MENU

थली दुर्गाको बिसरती र बाँठ्‌पालाको वेदढुंगा

प्रेम कैदी सोमवार, भदौ २०, २०७३ 4378 पटक पढिएको

Share This

योगी नरहरिनाथले भन्ने गर्नुहुन्थ्यो, देवताहरुको शासनकालमा बर्खाको राजधानी कैलाश मानसक्षेत्र र हिउँदको राजधानी खप्तड हो । त्यही खप्तडको उत्तर पश्चिममा रहेको बझाङको धर्म संस्कृति र इतिहास अनौठो छ । त्यहाँका चाडपर्वहरुबाट समग्र दैवी सभ्यता र देशको इतिहास थाहा पाउन सजिलो पर्ने देखिन्छ ।

आदि शक्ति दुर्गा हुन्, महादेव हुन् अथवा ईन्द्र र उनका छोरा जयन्त (मष्टो) हुन्, ती सबैका कथाहरु बझाङसँग जोडिएका छन् । मष्टो र उनका भान्जा तथा सहयोगी रुपमा रहेका लंगरशाहीको प्रसंगबाट पालवंसी जुम्लाका अधिपति बलिराज शाहीहरुको पुर्खाको इतिहास पनि जोडिएको देखिन्छ ।

लाँगो र बाँठपाला देवताको मुख्य मन्दिर साईपाल जाने बाटोमा पर्ने टाँडमा छ । यस मन्दिरका सम्बन्धमा ब्रिटेनका नागरिक सिडनी विग्नालले आफ्नो पुस्तक स्पाइ अन द रुफ अफ वल्र्डमा गरेका छन । उनले सेतीको खोँचमा हिउँमा चिप्लेर खस्दा कुनै अदृष्य शक्तिले जोगाएको, पछि बाटोको यस मन्दिरमा सम्मान स्वरुप आफ्नो झोलामा रहेको सिक्का र रुपैयाँपैसा चढाएको साथै त्यहाँबाट बाँकी बाटोमा आफ्नो रक्षाका लागि पित्तलको घण्टी र चारवटा चाँदीका सिक्काहरू बोकेर लिएर गएको उल्लेख गरेका छन् ।

बाँठपालालाई जुम्लातर्फ पनि मान्ने गरेका छन् । समूहका अरु देवताहरु कैलाश जान सकेनन, यी दुई देवताहरु मात्रै त्यहाँ पुग्न सफल भएका थिए र लाँगो देवताले सुनिकोट—जिदैकोटको सन्धि गराउन सहयोग गरेका थिए जसका कारण नेपाली भूभागको सीमाना तिब्बतको साल्सु गंगा (तिब्बत कर्णाली) सम्म थियो । यो बाटोमा हिँड्ने तीर्थयात्रीहरु यी देवताको पूजा गर्दै जान्छन् र यी देवताहरु बाटामा रक्षकका रुपमा मानिन्छन् । कैलाश मानसरोवर क्षेत्रको बाटो लाँगोको नियन्त्रणमा रहेको मानिन्छ ।

यस प्रसंगमा थलीको माडुँमा हुने माता दुर्गाको बिसरती पूजा र बाँठपालाको वेदढुंगाबारे संक्षिप्त जानकारी प्रस्तुत छ ।

थली दुर्गाको विसरती

भदौ २० गते बझाङको थलीको दुर्गा मन्दिरमा र महालिङ्ग माडुँमा समेत ठूलो मेला लाग्छ । यसलाई स्थानीय मानिसहरू बिसरतीको मेला भन्दछन् । यो मेला प्रत्येक बर्षको भदौ महिनाको बीस गते नै मनाइन्छ । अन्य पर्वहरु माघ र फागुनको १६ गते हुन्छन् । चन्द्रमासका तिथिहरुले यी मेलाहरूको दिनलाई कुनै असर पार्दैनन् र सौर्यमासको आधारमा आयोजना हुन्छन् । यी मेलाहरूमा टाढा टाढाका मानिसहरु माडुँ (मन्दिर) मा जम्मा हुन्छन् ।

वैदिक ग्रन्थ तथा पुराणहरूमा दुर्गाको नाम विभिन्न ठाउँमा आउने गरेको छ । दुर्गा धेरै ठाउँमा देवदानवहरूका विभिन्न लडाइँमा देवताहरूको पक्ष लिएर लडेको पाइन्छ । दुर्गाका विभिन्न रूपहरू समेत उल्लेख भएका छन् । मष्टोका सोह्र बहिनीहरूमध्ये सबभन्दा जेठी बहिनी दुर्गालाई मानिन्छ ।

