MENU

मेलमिलापको कर्मकाण्ड

अन्नपूर्ण आइतवार, पुस १७, २०७३ 2493 पटक पढिएको

Share This

हरेक वर्ष पुस १६ लाई खासगरी नेपाली कांग्रेस र त्यसका समर्थक 'राष्ट्रिय मेलमिलाप' दिवसको रूपमा मनाउने गर्छन् । ३९ वर्षअघि बीपी कोइराला तथा गणेशमान सिंह आठ वर्ष लामो भारतको आत्मनिर्वासनबाट स्वदेश फर्केको दिन हो यो । त्यो मेलमिलापका दुइटा पक्ष थिए । पहिलो- आफूहरू प्रजातान्त्रिक शक्ति भएकाले मुलुकको स्वतन्त्र हैसियत तथा स्थायित्व सुनिश्चित गर्न राष्ट्रियतालाई प्रतिनिधित्व गर्ने राजसंस्थासँग सहकार्यको प्रतिबद्धता । दोस्रो- आग्रहमिश्रित त्यो प्रतिबद्धतालाई समादर गर्न राजासँग आग्रह ।

यो प्रतिबन्धित अवस्थामै रहेको नेपाली कांग्रेसभित्रका अर्का नेता कृष्णप्रसाद भट्टराईको अडान र मान्यताको पनि विजय थियो किनकि बीपी र गणेशमान भारत निर्वासनमा जाँदा भट्टराई उनीहरूसँग नगएर नेपालमै सत्याग्रह र शान्तिपूर्ण तरिकाले राजाको मन परिवर्तन गर्ने र जनताको सहयोग एकत्र गर्ने अठोट नेताद्वयलाई सुनाएका थिए र उनले त्यही गरे । त्यति मात्र हैन, भट्टराईले विदेशी भूमिबाट प्रजातान्त्रिक आन्दोलन सञ्चालित र निर्देशित हुँदा त्यो आन्दोलनमार्फत नेपाली राजनीतिमा विदेशी स्वार्थ र आदेशले प्राथमिकता पाउने आफ्नो धारणा पनि बीपी र गणेशमानलाई सुनाएका थिए ।

भट्टराईको दोस्रो चेतावनी नेताद्वयको भोगाइबाट स्पष्ट भयो, तत्कालीन भारतीय संस्थापनको व्यवहारमार्फत । भारतको निर्देशन र हस्तक्षेपपूर्ण प्रभावपछि निर्वाचित संविधानसभाको निर्णयमार्फत भारतमा विलयको निर्णयलगत्तै बीपी र गणेशमानले भारतीय त्यो चाल सिक्किममा मात्र सीमित नरहने निष्कर्ष निकाले । अनि चोग्याललाई सामन्तवादको प्रतीक मानेर 'प्रजातन्त्रवादीहरू' ले गरेको विलयको निर्णयबाट नेपालका 'प्रजातन्त्रवादी' शक्ति प्रभावित नहोऊन् भनेर उनीहरूले 'राष्ट्रियता र प्रजातन्त्रवादी' शक्तिबीच सहकार्यको आग्रह गरे । मेलमिलापको चुरोमा त्यही आशय थियो ।

वास्तवमा ०४७ को संविधानले त्यही मर्म बोकेको थियो । दुर्भाग्य, अहिले सत्तामा रहेका र सत्ताकेन्द्रित राजनीतिमा लागेका दलहरूमा त्यो सुझबुझ र उचाइ अनि राष्ट्र तथा राष्ट्रियताप्रतिको समर्पण भावको अभाव छ । जनताप्रतिको जवाफदेही व्यवस्थाभन्दा विदेशी रिझाएर सत्ता हासिल गर्ने राजनीतिको संस्कार निर्माण गर्दैछन् । बीपी, गणेशमान र भट्टराई चिन्तन र चरित्रका शक्ति नभएर 'औपचारिक समारोहमा देखाइने' अनुहारमा सीमित बन्न पुगेका छन् कांग्रेसभित्रै । जुन पार्टीमा आन्तरिक प्रजातन्त्रको अभाव र मुलुकबाट भन्दा बाहिरबाट निर्देशित नेताहरू ज्यादा छन्, उनीहरूलाई राष्ट्रियताको अर्थ र महत्त्वबोध हुन सक्दैन । दुर्भाग्य कांग्रेस एक्लो पार्टी हैन त्यस्तो ।

फरक मतलाई सम्मान गर्नु, राष्ट्रियता र राष्ट्रिय स्वार्थलाई व्यक्तिगत तथा दलीय स्वार्थभन्दा माथि राख्नु प्रजातान्त्रिक शक्तिहरूका पहिचान र दायित्व दुवै हुन् । फरक मतलाई राजनीति र शान्ति प्रक्रियालाई निषेध गरिएको पृष्ठभूमिमा 'मेलमिलाप', 'व्यक्तिवादी नेता' र ध्रुवीकृत नेतृत्वका अन्ध अनुशरणकर्ताबीच मात्र हुने गरेको छ, त्यो पनि सत्ताको लागि । मेलमिलापलाई सार्थक रूप लिन सिद्धान्तविहीन र व्यक्तिपरस्त अनि विदेशी स्वार्थमा परिचालित वर्तमान राजनीति बन्द हुनैपर्छ । अन्यथा राजनीतिक कर्मकाण्डको ठूलो पुस्तकमा 'मेलमिलाप दिवस' एउटा कर्मकाण्डी अभ्यासका रूपमा रहिरहनेछ, हरेक वर्ष पुस १६ गते त्यो एकपटक आउनेछ ।

hamrotoolsdotcom

प्रतिकृया दिनुहोस