MENU

नागपञ्चमीमा मष्टो मेला

इन्दिरा शाह आइतवार, साउन २३, २०७३ 18793 पटक पढिएको

Share This

हिमवत् खण्डले ब्रह्माण्ड नै महादेवको राज्य मानेको छ । कालान्तरमा शक (खस) बहादुर भन्ने व्यक्तिले ठूलो तपस्या गरेपछि महादेवले तिनलाई नाम बदलेर देवराज इन्द्र राखेको र उनैलाई आफ्नो राज्य प्रदान गरेका थिए । यिनै स्वर्गका राजा देवेन्द्रका छोरा तथा पृथ्वीका राजा हुन्, श्री मष्टो देवता ।

पृथ्वीका राजा मष्टोदेवको बारेमा विख्यात कुशा भट्टको फागमा कसका पुत गोसाई कसका जाया, इन्द्रका पुत गोसाई मण्डाल्नीका जाया (छोरा) भनेर मष्टोलाई स्वर्गका राजा देवराज इन्द्रका छोरा भनी उल्लेख गरेको पाइन्छ । यस्तै मष्टोबारे आजसम्म लेखिएका कृतिहरूमा सबैभन्दा बढी प्रमाणिक कृति मष्टो संस्कृति र परम्परा भन्ने पुस्तकका लेखक श्यामबहादुर खड्काले मष्टो इन्द्रका छोरा जयन्त भनी ठोकुवा गरेका छन् र मष्टोको मूल भूमि जुम्ला भन्ने उल्लेख गरेका छन् । मष्टो सम्बन्धमा यसअघिका प्रायः लेखकहरूले नाम र उत्पत्ति स्थानबारे भ्रमपूर्ण कुरा अघि सारेको पाइन्छ ।

योगी नरहरिनाथ, बालकृष्ण पोखरेल, प्रेम कैदी र कर्णाली सेतीका लेखकहरूबाहेक अन्यले मष्टोलाई मष्ट, मस्त वा मष्टा लेख्ने जस्ता भ्रमपूर्ण शब्दावली प्रयोग गरेको देखिन्छ । यस्तै मष्टोको संख्याबारे पनि विद्वान्हरूमा अहिले पनि विवाद भइरहेको पाइन्छ । तर मष्टो संस्कृति र परम्परा भन्ने पुस्तकको पाना ४०३ मा मष्टो देवताको फागमा १६ बहिनी दुर्गा देवी एक्लो भाइ मष्टो भनी बझाङ सुवेडाका हर्कबहादुर बमको स्रोतबाट मष्टो धेरै नभएको र उनका अवतार एवं स्थानले नाम अनेक कहलिएको देखिन्छ ।

मष्टो देवताबारे द ट्रिव्युन चण्डिगढबाट १२ सेप्टेम्बर २०१० मा प्रकाशित समाचारमा मष्टो देवता नेपालबाट बद्रीनाथ जुहार्न गएका तीर्थयात्रीको डोकोमा आएको शिला त्यही बसेको भनी चण्डाक मष्टोबारे उल्लेख गरिएको छ । विश्वभर फैलिएका मुख्यतया नेपाली र अन्य हिन्दुहरूका कुल देवता हुन् मष्टो । मष्टोबारे मष्टो संस्कृति र परम्परा पुस्तकको भूमिकामा इतिहासकार प्रेम कैदीले योगी नरहरिनाथ र बालकृष्ण पोखरेलको हवाला दिँदै मष्टो विश्वका आदि संस्कृतिको मूल भएको उल्लेख गरेका छन् । कैदीले मष्टो भोटमा मण्डला पूजा गर्दा राजाहरूका राजा महाराजा भनी पहिलो भाग चढाइने ग्याल्बो पेहार हुन सक्ने दाबी गरेका छन् ।