बझाङका प्रचलित कथाहरुका साथै विष्णुप्रसाद खत्री, विष्णुभक्त जोशी (शास्त्री), देवीचन्द्र जोशी, जनकबहादुर सिंह, हर्कबहादुर बम, स्व. मानमल विष्ट, र स्व. लालबहादुर बोहराको संकलनबाट प्राप्त दुर्गाका फाग (भजन) हरुका अनुसार सोह्र बहिनी देवीहरु मालमा पैदा भए । देवीहरु मालमा जब जवान भए, त्यति बेलाको चलन अनुसार अझ बढी शक्ति प्राप्त गर्न उचा हिमाल र खासगरी कैलाश मानसक्षेत्र जहाँ देवाधिदेव महादेवको जन्म र कर्म स्थान छ, त्यहाँ तीर्थ गर्ने परम्परा रहेकाले देवीहरु, भाइ मष्टो देवता समेत हिमालतिर लागे ।

देवीहरु र मष्टो मालबाट पर्वत पुगेपछि तिनीहरुको शिव स्वरुप महालिगंसँग भेट हुन्छ । सोधपुछ र चिनजानपछि आफ्नो कुरा राखेर देवीहरुको विवाह महालिंगसँग हुन्छ ।

महालिंगका साथमा, सुर्मालाई लिएर दुर्गाले पहाडमा हालको सैनपसेलाको बीचमा पर्ने १३ हजार फीटमा पर्ने थलचौरमा बस्ने विचार गरिन् । त्यो डाँडाको टुप्पालाई उनले आफ्ना दाजु मष्टोको सहयोगमा वीरहरू लगाएर सम्याएर एकै रातमा मैदान बनाउन लगाइन् । धान रोप्न पानीको ब्यवस्था भयो । देवीले आफ्नो साथमा परापुलो धानको बीउ, पाँगरजडीको बोट तथा विशेष प्रकारको गुलाफको फूल बोकेर ल्याएकी थिइन् ।

मैदान सम्मिएपछि खेतमा रोपाइँ हुँदै, आधाआधि काम भइसकेकोमा कताबाट छिचिकाट्टे कीरा (पानी पर्दा निस्कने अस्थायी पखेटा भएको किरा, फागमा पंक्षी भनिएको) उडदै आयो, रोपाइँ हुने बेलामा घीन लाग्ने कीरा देखिएकाले देवीले माटो अशुद्ध ठहर्‌याई त्यहाँ नबस्ने निर्णय गरी त्यो ठाउँलाई त्यत्तिकै छोडेर हिडिन् ।

यदि देवीले त्यो ठाउँ छोडने निर्णय नगरेको भए सम्भवत सबैभन्दा उच्च स्थानमा धान खेती हुने थियो । अहिले पनि वारपार गर्दा आधा घण्टा लाग्ने ठूलो मैदान छ । मैदानमा घाँस हुँदा आधा रोपाइँ गरेको र बीउका मुठा आधा छोडिएको दृश्य देखिन्छ । बीचमा ठूलो ढुंगा छ जसमा बसेर देवीले पहाड सम्याएको हेरेकी थिइन् ।

दुर्गा त्यहाँबाट हिडेर महालिंग र आफ्नी बहिनी सुर्माका साथ सैनगाउँ आइपुगिन् । त्यहाँ एउटा घरमा कडायत थर भएकी एक्ली बूढी थिइन् । उनीहरुले आफूलाई भोक लागेकाले खानाको ब्यवस्था गरिदिन अनुरोध गरे । ती बूढीको घरमा केही थिएन । गोठमा बाह्र बर्षदेखि ब्याउन छोडेकी थारी गाई, माथिल्लो तलामा केही ढुटो सहितका कनिका र अगेनाको छेउमा एउटा माटाको हाँडीमात्र रहेछ ।

ती महिला आफ्नो अवस्थाबारे उनीहरुलाई बताउँदै थिइन् । हेर्दाहेर्दै ढुटो सहितका कनिका चामल र माटाको हाँडी तामाको ताउलीमा परिणत भए । उनलाई देवीले गोठबाट दूध ल्याउन अह्राए । अघिको चमत्कार देखेकी महिला गोठमा जाँदा बाच्छो गाईसँग खेलिरहेको थियो । उनले खुशी भएर हत्तपत्त दूध दुहेर ल्याई माथिल्लो तलामा देवीहरुका अगाडि राखिदिइन् । खानाका लागि सामान तयार भएपछि देवीहरुले खाने बेला भित्र नपस्न र नहेर्न अनुरोध गरी उनलाई बाहिर पठाए । कोठा जस्तो ठाउँमा कतैबाट पनि भित्र प्रकाश पस्न नपाओस् भनेर झ्याल ढोका थुनिएको थियो । तिनीहरु खीरको रुपमा खाना बनाएर खाने भनेर गोप्य कोठामा पसे ।

