MENU

बेपत्ता खोज्न जूनकीरी

सोमनाथ खनाल शनिवार, कात्तिक २०, २०७३ 2612 पटक पढिएको

Share This

सेनामा लामो समय सेवा गरेका आफ्ना श्रीमान्लाई अवकाशपछि तिनै सहकर्मी सेनाहरूद्वारा बेपत्ता पारिएको बताइरहेकी ती महिला समाजलाई प्रश्न गर्न चाहन्थिन् कि कस्तो हुनुपर्छ उनले आफ्ना श्रीमान् नभेटिउन्जेलसम्म लगाउने सिन्दूरको रङ ।

 

‘हामी तपाईंको जीवन भोगाइका कथामा नाटक गर्न चाहन्छौं । यो नाटकमा तपाईंको छोरोको भूमिका कसले गरिदिए हुन्थ्योजस्तो लागेको छ आमा ?

‘यो दारीवाला छोरोले खेलिदिए हुन्थ्यो नानी ! यस्तै रूपको थियो, नाच्दै गाउँदै हिँड्थ्यो ।’ बूढीआमैले मलाई नै इंगित गर्दा मैले टेकेको जमिन एकपटक काँपेको थियो । बर्दिया जिल्लाको भुरीगाउँमा त्यस बखत कुनै भूकम्प वा परकम्प आएको/गएको थिएन बरु करिब साठीजनाले भरिएको त्यो कोठामा समुद्री तुफानपछिको सन्नाटाजस्तो शून्यता व्याप्त थियो । म उभिएँ, सँगै कम्पन पनि महसुस गरिरहेँ ।

दसवर्षे द्वन्द्वकालमा बेपत्ता पारिएका नागरिकका आफन्तजन र केही सरोकारवाला रैथानेले भरिएको त्यो कोठामा मण्डला थिएटरको हाम्रो टोलीले चौतारी नाटक मञ्चन गर्दै थियो । नाटकको विधागत नियमअनुसार दर्शकमध्येको कसैले सुनाएको कथालाई मञ्चमा भएका चार कलाकारले डिट्ठो नबिराई सुनेर कथानाटक बनाएर देखाउनुपर्ने थियो । कथावाचकलाई पात्र छनोट गर्ने छुट थियो र त्यही छुट अवसरमा मैले मुख्य पात्रको भूमिका गर्ने ‘बेमौसमको मौका’ पाएको थिएँ ।

द्वन्द्वमा छोरो गुमाएकी एक स्थानीय वृद्धा वेतको ‘हट सिट’मा बसेर आफ्नो व्यथा सुनाउँदै थिइन् र उनलाई सावधानीपूर्वक पगेर्दै थिइन् हाम्री सहकर्मी आकांक्षा कार्की । कलाकार दीर्घामा मसँगै बसेका राजन खतिवडा, विजया कार्की र इँगिहोपो कोइँच सुनुवार निर्विघ्नतापूर्वक कथा सुनिरहेका थिए । म घाँटीसम्म भरिएको आफ्नो आँसुलाई आँखामा आउन नदिने दृढ संकल्पमा थिएँ । दर्शकपट्टि बसेर कथा सुनिरहेका अरू थुप्रैजनामाथि कुनै नियम लादिएको थिएन । फलस्वरूप उनीहरू आँसुका सहस्र धारा बगाइरहेका थिए ।

वृद्धाले राज्यद्वारा बेपत्ता पारिएको आफ्नो छोरोको भूमिका गर्न मलाई छान्नुपूर्व नै म अत्तालिइसकेको थिएँ । कारण सोही स्थानको चोकमा अघिल्लो साँझ नाटक ‘आधा सत्य’को मञ्चन सकिएपछि अन्र्तवार्ता गर्न खोज्दा तिनै वृद्धाले मलाई झम्टिएकी थिइन् र रुँदै सोधेकी थिइन्, ‘पत्थरको मुटु भएका यी मान्छेहरूलाई किन देखाउँछौ हँ हाम्रा दुख्खको नाटक ? ’ त्यसपछि करिब पचहत्तर वर्षीया ती वृद्धाले पातलो धोतीले छोपिएको आफ्नो छाती देखाउँदै भनेकी थिइन्, ‘जति दुख्नु छ त्यो त यहाँ दुख्छ । यिनेरुले केइ बुझ्दैनन् ।’

