MENU

चीनसँगको सम्झौताले इन्टरनेटमा भारतीय एकाधिकारको अन्त्य

रञ्जनहरि काेइराला बुधवार, मंसिर २२, २०७३ 45618 पटक पढिएको

Share This

काठमाडौं: नेपालको इन्टरनेटमा रहेको भारतीय एकाधिकार अन्त्य भएको छ । नेपाल टेलिकम र चाइना टेलिकम ग्लोबल लिमिटेड (सीटीजी) बीच आईपी सर्भिस सम्बन्धमा भएको सम्झौता सँगै भारतीय एकाधिकारको अन्त्य भएको हो । यो सम्झौताले चीनको बाटो हुँदै फाइबर मार्फत् इन्टरनेट नेपाल भित्रिने भएको छ ।

अहिलेसम्म भारतीय सञ्चार निगम लिमिटेडमार्फत् नेपाल टेलिकम भैरहवा, वीरगन्ज र विराटनगर हुँदै इन्टरनेट आएको थियो । यो सम्झौता सँगै अब चाइना टेलिकम ग्लोबलबाट रसुवाको जिलोङ गेटवे हुँदै नेपालमा इन्टरनेट सेवा भित्रिने भएको छ ।

रसुवाको जिलोङ गेटवे हुँदै चीन र नेपाललाई स्थल केबुल मार्गबाट जोड्न नेपाललाई आईपी सर्भिस उपलब्ध गराउने सम्बन्धी मंगलबार सम्झौता भएको हो ।

सम्झौता पत्रमा टेलिकमका प्रमुख प्राविधिक अधिकृत लोचनलाल अमात्य र सिटीजीका कार्यकारी उपाध्यक्ष ओउ यानले हङकङमा हस्ताक्षर गरेका छन्। यो सम्झौताले नेपालको इन्टरनेट सेवामा रहेको भारतीय एकाधिकारको अन्त्य गरेको नेपाल टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यको भनाइ छ ।

प्रवक्ता वैद्यका अनुसार यो सम्झौताले चीनको बाटो हुँदै नेपालमा चाडैं इन्टरनेट भित्रिने छ । चीनसँगको पछिल्लो सम्झौता सँगै नेपाललाई ट्रान्जिट बिजनेस गर्ने अवसर पनि खुलेको उनले बताइन् । अब नेपालले भारतको इन्टरनेट चाइनामा र चाइनाको इन्टरनेट भारतमा नेपालको बाटो हुँदै बेच्न पाउँनेछ ।

केही समय अघि मात्र नेपाल टेलिकम र चिनियाँ टेलिकम ग्लोवल अप्टिकल फाइबरमार्फत् जोडिएका थिए । चीनसँग स्थल मार्ग हुँदै जोडिएकाले अब सो क्षेत्रबाट पनि अन्य देशका सेवा प्रदायकसँग जोडिन सहज हुने वैद्यको भनाइ छ ।

उनका अनुसार भारत हुँदै प्रयोग गरिएको रुट बाहेक अन्तराष्ट्रिय पहुँचका लागि यो अर्को महत्वपूर्ण विकल्प हो । कार्यक्रममा नेपाल टेलिकमका प्रमुख प्राविधिक अधिकृत लोचनलाल अमात्यले नेपाल टेलिकमले यो थप रुटबाट लाभ लिन सक्ने बताए ।

उनले चाइना टेलिकमले भरपर्दो सेवा उपलब्ध गराउने र सो रुटमार्फत् नेपाललाई ट्रान्जिट हबको रुपमा स्थापित गर्न सकिने बताए। सिटीजीका कार्यकारी उपाध्यक्ष ओउ यानले चिनियाँ टेलिकमले हिमालय क्षेत्रमा आफ्नो रुट विस्तार कार्य गरिरहेको र यसबाट नेपाल–चीन रुटमा सेवा प्रदान गर्नुका साथै भारतबाट समेत ट्रान्जिट सेवा प्राप्त गर्न सहयोग पुग्ने बताएका छन् ।

प्रतिकृया दिनुहोस

Dish latest