तर पेहारलाई ब्रह्मा, विष्णु र महेश्वरको सिंगो अवतार दत्तात्रयलाई मानिएको पनि कैदीको भनाइ छ । उनले बेबीलोनका देवता अहुर मज्दासँग जोडेर पारसीहरूका देवता तथा बेबीलोनको सभ्यताका निर्माता पृथ्वीका राजा नै हुन सक्ने दाबी गर्दै जुम्लाको हाल कालिकोटमा पर्ने बडिमालिकाको मन्दिरपूर्वको भूभाग जालन्धर राजाको राज्य रहेको र मष्टोका प्रशस्तिहरूमा उल्लिखित जालन्धर भन्ने स्थान यही रास्कोट क्षेत्र रहेको दाबी गरेका छन् । यस्तै रास्कोटको विजयपुरमा मात्र दुधे मष्टोको माँडु (मन्दिर) रहेको र त्यहाँमात्रै दुधे मष्टोका धामी हुनुले पनि मष्टोको आदि थलोबारे धेरै विवाद गर्नु आवश्यक रहँदैन भनी पंक्तिकारको जिज्ञासालाई शान्त पारेका छन् ।द ट्रिव्युनले मष्टोलाई पानी बर्साउने देवता भनेको छ ।

उत्तराखण्डमा मष्टो पूजा र तीनदिने मेला

मष्टोलाई यहाँ कुलदेवता मोष्टा भनिन्छ । डा. राम सिंहले राग भाग काली कुमाउँ भन्ने पुस्तकमा मष्टोलाई इन्द्रको छोरा र धेरै ठाउँमा पुजिने देवता भनेका छन् । यिनलाई कुमाउका विभिन्न भागहरू थलकेदार, ध्वज, लटौडा आदि स्थानमा पूजा गरिन्छ । कुमाउको चम्पावतको खिलापित्ती फाँटमा अखिल तारिकादेवीको मन्दिरबाहिर मष्टोको पूजास्थल पनि छ । सुइगाउँ र जौलाडी (लोहाघाट देवीधुरा मार्ग) बाट एक किलोमिटर टाढा पाटी भन्ने गाउँमा देवदारुको घना जंगलभित्रको मन्दिरमा पनि मष्टोको पूजा हुन्छ ।

तामलीमा कालछिन (कालसैन), मस्टो आदि देवताको पूजा हुन्छ । यिनको कुनै मूर्ति नभई मन्दिरभित्र रहेका पवित्र शिलालाई देवता मानेर पूजा गरिन्छ । चम्पावतको तल्लो क्षेत्रमा लद्या नदीनजिकै मष्टोको नामबाट ठाउँको नामसमेत मोष्टा बकौडालाई मोष्टागाउँ पनि भनिन्छ । केही मानिसहरूले मोष्टा नाम भएको कारणले मोट्टा (निगाला) को मान्द्रो पनि मान्ने गरेका छन् ।

मष्टोको मन्दिरमा नागपञ्चमी (भदौ पञ्चमी) को दिनमा सरकारी स्तरमै स्थानीय प्रशासन तथा राज्य सरकारबाट तीनदिने साँस्कृतिक मेलाको आयोजना गर्ने गरिएको छ । सो अवसरमा मष्टो देवताका डोलानजिकैको गाउँबाट ल्याउने र पूजा सकिएपछि सो डोला फिर्ता लग्ने प्रचलन छ ।

उत्तराखण्डको कुमाउअन्तर्गतको प्रमुख सहर पिथौरागढबाट ६ किलोमिटर पश्चिम उत्तरमा पर्ने ६ हजार फिटको उचाइमा रहेको चण्डाकमा मष्टो देवताको मन्दिर रहेको छ । स्थानीय मानिसहरू यसलाई मोस्टामानु (माँडु) भन्छन् । उनलाई मौसम तथा वर्षाका देवता इन्द्रका पुत्र र पृथ्वीमा इन्द्रको निर्देशनको पालना गर्ने गरी प्रतिनिधिको रूपमा लिइन्छ । स्थानीय मानिसहरू परम्परागत रूपमा यी देवतालाई पनि मौसम वा वर्षाका देवता मान्छन् ।