वृद्धाको तातो आँसु आफ्नो हत्केलामा पोखिएला र त्यसले डामेर नमेटिने दाग बन्लाझैं गरेर म अँध्यारोमा कतै लुसुक्क भागेको थिएँ त्यति बेला । पीडाको आँसुले मलाई छोडेन र खोज्दै आइपुग्यो चौतारी नाटक गर्ने यो कोठासम्म ।

विगतसँग व्यवहार शीर्षकमा मण्डलाले आयोजना गरेको घुम्ती रंगमञ्च भ्रमण छैटौं दिनसम्म आइपुग्दा हामीले मध्यपश्चिम र सुदूरपश्चिमका पाँचवटा द्वन्द्वप्रभावित स्थानमा नाटक आधा सत्यको मञ्चन गरिसकेका थियौं ।

सशस्त्र द्वन्द्वका क्रममा द्वन्द्वरत दुवै पक्षबाट बेपत्ता पारिएका नागरिकहरूको परिवारसँग गरिएको कुराकानीमा आधारित भएर तयार पारिएको नाटक आधा सत्यलाई बेपत्ताविरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसर पारेर काठमाडौंमा सफलतापूर्वक मञ्चन गरिसकिएको थियो र त्यही सफलताको आधारमा दसैंको पूर्वसन्ध्या पारेर मण्डलाको घुम्ती रंगमञ्च बस ‘जूनकीरी’सहित पश्चिम यात्रा थालिएको थियो ।

यात्रालाई अझ बलियो र सान्दर्भिक बनाउन हामीले ठाउँठाउँमा पीडित नागरिकहरूलाई राखेर चौतारी नाटकसमेत गर्ने गरेका थियौं । अमेरिकी रंगकर्मी जोनाथन फक्सले आफ्नी धर्मपत्नी जोए स्यालेससँग मिलेर चार दशकअघि विकास गरेको ‘प्लेब्याक थिएटर’लाई नेपालीमा चौतारी नाटक भनेर अभ्यास गरिँदै आइएको छ । नाटकको यो विधाअन्तर्गत एउटा सुरक्षित स्थानमा केही मानिसलाई आमन्त्रण गरिन्छ र उनीहरूको जीवन भोगाइ र त्यससम्बन्धी महसुसहरू सुनिन्छ ।

कलाकारहरूले बिनाकुनै पूर्वाभ्यास तुरुन्तै उक्त जीवन भोगाइलाई अभिव्यक्तिका विविध माध्यमबाट मञ्चमा प्रस्तुत गर्छन् । विविध माध्यम भन्नाले तरल मूर्ति बनाउने, चित्रकथा (स्लाइड सो) प्रस्तुति, कथा नाटक र तीन मिनेटको कविता रचना र वाचनलगायत पर्छन् ।

प्रस्तुति हेरिसकेपछि कथा भन्ने मान्छेलाई हलुका महसुस हुने विश्वास गरिन्छ भने सुन्ने र हेर्ने मानिसहरूमा कथावाचकप्रति समानुभूति (सहानुभूति होइन) प्रकट गराउने प्रयास रहन्छ ।

सामाजिक सद्भाव र मेलमिलाप अनि पीडितहरूका लागि पीडासमनमा यो किसिमको अभ्यासले सकारात्मक काम गरेको देख्न सकिन्छ । हाम्रो यो यात्रा र अभियानको उद्देश्य पनि यसरी नै द्वन्द्वपीडित परिवारहरूको पीडा र दुःखप्रति आम जनमानिसको सरोकार र ऐक्यबद्धताको खोजी गर्नु रहेको थियो । १४ वर्षदेखि घर फर्केर आउनुपर्ने आफ्ना आफन्त पर्खेर बसेका द्वन्द्वपीडितका पीडा, न्यायको लडाइँ र सत्यको पर्खाइ अब ती परिवारको मात्र नरहोस् र हामी सबैको साझा मुद्दा बनोस् भनेर कलाकर्मीको स्थानबाट हामीले यो अभियान थालेका थियौं ।

