरू सिरानीमुनि थन्क्याएर खाडी राष्ट्र र संसारका अन्य देशमा पनि काम गर्न जान बाध्य छन् । त्रिभुवन विश्वविद्यालयले ८४ हजारलाई दीक्षित गरियो भनेर गर्व गरिरहँदा त्रिविले उत्पादित जनशक्तिलाई देशभित्रै उचित रोजगारी सिर्जना गर भनेर राज्य संयन्त्रलाई घचघच्याउन र मार्गनिर्देशन गर्न सकेको छैन ।

वर्षमा केही हजार शिक्षितले लोकसेवालगायत केही सरकारी र निजी क्षेत्रका बैंकिङ सेवालगायत उद्योग व्यवसायमा अवसर पाए पनि बाँकी लाखौंको संख्यामा बिदेसिन बाध्य छन् । देशको ऊर्जाशील जनशक्तिलाई देशभित्रै परिचालन गर्नुपर्छ भन्ने मनशाय कुनै पनि सरकारको देखिएन । दीक्षान्त समारोहलाई ‘रमाइलो गर्ने र सेल्फी खिच्ने मेलाजस्तो’ भन्दै टीका–टिप्पणी पनि गरेको सुनियो । हुन पनि, करिब १० हजारको भीड जम्मा हुँदा एक किसिमको मेलाजस्तो त हुने नै भयो ।

दीक्षान्त समारोहको व्यवस्थापकीय पक्षको कुरा गर्दा दूरीका कारण मञ्चमा कस–कसको उपस्थिति रह्यो भन्ने कुरा ठम्याउन नसक्ने अवस्था एकातिर थियो भने अर्कातिर समारोहमा दीक्षितहरूलाई आकर्षित गर्नसक्ने प्रभावकारी उद्घोषणको अभाव पनि देखियो । त्यसैगरी, दीक्षित भएको सामूहिक घोषणा हुनुपूर्व नै उद्घोषकले प्रमाणपत्र लिनका लागि विभिन्न काउन्टरमा पुगेर लाइन लाग्नुपर्ने भनेकाले पनि मञ्चासिनहरूको भाषण सुन्नमा कसैको चासो रहेन । बरु, जतिसक्दो छिटो प्रमाणपत्रको लाइनमा गएर उभिनु नै सबैको चासोको विषय रह्यो । यति धेरै भीड बटुल्नुभन्दा स्नातकहरूलाई र स्नातकोत्तर तथा त्यसभन्दा माथिकालाई अलग–अलग समारोह गरी दुई दिन कार्यक्रम राख्ने हो भने समारोहको गरिमा पक्कै घट्ने थिएन होला ।

प्रतिकृया दिनुहोस

dishhomeapp