वर्षा नभएमा यिनको पूजा गरेर पानी माग्ने चलन छ । होम र पूजापछि पानी पर्ने विश्वासका कारण मानिसहरू सुक्खा मौसम भए पनि उनको मन्दिरमा छातासमेत बोकेर जान्छन् । यहाँ सधैँ साँच्चिकै पानी पर्ने गरेको उदाहरण छन् । यहाँ माथिपट्टि ढिस्कोमा पक्की मन्दिर बनाइएको छ । यो मन्दिर सफा, सुग्घर गरी राखिएको छ ।

मष्टोको मन्दिरमा नागपञ्चमी (भदौ पञ्चमी) को दिनमा सरकारी स्तरमै स्थानीय प्रशासन तथा राज्य सरकारबाट तीनदिने साँस्कृतिक मेलाको आयोजना गर्ने गरिएको छ । सो अवसरमा मष्टो देवताका डोलानजिकैको गाउँबाट ल्याउने र पूजा सकिएपछि सो डोला फिर्ता लग्ने प्रचलन छ ।

कसैकसैले मष्टोलाई नागपञ्चमीमा पूजा हुने गरेकाले शक्तिशाली नागको रूपमा पनि मान्ने गरेका छन् । मष्टोको मन्दिरमा उनीसँगै गणेश र अन्य देवीदेवता महाकाली, पशुपतिनाथ, लाटा देवताको पवित्र शिलाको पूजा गरिन्छ । नागपञ्चमीमा पूजा गर्न नसक्नेले ऋषि पञ्चमी अथवा श्रीपञ्चमीमा पनि पूजा गर्दछन् । चम्पावतमा गणेश चौथीमा पूजा गरिन्छ ।

मष्टोले बलि नलिए पनि गणहरू रक्तभोगी भएकाले तिनीहरूलाई सन्तुष्ट पार्न मन्दिरनजिक राँगा तथा बोकाको बलि हुन्छ । उत्तराखण्ड क्षेत्रमा अरू देवताको पूजा जागर (भजन) द्वारा हुने गरे पनि यिनको पूजामा कुनै जागर गाइँदैन । मष्टोको मन्दिरमा हवन गरेर यज्ञको आयोजना गरिन्छ । बाजागाजाको तालमा धामी नाचसहित पूजा हुन्छ । मष्टोका मन्दिरहरूमा भक्तजनहरूले शिवरात्रिमा पनि पूजा गर्ने गरेका छन् ।

मुख्य मन्दिरको सामुन्ने कालभैरव र बटुकभैरवको मन्दिर छ । उक्त मन्दिरमा एक पत्थर पनि रहेको छ, जसलाई शक्ति पाषाण भनिन्छ । यसलाई नौ मानिसहरूको एक-एक औँलाको बल दिएर उठाइन्छ ।मानिसहरू पिथौरागढ आसपासको सोर उपत्यका, काली कुमाउलगायत उत्तराखण्डका विभिन्न भाग र नेपालबाट समेत मेलामा उपस्थित हुन्छन् । मेलामा जम्मा भएका मानिसहरूले आफूले उत्पादन गरेका कृषिजन्य सामान परम्परागत रूपमा बेच्ने र आवश्यक परेको मानिसले किन्ने गर्दछन् । कृषि उत्पादनबाहेक काठ तथा फलामका आवश्यक साधनहरूको समेत खरिद-बिक्री हुने गर्छ ।

मानिसहरू अघिल्लै दिन जम्मा भएर परम्परागत कुमाउनी लोकगीत र नाचको आयोजना गर्दछन् । पहिले सवारीको आवागमन कम हुँदा आसपासका मानिसहरू मात्र जम्मा हुन्थे । सवारीको सुलभताले अहिले हिन्दुस्तान, नेपाल तथा तिब्बतका ठूला सहरहरूबाट समेत मानिसहरू आउन थालेका छन् । आफ्ना सामानहरू बिक्री गर्न ठूला व्यापारीहरू पनि यस मेलामा ठूलो भीड लाग्ने मानव सागरका कारण आकर्षित भएको पाइएको छ ।

