MENU

कुल आयातको ५१ प्रतिशत मात्र एलसीमार्फत

मेनुका कार्की बिहीबार, मंसिर ३०, २०७३ 638 पटक पढिएको

Share This

काठमाडौं: नेपालमा हुने कुल आयातको भुक्तानीमध्ये ५१ प्रतिशतमात्र लेटर अफ क्रेडिट (एलसी) मार्फत हुने गरेको छ । नेपाल राष्ट्र बैंकले गरेको वैदेशिक व्यापारमा भुक्तानी प्रवृत्तिसम्बन्धी अध्ययनले नेपालमा हुने कुल आयातमध्ये ५१ प्रतिशतमात्र एलसीमार्फत हुने गरेको पाइएको हो । ४९ प्रतिशत व्यापार ड्राफ, टीटी र सोझै नगद भुक्तानबाट हुने गरेको छ ।

वैदेशिक व्यापारको भुक्तानी प्रणालीमा एक मात्र वैधानिक उपकरण एलसी मानिदै आएको छ । तर, आयातकर्ताले एलसीमार्फत पारदर्शी व्यापार नगरी अन्य बैंकिङ उपकरण तथा उस्तै परे नगदैबाट वस्तु आयात गर्दै आएका छन् । एलसीमार्फत व्यापार गर्दा कर छल्न नपाइने नभएकाले पनि व्यवसायीले यसको विकल्प खोजेका हुन् ।

नेपालको आयात भुक्तान प्रवृत्ति हेर्दा आयात संस्थागत नभइ सानासाना व्यवसायीको हातबाट हुने गरेको नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा अनुगमन विभाग प्रमुख नरबहादुर थापाले बताए । 'यसको अर्थ अझै पनि नेपाली आयातकर्ता संस्थागत तथा व्यवस्थित नभएको संकेत हो', थापाले भने, 'नेपाली आयातकर्ता वस्तुको आयातमा भुक्तान गर्ने रकम सोझै या ड्राफ/टीटीको माध्यमबाट गर्छन् भन्ने हो ।'

नेपालमा हुने कुल आयातमध्ये भारतबाट दुई तिहाइ वस्तु नेपाल भित्रने गरेको छ । गएको वर्ष नेपालमा भारतबाट चार खर्ब ७७ अर्ब रुपैयाँको वस्तु तथा सेवा आयात भएका थियो । अध्ययनको प्रारम्भिक नजिताअनुसार भारतबाट हुने कुल आयातमध्ये २८.७ प्रतिशतमात्र एससीमार्फत हुने गरेको छ ।

ड्राफ र टीटी तथा अन्य माध्यम तथा सोझै भुक्तानमार्फत अझै पनि ६५ प्रतिशत व्यापार हुने गरेको थापाले बताए । बैंकले अघिल्ला चार वर्षको आयात भुक्तानी प्रवृत्तिलाई आधार बनाएर अध्ययन गरेको हो । यसको अर्थ अझै पनि भारतबाट नेपालमा वस्तु आयात गर्दा वैधानिकभन्दा पनि अनौपचारिक व्यापार बढी रहेको सजिलै अनुमान लगाउन सकिने अध्ययनले देखाएको छ ।

नेपालमा हुने कुल आयातमध्ये भारतबाट दुई तिहाइ वस्तु नेपाल भित्रने गरेका छन् । गएको वर्ष नेपालमा भारतसहित अन्य विभिन्न देशबाट सात खर्ब ७३ अर्ब ६० करोड रुपैयाँको वस्तु तथा सेवा आयात भएको थियो । आयातमध्ये भारतबाट चार खर्ब ७७ अर्बका वस्तु तथा सेवा आयात भएको हो । आयातमध्ये २८.७ प्रतिशतमात्र एससीबाट आयात हुने गरेको छ । बाँकी व्यापार भने आयातकर्ता व्यवसायीले अन्य बैंकिङ उपकरण अर्थात सोझै नगद भुक्तानमार्फत गर्ने गरेको देखाइएको छ । भारतको आयात प्रवृत्तिमा ६५ प्रतिशत अन्य माध्यमबाट हुने देखिएको छ ।

चालू आवको पहिलो तीन महिनामा भएको कुल आयात दुई खर्ब २० अर्ब ६७ करोड रुपैयाँमध्ये एक खर्ब ४३ अर्ब २९ करोड भारतबाट आयात भएको छ ।

नेपालमा तेस्रो देशबाट भित्रने व्यापारमा भने ७३.९ प्रतिशत एलसीमार्फत हुने गरेको अध्ययनले देखाएको छ । यसरी हेर्दा भारतबाट हुने व्यापारमा कम वैधानिक र अन्य मुलुकको व्यापार तुलनात्मक रूपमा पारदर्शी देखिएको छ ।

यसले नेपालमा अझै पनि व्यापार गर्ने कम्पनी संस्थागत भईनसकेको अर्थात कम्पनीमार्फत जुन किसिमको आयात हुनुपर्ने हो त्यो हुन नसकेको संकेत गरेको छ । एलसी व्यापारले बलियो अर्थतन्त्र निर्माण गर्न सहयोग पुर्‌याउनुका साथै थोक तथा खुद्रा आयातकर्तालाई समेत आधुनिकीकरण गर्न सहयोग पुर्‌याउने राष्ट्र बैंकले जनाएको छ ।

प्रतिकृया दिनुहोस

Dish latest