महिलालाई तिनीहरुका बारेमा कौतुहल जागेर उत्सुकतावश ठिक्क खाने बेलामा नियतवश आफूले छोडेको सिन्का छिर्ने सानो प्वालबाट भित्र हेरिन् । कोठाभित्र प्रकाश छिर्दा मानिसको छायाँले खीर अशुद्ध भएको भन्दै ताउली त्यही छोडेर देवीहरु नखाई थलीको बाटो लागे । उनीहरुले अहिले माडुँ भएको ठाउँमा बस्ने निधो गरे । महिलाले आफ्नो गल्ती महसुस गरी तातो खीरको ताउली टाउकोमा राखेर चाहा चाहा (गल्ती भयो) भन्दै पछाडि दौडिदै थलीसम्मै पिछा गरिन् । तातो खीरको गहु्रङ्गो ताउलीले ती आइमाईलार्ई कुनै असर गरेन ।

हाल पनि त्यही परम्परा अनुसार मान्छेले धान्न नसक्ने तातो खीरका ताउली त्यसरी नै चाहा चाहा भन्दै मान्छेहरुको समूहसहित दौडाएर लाने गरिन्छ । त्यो खीर भगवतीलाई चढाएपछि प्रसादको रुपमा जात्रा भर्नेहरूको बीचमा बाँडिन्छ । देवीले आफूसँग ल्याएको परापुलो धान थलीको फाँटमा रोपिन् । हाल पनि त्यहाँ यही जातका धान रोपिन्छ । उनले आफूसँगै ल्याएको गुलाफ र पाँगरजडी पनि रोपिन् ।

मन्दिरमा रहेको पाँगरको रुखलाई पाँगरजडी भनिन्छ । हाल यो एउटै रुखको दुई भाग दुईतिर छ । अझ दार्चुला तर्फका मानिसहरुले त्यसतर्फ समेत गरी तीनतिर रहेको मान्छन् । यसको एकभाग थलीको दुर्गा मन्दिरमा भने अर्को भाग पचासौं किलोमिटर टाढा सुर्मासरोवर नजिक थकुन्नाडामा छ ।

थलीमा आएको केही समयसम्म दुर्गा र सुर्मा मिलेर बसे । तिनीहरुका बीचमा एउटा कारणले मनमुटाव भएर झगडा पर्‌यो । महालिंगलाई छालाको रोग लाग्दा लसुनको औषधी लगाउनुपर्ने भयो । दुर्गाले सुर्मालाई औषधीका लागि लसुन कुट्न अह्राइन् । सुर्माले आफूले गन्ध सहन नसक्ने हुँदा लसुन कुट्न मानिनन् । एकातिर लोग्नेको स्याहारसुसार गर्नुपर्ने, अर्कोतिर बहिनीले अह्राएको काम नगरिदिँदा दुर्गालाई रिस उठ्यो । उनले सुर्मालाई भनिन्, यदि तिमी लसुनको गन्ध सहन सक्दिनौ भने शिकाआग्र (जहाँ लसुन हुँदैन) तिर जाऊ, यहाँ किन बस्छ्यौ ?

यस्तो कुरा सुन्दा सुर्माको चित्त दुखेर त्यहाँबाट हिँड्ने निर्णय गरिन् । पाँगरको रुखमा दुवैको माया तथा दावी थियो । उनले थलीको मन्दिरमा रहेको पाँगरको आधा रुख पनि मागिन् । आधाआधा गर्ने सल्लाह भए अनुसार सुर्माले आधा च्यातेर लगिन् र आफ्नो क्षेत्र सुर्मासरोवरको दौलीचौर नजिक थकुन्नाडामा स्थापित गराएकी थिइन् । ती रुखहरु अलग अलग हेर्दा समेत एक अर्काबाट चुँडिएका जस्ता र त्यही दिशा तर्फ फर्केका देखिन्छन् ।

थलीमा दुर्गामात्र रहिन् र त्यहाँको आधा भागमात्र बाँकी पाँगरजडी उनको भागमा रह्यो । सुर्माले थलीको आधा भाग फाँट समेत चुँडेर लिइगइन् । भनिन्छ त्यस बेलादेखि थलीको ज्यूलो चारैतिर भत्केजस्तो भई आधाभन्दा बढी गयो । दुई दिदीबहिनीले नजिकका गाउँहरू समेत आफ्नो भक्तको रुपमा आधाआधा बाँडी लिएका थिए । सुर्माले दिदीबाट आधा भाग लिएको कुरा निम्न फागले पनि स्पष्ट पार्दछ ।

थलीको ज्यूलो आधा चुँडी लिउँला!
पाँगर जडी आधा चुँडी लिउँला!!