मन्दिरपरिसरमा एउटा ठूलो पिङ छ । मष्टोकी बहिनीहरू आएर पिङ खेल्छन् भन्ने विश्वास गरिन्छ । यहाँ एउटा आश्चर्यको विषय के छ भने पिङ हल्लिरहेको हुन्छ तर पिङ खेलिरहेको मानिस देखिँदैन ।स्थानीय किम्वदन्ती र पंक्तिकारलाई स्थानीय पूजारी तथा जानकार व्यक्तिहरूले भनेअनुसार पहिले–पहिले उक्त स्थान भएर बाटो पश्चिम कुमाउ, गढवाल, बद्रीनाथ तथा केदारनाथतर्फ जान्थ्यौँ । त्यही बाटो भएर विभिन्न ठाउँका मानिसहरूका साथै नेपालीहरू पनि हिँड्ने गर्थे ।

एकपटक नेपाली तीर्थयात्रीहरूको समूह डोको बोकेर त्यो बाटोबाट बद्रीनाथतिर जाँदा साँझपख अँध्यारो हुँदै जान थालेकाले हाल मन्दिर रहेको ठाउँमा बास बस्न भनी डोकाहरू भुइँमा राखे । तिनीहरूमध्ये एकजनाले सिलौटो बोकेको थियो । उनीहरूले खाना पकाउन थाले र नुन पिस्ने सिलौटोसमेत निकाले । त्यसपछि सिलौटो डोकामा राखी सुते । बिहान डोको उठाउन लाग्दा त्यो डोको राखिएको ठाउँबाट उठेन । नेपालीहरूलाई आफूसँग मष्टो आएको र त्यहीँ बस्न खोजेको आभास भयो । मष्टो देवताको इच्छाअनुसार उनलाई यसै ठाउँमा स्थापित गरेर पूजाआजा हुन थाल्यो । उक्त सिलौटोलाई अहिले मन्दिरभित्र राखी पूजा गर्ने गरिन्छ । त्यहाँका स्थानीय मानिसहरूले मष्टोलाई नेपालीहरूले ल्याएको र नेपालबाट आएको नेपालका देवता भनी मान्ने गरेका छन् ।

उक्त डोको ढुंगामा परिणत भइसकेको रहेछ । डोकाको आकारको ढुंगो मन्दिरको चौरमा घोप्ट्याएको जस्तो अहिले पनि देख्न सकिन्छ । एक अर्को मान्यताअनुसार यी देवतालाई सोर उपत्यका क्षेत्रमा शासन गर्ने तत्कालीन बम्म (बर्मा) हरूले आफ्नो कुल देवताको रूपमा नेपालबाट ल्याएका थिए । उनीसँगै पूजा हुने आमा कालिका तथा भाइ असुरको सहयोगमा उनले पृथ्वीमा शासन गर्दछन् ।

आफ्ना दुस्मनहरूको नाश गर्न उनी आफ्नो हतियार, चौबीसवटा बज्रहरूको सहायता लिन्छन् । चौसठ्ठी योगिनीहरू, बाउन्न वीर तथा असी मसानहरूका साथै भूदनीबयाल नामक आँधी तुफान आवश्यक पर्दा प्रयोग गर्ने गरी उनको नियन्त्रणमा रहन्छन् । मष्टोले जस्तोसुकै असम्भव काम गर्न सक्छन् भन्ने मान्यता छ । स्मरण रहोस्, चौसठ्ठी योगिनी मष्टोको नियन्त्रणमा हुने भएकोले मष्टो पूजकले कुनै तान्त्रिक पद्धतिमा पूजा गर्नु आवश्यक मानिँदैन ।

प्रतिकृया दिनुहोस