अभियान क्रममा पाएको यस्तो तीतो प्रतिक्रियाले पहिलोपल्ट मलाई मञ्चमा अभिनय गर्नुअगावै कम्पन छुटाएको थियो । कुनै पात्रको रूपमा मलाई छानिसकेपछि चौतारी नाटकको नियमअनुरूप म आफ्नो स्थानबाट उठ्नुपथ्र्यो र शून्यभावमा सुन्नुपथ्र्यो प्रस्तुत गरिन लागेको कथा ।

ती वृद्धाको जीवनभोगाइ आमकथाहरूजस्तो सलल बगेका, ठूल्ठूला क्लाइमेक्सले भरिएका वा रोमाञ्चक थिएनन् । ती एकदम सरल र सहज थिए तर तरबारका धारजस्ता । बजारमा मेडिकल पसल चलाएर बसेका उनका छोरा घाइते माओवादीहरूलाई औषधि बेचेको आरोपमा सेनाद्वारा पक्राउ परेका थिए ।

आँखैअगाडिबाट बेपत्ता पारिएको आफ्नो छोराको कथा उनले क्रमभंग नगरी सुनाइरहन सकिनन् । बाँध फुटेजसरी थुप्रैपटक उनी फुटिरहिन् र कथाहरू चुहिरहे उनका आँखाका चेपहरूबाट ।

वृद्धा महिला यति विक्षिप्त भइसकेकी थिइन् कि बेपत्ता पारिएको आफ्नो छोरोको समानान्तर एउटा अर्को छोरो उनको कथामा जन्मिएको थियो । उनी वेतका कुर्सीमा बस्नुको साटो उभिन्थिन् र अभिनय गरेर देखाउँथिन् विस्मृति बन्न नसकेका एकएक स्मृतिहरू । हरेकपटक कलाकार दीर्घातिर हेर्दैगर्दा उनका सामुन्ने नयाँ पात्रहरू जन्मिन्थे र एकैछिनमा द्वन्द्वको प्रकोपले डढेर खरानी बन्थे ।

लडाइँको खरानी कसैगरी कथा बन्न सकेन । वृद्धाले कथा पूरा गर्न सकिनन् र हामीले उनको जीवन भोगाइमा कथा नाटक प्रस्तुत गर्न सकेनौं । वृद्धाकै अनुरोधमा हामीले गीत गाएर उनको मनलाई सान्त्वना दिने प्रयास गर्‍यौं । सारंगीवादक साथी प्रकाश गन्धर्वले तारको रेटाइसँगै शब्दहरू गुनगुनाइरहँदा कोठामा बसेका जम्मैको आँखा फेरि एकपटक आँसुले भरिए । आमैले यसपालि आफ्नो भक्कानो रोकिन् र भनिन्, ‘मलाई भेट्न धेरै मान्छे आए । तपाईंहरूकै उमेरजस्ता अरू धेरै छोरा आए । म धेरैपटक ठूल्ठूला फोटासहित पत्रिकामा पनि आएँ । तर तपाईंहरूजस्तै कलाकारिता गर्दै हिँड्ने मेरो छोरो आएन । गुनासो यत्ति नै हो ।’

नेपालको दसवर्षे सशस्त्र द्वन्द्वमा राज्य र विद्रोही दुवै पक्षबाट १३ सयभन्दा बढी नेपाली नागरिक बेपत्ता पारिए जसकोे अवस्था अझै अज्ञात छ । हालसम्म बेपत्ता छानबिन आयोगमा दुई हजार आठ सय ४६ वटा उजुरी परेका छन् ।

यता सरोकार राख्नुपर्ने राज्य यस विषयमा मौन छ भने बेपत्ता पारिएको व्यक्तिको जीवन या मृत्युको अनिश्चिततालगायतका कारणले गर्दा उक्त परिवारले विविध सामाजिक, आर्थिक र मानसिक तथा भावनात्मक चुनौतीहरूको सामना गरिरहेका छन् । टुंगो लगाउन नमिल्ने सम्झनाका खातहरू बोकेर बसेका परिवारजनले सत्यसम्म पुग्ने अवसर पाएका छैनन् ।

