MENU

बाबुराम र टोपी

अन्नपूर्ण मंगलवार, पुस १९, २०७३ 20659 पटक पढिएको

Share This

अन्नपूर्ण सम्पादकीय

परिआउँदा असली र चरित्रवान् नेतृत्व लहरको विरुद्ध उभिन तयार हुन्छ, उभिन्छ, असंख्य खतरा स्विकार्दै । उसका अभिव्यक्ति र व्यवहारबीचको अन्तर न्यून हुन्छ । त्यस्तै फरक मत, शैली र मान्यता बोक्नेको खोइरो खन्ने, नसहने प्रवृत्ति या त अल्लारे र मपाईंत्व बोकेका या निषेधकै व्यवहारमा रमाउने व्यक्तिमा हुन्छ । यदि कुनै राजनीतिज्ञमा त्यस्तो चरित्र छ भने ऊ सर्वसत्तावादी चरित्रको हुन्छ ।

नयाँ शक्तिका नेता बाबुराम भट्टराईले यता आएर लगातार त्यस्ता असहिष्णु अभिव्यक्ति दिन थालेका छन् र उनी व्यापक जनआक्रोशको सिकार बनेका छन् । केही दिनअघि पूर्वराजा ज्ञानेन्द्र शाहको एउटा अभिव्यक्तिप्रति उनको दम्भपूर्ण प्रतिक्रिया आयो, मानौं कसले के बोल्नेबारे अनुमति दिने अन्तिम व्यक्ति आफैं हुन् ।

आइतबार उनले ‘टोपी दिवस' मनाउनेप्रति त्यत्तिकै असहिष्णु र असंयमित अभिव्यक्ति दिएः ‘टोपी दिवस रे अब बख्खु दिवस । धोती दिवस । संविधान र राष्ट्रगानमा समेत बहुजाति र बहुसंस्कृति स्विकारिसकेको देशमा एकल संस्कृतिका कुरा कति जायज ?

यो एउटा अभिव्यक्तिले भट्टराई धेरै विषयमा अस्पष्ट रहेको देखाउँछ । पहिलो- ‘बहुसंस्कृति' मा ‘टोपीधारी' लाई निषेधको चाहना लुकेको छ, उनको यो असहिष्णुतामा । दोस्रो- बाबुराम स्वयम् नै मन्त्रीका रूपमा जनकपुर जाँदा नजानीनजानी अरूको सहयोगबाट धोती लगाएर पुगेका थिए ।

टोपी, धोती र बख्खु तिनै पहिरन, रहनसहन र नेपाली संस्कृतिका पक्ष हुन् र नेपाली राष्ट्रयतामा तिनीहरूको अस्तित्व रहनुपर्छ भन्ने मान्यतालाई प्रजातन्त्रले अस्वीकार गर्न सक्तैन । भट्टराईको चाहनाअनुसार कसैले टोपी, बख्खु र धोती लगाओस् या नलगाओस् भन्ने चाहन्छन् भने त्यो उनको कहिल्यै पूरा नहुने दुस्वप्न सावित हुनेछ अब ।

हो, सशस्त्र विद्रोहताका स्कुलमा छात्राहरूलाई जबर्जस्ती ‘स्कर्ट' लगाउनबाट रोकेकी थिइन् उनकी राजनीतिक सहयात्री र पत्नी हिसिला यमीले, जसले हालै अर्को प्रसंगमा परिआएमा भट्टराई ‘हिटलर' बन्न सक्छन् भन्ने अभिव्यक्ति दिएकी थिइन् । के त्यही अभ्यासको सुरुआत हो बख्खु, टोपी र धोतीप्रतिको असहिष्णुता या निषेध, यहुदीहरूप्रति हिटलर देखाएको असहिष्णुताको शैलीमा ?

टोपी, धोती र बख्खु संस्कृतिसँगै आत्मनिर्भरता र घरेलु तथा अर्थशास्त्रका अंग पनि हुन् । त्यसले पहिरन संस्कृतिलाई जोगाउनुका साथै कतिपयलाई आर्जन र रोजगार दिएको छ । अभ बख्खु संस्कृतिले कृषि पेसासँग प्रत्यक्ष सरोकार राख्ने पशुपालन (भेडा, च्याङ्ग्रा आदि) पेसालाई पनि टेवा पुर्‍याएको छ । त्यसप्रतिको रुखो र अस्वीकार्य अलापको अर्थ के ? के नयाँ शक्तिको मान्यता पनि त्यही हो ?

गोरखाबाट आएका बाबुरामलाई सम्भवतः थाहा हुनुपर्छ- त्यहाँ टोपीप्रतिको असम्मान या त्यसलाई अरूले निकाल्नुलाई अपमान मानिन्छ । आत्मसम्मान, समर्पण आदिमा टोपी फुकाल्ने प्रतीकात्मक चलन छ । एउटा भावनात्मक अर्थ जोडिएको छ, विभिन्न ठाउँमा टोपी संस्कृतिसँग । धोती र बख्खु मौसम र भूगोलअनुसारका पहिरन हुन्, जुन त्यहाँका जनताको जीवनशैलीका अभिन्न अंग बनेका छन् ।

के सन्देश दिन खोजेका हुन् भट्टराईले ? सबैलाई गाली र आलोचना गरेर महान् नेता बन्न सकिँदैन । अर्को भट्टराई अब सशस्त्र विद्रोहताका जनताको नजरमा रहेका ‘वैकल्पिक' तथा फरक सम्भाव्यता र चरित्रका नेता रहेनन् । उनले सरकार र दलको नेतृत्व गर्ने अवसर पाइसकेका छन् र सम्भवतः अरूभन्दा फरक सावित गर्न सकेनन्, राष्ट्रिय सम्मान, आर्थिक समृद्धि, प्रजातन्त्र, स्वाभिमान र स्वतन्त्रताको पक्षमा ।

टोपी, बख्खु र धोतीप्रतिको उनको उद्गारले उनलाई असफलभन्दा बढी असहिष्णु नेताको हैसियतमा झारेको छ ।

प्रतिकृया दिनुहोस