स्मरण रहोस्, एउटा देवीको भागमा परेका मानिसहरु अर्को देवीको जात्रामा उपस्थित हुँदैनन् ।दुर्गाका मन्दिरहरु अन्यत्र भए पनि वास्तविक मन्दिर यही हो भनी मष्टोका पूजारीका वंशज माधवप्रसाद जोशीको दाबी छ । तलै जुत्ता खोलेर मन्दिरसम्म पुग्न खुड्किला उक्लेर जानुपर्छ ।

यी खुड्किला देवीका भक्त कुनै राजाले बनाइदिएका हुन् भन्ने मानिन्छ । देवीको मन्दिर बनाउन पुत्र बाँठपालाको भूमिका रहेको प्रचलित फाग गीतहरुमा सुन्न पाइन्छ । थलीमा घर भएका राजनीतिक ब्यक्तित्व भैरवबहादुर सिंहका अनुसार दुर्गादेवीको धामी हुन बाह्र बर्र्ष पुरा नगरेको कन्या हुनुपर्छ ।

ती कन्यामा साँच्चीकै देवी औतार भएमा, तिनले वेदको किताब हातमा लिएर बसेको पूजारीबाट सोधिएका ऋचाहरु भन्न सक्ने, जङ्गलबाट बाघ बोलाएर त्यसमा चढ्ने र करुवाको मुखबाट पसेर टुटीबाट निस्कने जस्ता विभिन्न कठीन परीक्षा पार समेत गर्नुपर्छ । नत्र उनीमाथि देवी औतार भएको मानिदैन । हाल धामी नरहेको भए पनि पूजा नियमित हुन्छ ।

वेदपाठी बाँठपाला

हाल प्रचलित चारवटा वेदहरु मष्टो संस्कृतिको अभिन्न अंगको रुपमा रहेको छ । धामी आफू अनपढ भएपनि देवता औतार हुँदाका अवस्थामा वेदका ऋचाहरु भन्न सक्नुपर्छ । यी देवताहरुको मन्दिरमा होम यज्ञ हुँदा वेदका ऋचाहरु नै प्रयोग गरिन्छ । मष्टोका प्रमख सहायक लाँकुडा देवता (उनका भानिज, जालपा देवीका पुत्र) सम्पूर्ण वेदका ऋचाहरु भन्न सक्छन्् ।

मष्टो संस्कृतिमा दुर्गापुत्र बाँठपालाको मूल भूमिका छ । उनी अत्यन्त शक्तिशाली देवताको रुपमा चिनिन्छन् र बलको प्रयोग गर्नु परेमा समेत उनी अगाडि आउँछन् । उनी जुम्ला पुगेर त्यहाँका राजालाई समेत थलीमा आफ्नी आमा दुर्गा र बुवा महालिंगको पूजामा आउन बाध्य पारेका थिए । थलीमा देवीको आगमनपछि उनी आठ महिनाको गर्भवासपछि जन्मेका थिए । बाँठपालालाई वेदपाठी देवताको रुपमा चिनिन्छ ।

लाँगो देवता आफ्नो कैलाश मानसरोवर यात्राको क्रममा दुर्गालाई भेटन थली पुगेका थिए । उनले माता दुर्गाको आशीर्वाद प्राप्त गरी भाइ बाँठपालालाई साथ लैजान अनुमति मागे । बाँठपालाको साथ पाएमा उनले भोटतिर जाने तीर्थ यात्रीबाट हुने पूजाको भाग दिने वाचा गरेपछि दुर्गाले छोरालाई लंगर शाही (लाँगो)को साथ जान अनुमति दिइन् । आमाको आज्ञा र दाजु लाँगाको अनुरोधमा उनी आफूले पढने वेद काखीमा च्यापेर तयार भए । लाँगो र बाँठपाला दुबै भाइ मातालाई ढोगेर आशीर्वाद लिई अगाडि बढे ।

दुबै देवताहरु साईपालतर्फको बाटोमा कैलाशतर्फ अगाडि जाँदै थिए । तिनीहरुसँग देवताहरुको ठूलो समुह थियो । अगाडि बढ्दा बाटो बनाउने काम समेत सँगै हुन्थ्यो भने विभिन्न राक्षसहरुको अवरोधको पनि सामना गर्नु परेको थियो । बाटामा बलिया राक्षस भेटिए लाँगोले बाँठपालालाई कुस्ती लड्न अगाडि सार्थे र उनले राक्षसले केही भन्न नपाई पछारी दिन्थे ।