यी सम्झनाका खातहरूलाई एउटा साझा थलोमा ल्याउन र बेपत्ता नागरिकसम्बन्धी मुद्दामा आमजनसमुदायको अग्रसरता र ऐक्यबद्धता निर्माण गर्न गरिएको घुम्ती रंगमञ्च भ्रमण कार्यक्रममा यस्ता पीडाका थुप्रै कथा आए । सबै कथामा बेपत्ताका पीडामात्र थिएनन्; मारिएका, यातना दिइएका र विस्थापित गरिएका नागरिकहरूको पीडाले एउटा सुमेरु पर्वत निर्माण भएको थियो । हामी कलाकारले त्यो पर्वतलाई छाम्यौं, सुम्सुम्यायौं र त्यसका आर्तनादहरू सुन्यौं ।

उनीहरू आफ्ना गुमाउनुको पीडाले मात्र रन्थनिएका छैनन्, त्यसका कारण समाजमा उनीहरूले झेल्नु परेको भेदभाव र टीकाटिप्पणी उनीहरूको जीवनयापनमा प्रमुख बाधक बनेका छन् । अझ पीडित महिलाको समस्या त झन् दर्दनाक छ । ‘बेपत्ता पारिएको लोग्ने खोज्न सैनिक क्याम्पमा जाँदा पनि मान्छेहरू कुरा काट्छन्’, चौतारी नाटककै क्रममा आफ्नो जीवन भोगाइ सुनाउन आइपुगेकी एक महिला बीचमै भक्कानिइन्, ‘धपक्क बलेर नाठो खेलाउन हिँडेकी भन्छन् । आफ्नो शरीरलाई राम्रोसँग स्याहार्न पनि दिँदैन यो समाजले ।’

सेनामा लामो समय सेवा गरेका आफ्ना श्रीमान्लाई अवकाशपछि तिनै सहकर्मी सेनाहरूद्वारा बेपत्ता पारिएको बताइरहेकी ती महिला समाजलाई प्रश्न गर्न चाहन्थिन् कि कस्तो हुनुपर्छ उनले आफ्ना श्रीमान् नभेटिउन्जेलसम्म लगाउने सिन्दूरको रङ ।

महिला सन्दर्भका अरू कुराहरू कोट्याउँदै जाँदा थाहा भयो- बर्दिया, कैलाली र दाङका थुप्रै थारू नौजवान बेपत्ता पारिँदा उनीहरूका नवविवाहित श्रीमतीहरूले खप्नु परेको मानसिक पीडाले त्यो समाजमा महिला र पुरुषको बेग्लै चित्र बनाइसकेको रहेछ ।

 

बेपत्तापछि एक्ली भएकी कतिपयले दोस्रो विवाह गर्दासमेत वैवाहिक जीवन सफल हुन नसकेपछि आत्महत्या गरेको पाइयो । यही उदाहरणलाई हेरेर अन्य धेरैले दोस्रो विवाह गर्न आँट गरेनन् । ‘पाप लाग्छ !’ दोस्रो विवाह गरी सरल जीवनयापनका सम्बन्धमा कुरा राख्दा बर्दियाका धेरै पीडित थारू महिलाले यस्तो भने ।

नाट्ययात्राका क्रममा हामी थारूवस्तीहरू पुग्दा समुदायमा नै बस्ने गरेका थियौं । द्वन्द्वकालमा नाबालक रहेका वा नजन्मिसकेका कतिपय पीडित परिवारका छोराछोरीहरू छन् जसको मुहारमा बेपत्ता पारिएका आफ्ना पिताको स्वरूप र आचरण कस्तो थियो होला भन्ने प्रश्न तेर्सिएको देखिन्छ । उनीहरूले मुखले नसोधे पनि हाम्रो गणतान्त्रिक राज्यको दायित्व हुन्छ कि सत्यनिरुपण गर्ने ।