उनको दैवी शक्तिको नमूना, कडा चट्टान भएका टाँड भन्ने ठाउँको बाटोमा देखिन्छ, जुन उनले आफुलाई दिएको जिम्मेवारी एक मिर्मिरेमा सिध्याएका थिए ।

उनी बाटामा हिँडदा नियमित वेदपाठ गर्थे । एकचोटी एउटा घटना भयो– उनी आफ्नो नित्यक्रम अनुसार सेतीनदीको किनारमा वेदपाठ गरिरहेका थिए । माथि टाँडको चट्टानबाट लाँगो देवताले बाँठपालालाई आवाज लगाए । वेदपाठको काम नसकिएकाले बाँठपालाले आफ्नो कामलाई निरन्तरता दिएपछि लाँगो देवताले अर्को चोटी हाँक दिई रिसाएर उनको ध्यान आफूतिर तान्न वेदको पुस्तकलाई ढुंगामा परिणत गरिदिए ।

स्थितिको गम्भीरतालाई बुझी बाँठपालाले ध्यानदृष्टिले हेर्दा राक्षसहरु डाँडामाथि धौलपुरा देवतालाई काटकुट गरी मासु भाग हाल्दै रहेछन् । उनले त्यही नदी किनारबाट घरजत्रा दुई अजंगका ढुंगा त्यसतर्फ फाले । राक्षसहरुको समूह ढुंगाहरु आएको देखेर तितरवितर भयो । नजिक दौडेर जाँदा राक्षसहरु मासुको भाग लगाएर खान ठिक्क परेका रहेछन् । अलि ढिलो भएको भए सिध्याई सक्ने रहेछन् । लाँगो देवताले मासुको संरचना जोडजाम गरेर धौलपुरा जीवित गराई दिए ।

भएको के रहेछ भने बाटो काटदा धौलपुरा देवता एक्लै परेको समयमा कब्जामा पारी काटकुट गरेर खाने सुर गरेछन् । धौलपुरा देवता हराएको कुरा लाँगाले थाहा पाई बाँठपालालाई बोलाए ।

अत्यावश्यक अवस्थामा बोलाउँदा पनि बाँठपालाले आफूतिर ध्यान नदिएको भनी रिसाएर लाँगाले ढुङ्गामा परिणत गरेको भनिएको एउटा पुस्तक आकारको ठूलो ढुङ्गालाई बाँठपालाको वेद भनिन्छ । बाटो ओहोर दोहोर गर्ने मानिसहरु वेद अथवा पुस्तकेढुंगा भनेर यसको पूजा गर्छन् ।

श्रुतीमा रहेको वेदपछि पुस्तक आकारमा आएपछि बाँठपालाले बोक्ने गरेका थिए । राक्षसहरुले वेदलाई क्षति पुर्‌याउन सक्ने भएकाले ढुंगामा परिवर्तन गरिएको थियो भन्ने मान्यता पनि छ । किताबको बीचमा पानाहरुको आकार समेत प्रष्ट देखिन्छ । लाँगो देवताले पनि धामीमा औतार हुँदा आफूले नै त्यो वेदरुपी किताबलाई पत्थरमा रुपान्तरित गरेको भन्ने गरेका छन् ।

केही मानिसले बाँठपालालाई वीरभद्रको रूपपनि मान्छन् भने केहीको मान्यतामा लाँगो देवता कृष्णको अर्को औतार भएकाले बाँठपाला बलरामका औतार मान्छन् । उत्तराखण्डतिर वीरभद्रलाई भूकुण्ड भैरव मानिन्छ । उनको जन्म वेदपाठी ब्राह्मणको घरमा भएको थियो र उनले केदारनाथमा आएर केदारनाथ तथा जोशीमठमा पूजाको चलन चलाएका थिए । यसतर्फ समेत बाँठपालालाई वेदपाठी मानिएकाले तादाम्यता मिल्न आउने हुँदा कतै यिनी भूकुण्ड भैरवको अर्को रुप त होइनन् भन्ने अनुमान गर्न सकिन्छ ।

(भदौ २० गते बझाङको थलीको दुर्गा मन्दिरमा र महालिंग माडुँमा समेत ठूलो मेला लाग्छ । यसलाई स्थानीय बिसरतीको मेला भन्छन् ।)

प्रतिकृया दिनुहोस