कम्तीमा भविष्यका हाम्रा नागरिकहरूलाई इतिहासको यो कलंक बोकाउनु हुँदैन भन्ने तथ्य राज्यले बुझ्नुपर्छ । त्यसका लागि तथ्यांकमा हैन पीडित परिवारका पीडा र इच्छाहरूमा राज्यले काम गर्नुपर्छ । विगतलाई जबर्जस्ती बिर्सिने वा लुकाउने हैन, त्यससँग व्यवहार गर्नुपर्छ र भविष्यका लागि सिकिएको पाठको अभिलेख राख्नुपर्छ ।

कार्यक्रम सकेर फर्किनै लाग्दा समुदायका यस्ता पीडितहरूले हामीमाथि अपेक्षाका अरू पहाडहरू तेस्र्याएका छन् । उनीहरू हामीमार्फत यो पीडा राज्यलाई सुनाउन चाहन्छन् र हेर्न चाहन्छन् आफ्ना आफन्तहरू घर फर्की आएको । उनीहरू सशरीर आउँछन् भन्ने विश्वास कसैलाई छैन । उनीहरूको खबरमात्रै आइदिए पनि हुन्थ्यो भन्ने आश छ उनीहरूको । कुनै समय द्वन्द्वको नेतृत्व गरेका दुवै थरी मान्छेहरूको नै ‘मिलिजुली सरकार’ बनेको कुरा उनीहरूको कानसम्म पुगिसकेको छ ।

अनामनगरमा हामी कलाकार बस्ने घरको मुखैपट्टि उनीहरूको दरबार छ भन्ने पनि उनीहरूले सुइँको पाइसकेका छन् । त्यसैले होला, हामी बसेको समुदायमा खाना र बासको पैसा तिर्न खोज्दा पनि उनीहरूले हात लुकाए र भने, ‘तपाईंहरू त हाम्रो कथा सुन्दै सुनाउँदै हिँड्ने मान्छे । सुनाइदिनुहोला है हाम्रो यो दुःखको कहानी तपाईंहरूको ठूलो छिमेकीलाई ।’

मैले भन्न सकिनँ उनीहरूलाई कि हाम्रो ठूलो छिमेकी सिंहदरबारको त पुछारमात्रै हामीतिर फर्केको छ । मुन्टो अर्कैतिर फर्काएर बसेका हिंस्रक सिंहहरूलाई पछाडिबाट कोट्याउनुको के अर्थ हुन्छ होला ! तर पनि हाम्रो नाट्ययात्रा जारी छ । ‘राज्यको गहना भएर सजिएर बस्नुपर्ने ठाउँमा विधानमा उल्लेख नै नभएको र गैरव्यावसायिक काम गरेको’ महाअभियोग यदि यो राज्यले लगाएनछ भने यो वर्ष हामी अझै केही ठाउँ घुम्नेछौं र देखाउनेछौं नाटक हाम्रै समाजका वास्तविक व्यथाहरूले भरिएको ।

यो कात्तिकको पहिलो हप्तादेखि मण्डलाको अर्को टोली फेरि नाट्ययात्रा लिएर पूर्वाञ्चलका केही गाउँबजार छिर्दैछ । गाउँबाट डिग्री पढ्न गएको ठिटो सहरबाट सपना पढेर फर्किन्छ र त्यही सपना गाउँलेलाई थोक मूल्यमा बेच्दै गरेको चित्रण गरिने नाटक ‘डिग्री माइला’ र समाजको सुखशान्ति र भाइचाराका लागि कलाको महत्व झल्काउने नाटक ‘मनचिन्ते फिरन्ते’ लिएर यसपटक पूर्वको यात्रा गरिँदैछ ।

मानसिकतामा गाउँबाट पनि विकसित नभइसकेका तर भौतिक सुखसयलको लोभ देखाएर ‘नगर’ घोषणा गरिएका यस्ता केही ठाउँमा समेत हामी जाँदैछौं जहाँ अन्धकारमा आफ्ना सपना र आवाजहरू हराएका नागरिक सत्यको उज्यालो पर्खेर बसेका छन् । हामीसँग उहाँहरूलाई उज्यालोको बाटोसम्म देखाउने जूनकीरी छ । जूनकीरी अर्थात् मण्डलाको मोबाइल थिएटर बस ।

प्रतिकृया दिनुहोस

Dish latest